मुटु प्रत्यारोपणका क्षेत्रमा 'चमत्कार' गरेर अष्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालका डाक्टरद्वय पिटर म्याक डोनाल्ड र डा. कुमुद धितालले संसारको ध्यान तानेका छन्।
एसोसिएट प्रोफेसर धिताल नेपाली भएकाले तिहार पर्वको व्यस्तताबीच पनि यो विषय चर्चामा रह्यो।
पाँच वर्ष लामो अनुसन्धान पछि डोनाल्ड र धितालले मृत व्यक्तिको मुटुलाई पुनर्जीवित गरेर सफल प्रत्यारोपण गरेका थिए। तीन महिनामा तीनवटा सफल प्रत्यारोपण गरिएको छ।
आधुनिक चिकित्सा विज्ञानमै लामो फड्को मानिएको उक्त अनुसन्धानका मुख्य शल्यचिकित्सक धिताल नै हुन्। 'हामीले सुरुमा सुँगुरमा परीक्षण गरेर लामो अनुसन्धान पछि मानिसमा पनि प्रत्यारोपाण गर्न सफल भएका हौं,' उनले भने।
सेतोपाटीसँगको विशेष कुराकानीमा धितालले प्रत्यारोपणमा उनीहरुले कसरि फड्को मारे भन्ने बताएका छन्।
...
मुटु प्रत्यारोपण चिकित्सा क्षेत्रमा नयाँ होइन। 'ब्रेन डेड' भएको मानिसको मुटु धेरै वर्ष पहिलेदेखि प्रत्यारोपण हुँदै आइरहेको छ। अहिलेसम्म ब्रेन डेड भएको विरामी भेन्टिलेटरमा राखेर मुटु लगायत अंग स्वस्थ नै राखिन्थ्यो। प्रत्यारोपण गर्न चाहने र दाताको रगत लगायत सबै किसिमको जाँच गरेर मिल्ने देखिएपछि शरीर जिउँदै रहेको व्यक्तिको स्वस्थ मुटु झिकेर दान पाउने व्यक्तिको शरीरमा हालिन्थ्यो।
यो पनि हेर्नुहोस्
डोनाल्ड र धितालको अनुसन्धानले मृत घोषित व्यक्तिको मुटु फेरि काम लाग्ने प्रणाली विकास गरिसकेको छ। यसलाई चिकित्सा विज्ञानको भाषामा 'डोनेसन आफ्टर सर्कुलेटरी डेथ' भनिन्छ।
'यो प्रत्यारोपण डोनाल्डले विकास गरेको एउटा घोल (सोलुसन) र मैले चलाउने एउटा अमेरिकी मेसिनले सफल भएको हो,' धितालले भने, 'हामी र अरु साथीहरुको संयुक्त प्रयास हो ।'
कुनै व्यक्ति मृत घोषित भइसकेपछि प्रत्यारोपण प्रकृया सुरु हुन्छ। विरामीको पुरै शरीर मरेको दुईदेखि चार मिनेटभित्रैं मृतकको मुटुमा एक किसिमको घोल दिइन्छ। 'त्यसले मुटुलाई आवश्यक अक्सिजन, रगत र पोषण दिएर विस्तार रिफ्रेस गर्न थाल्छ,' धितालले भने, 'त्यसपछि तीस मिनेटभित्र शरीरबाट मुटु झिकेर हामी एउटा मेसिनमा हाल्छौं।'
त्यो मेशिनले तीनदेखि पाँच घन्टाभित्र मुटुलाई पूर्ण सामान्य अवस्थामा फर्काउँछ। त्यसपछि त्यो मुटु रोगीको शरीरमा प्रत्यारोपण लायक हुन्छ।
...
धिताल सहितको लामो प्रयासले हासिल यो उपलब्धिले हार्ट फेल (मुटु काम नगर्ने) भएका संसारभरिका हजारौ विरामीका लागि जीवनप्रतिको आसा जगाइदिएको छ। संसारभरका डाक्टर पनि अष्ट्रेलीयाबाट आएको खबरले उत्साहित देखिएका छन्। विश्वको हरेक कुनाबाट धिताललाई प्राप्त सयौं इमेल र मेसेज त्यो उत्साहका संवाहक हुन्।
टिचिङ् अस्पतालका छाती रोग विशेषज्ञ करवीरनाथ योगीले फेसबुकमा डा. धिताललाई बधाई भनेका छन्। अमेरिका न्यू ह्याम्सपायरको 'लेक्स रिजन जेनेरल हस्पिटल' का कार्डियोलोजिष्ट डा. खगेन्द्र दहालले डोनाल्ड र धितालको यो उपलब्धिलाई नियालिरहेका छन्। 'यो मटु उपचारको क्षेत्रमा असाध्यै सकारात्मक हो,' उनले भने, 'यो ब्रेकथ्रुले संसारभरिका डाक्टर उत्साहित छन्।'
अहिलेसम्म तीनवटा मात्र 'केस'मा काम भएकाले यो उपलब्धि परिपक्व हुन अझै केही प्रतिक्षा गर्नुपर्ने दाहालले ठानेका छन्। 'पचास सयवटा केससम्म पनि प्रत्यारोपणमा धेरै कम्प्लिकेसन देखिएनन् भने यो आधुनिक चिकित्सा विज्ञानमा ठूलो फड्को हुन्छ,' उनले भने।
...
चिकित्सा बिधाको संसार हल्लाउने यस्तो उपलब्धि सानो 'तपस्या'ले हासिल हुँदैन। मुटु प्रत्यारोपणमा एकचित्त भएर धितालले अनुसन्धान थालेकै नौ वर्ष भइसकेको छ। उनी यो बिधामा दुई दशकदेखि छन्।
'पिटर त्यो घोलको अनुसन्धानमा डुबेको बीस वर्ष नाघिसकेछ,' धितालले भने, 'मैले वेलायतमा पनि मुटु प्रत्यारोपणको शल्यक्रियामा धेरै वर्ष अनुसन्धान र अभ्यास गरे।'
अष्ट्रेलिया आउनुअघि धितालले बेलायतको क्याम्रिज विश्वविद्यालयमा पनि मुटुको शल्यचिकित्सा र प्रत्यारोपणमा तेह्र वर्ष बिताएका थिए।
...
मुटु प्रत्यारोपणमा प्राप्त यो उपलब्धिले फाइदा के हुन्छ त? 'अहिलेभन्दा तीस प्रतिशत जति मुटु प्रत्यारोपणको संख्या बढाउन सकिन्छ,' उनले भने। प्रत्यारोपण सूचीमा पालो कुरेर बसेका बिरामीले नयाँ जीवन प्राप्त गर्छन्। 'किन भने मुटुको अभावमा विरामी मरिरहेका हुन्छन्,' धितालले लामो सास ताने।
...
सिड्नीमा वर्षमा ३० वटा जति मुटु प्रत्यारोपण हुन्छ। अस्ट्रेलिया भरी त्यस्तै १०० जति हुन्छ। चीन, भारत जस्ता ठूला मुलुकमा समेत प्रत्यारोपण संख्या कम छ। भारतमा झन् थोरै नै छ। जबकी ती मुलुकमा 'हार्ट फेल' हुने विरामी सख्या ठूलो छ।
एसियाली मुलुकका लागि मृतकको मुटु काम लाग्ने यो अन्वेषण उपलब्धिपूर्ण हुने धितालले ठानेका छन्। 'ब्रेन डेथ' भएको आफन्तले आस मारेका हुँदैनन्। पुरै जीउ नमरेसम्म उनीहरु मुटु वा कुनै अंग दान गर्न तत्पर हुने अवस्था छैन। अब पूरै शरीर मृत घोषणा भइसकेपछिको मुटु पनि काम लाग्ने भएकाले दाताको संख्यामा उल्लेख्य बढोत्तरी हुने आसा धितालले लिएका छन्।
नेपालमा मुटु प्रत्यारोपण कहिलेसम्म सम्भव होला?
'सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो सन्दर्भमा यो ज्यादै महँगो छ,' धितालले भने, 'प्रत्यारोपणमा प्रयोग गरिने अमेरिकन मेसिन नै लाखौं डलर पर्छ। नत्र नेपालमै नामी 'सर्जन' छन्।'
धितालले डा. भगवान कोइरालाको नाम सुनेका छन्। 'मुटुको छुट्टै अस्पताल नै छ अरु डाक्टर पनि राम्रो हुनुहुन्छ,' उनले भने, 'मैले जानेको कुरा शेयर गर्ने मौका पाउने हो भने म सधै तत्पर छु।'
विश्वविद्यालयले अनुभव आदानप्रदानको कुनै कार्यक्रम तय गर्यो भने सहजै समय निकाल्ने भन्दै नेपालप्रतिको अपनत्व व्यक्त गरेका छन्।
...
गोरखा पुर्ख्यौली घर भएका ५४ वर्षीय कुमुद पूर्वसचिव विष्णुप्रसाद धितालका छोरा हुन्। पञ्चायतकालमा कृषि मन्त्रालयको सचिव रहेका उनले सरकारी सेवापछि दश वर्ष एफएओमा काम गरे।
त्यही क्रममा कुमुदको स्कुले पढाई घरी ललितपुरको सेन्टजेभियर्स घरी इटालीको रोममा भयो। उच्च माध्यमिक तहदेखि नै उनले बेलायत पढ्न थाले।
चालीस वर्षअघि बेलायत गएका कुमुदले सुरूमा शरीर विज्ञान (एनोटोमी)मा स्नातकोत्तर गरे। पछि उनलाई डाक्टर हुन मन लाग्यो। सत्ताइस वर्षको उमेर फेरि एमबिबिएस भर्ना भए। यो एमए पास गरिसकेकाे विद्यार्थी फेरि बिएमा भर्ना भएजस्तै हो।
अरु डाक्टर विशेषज्ञ भइसक्ने उमेरमा कुमुद बल्ल सामान्य डाक्टर भए। ३१ वर्षमा बल्ल मेडिकल अभ्यास गर्न थालेका यिनले त्यसपछिको २३ वर्षमा भने लामो छलाङ मारेका छन्।
लगन भयो भने ढिलो करिअर सुरु गरेर पनि अद्वितीय योगदान गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन्। पश्चिमा प्रतिष्पर्धामा पनि मेहनत गर्यो भने एउटा नेपालीले पनि शिखर चढ्न सक्छ भन्ने उदाहरण पनि बनेका छन्, कुमुद।
कुमुद नेपाल चाँहि कत्तिको ओहोरदोहोर गर्छन् त?
'वर्षैपिच्छे आउँछु भने पनि हुन्छ। पोहोर साल आमाको चौंरासी थियो,' उनले भने, 'यसपालाको दशैंमा भने आइन।'
गोरखा पुग्नुभएको छ कि छैन?
'ए पहाड, किन नपुग्नु। हजुरबुबा बितेपछि भने गोरखा जाने पातलो भयो।'