एक मालिक चार कम्पनीमा कार्यरत २६ नेपाली कामदार अलपत्रको समाचार आएको झण्डै २ महिना भईसक्दा पनि अझै १७ जनाको अवस्था उस्तै छ।
१९ अक्टोबर २०१४ का दिन बुलुकी धनकुटा सेवा समाज कतारले अलपत्र पीडितको अवस्था बुझ्न र आवश्यक खाद्य सामग्री वितरण कार्यक्रममा पीडित कामदारले सो कुरा बताएका हुन्। आफ्नो पासपोर्टमा कुनै वर्षको भिसा र आइडि कार्ड नदेखेका ति पीडित नेपालीका लागि कतार झनै बोझिलो र त्रासदी बन्दै गईरहेको छ। आफुसँग बसेका दुई साथीलाई घरकै बाहिरबाट सुरक्षाकर्मीले आईडी नभएको निहुँमा पक्राउ गरेपछि झन त्रसित अवस्थामा पुगेको उनीहरु बताउँछन्।
अर्कोतिर कतार सरकारलाई बुझाउनु पर्ने जरिवाना बढ्दै जानुले कम्पनीलाई बोझा हुने र त्यो बोझले हाम्रो नेपाल फर्कने सपनामा तुषारापात लगाइ दिने हो कि भन्ने आशंकाले उनीहरुको मनमा डेरा जमाएको छ।
गैरकानुनी रुपमा बसिरहेकाले कति बेला कहाँबाट कतारी सुरक्षाकर्मीको पञ्जामा परिने हो छैन। जोगिदा जोगिँदै पनि २६ जना मध्येबाट २ जनालाई बस्ने भिल्ला बाहिरबाटै पक्रेर लगिसकेको छ। र ७ जनालाई भने प्रतिव्यक्ति २५ सय कतारी रियाल र टिकट उपलब्ध गराएर कम्पनीले नै घर पठाइसकेको छ। ७ जना नेपाल फर्कनु अगाडि सबैको एउटै माग थियो– पाउने हिसाब र टिकट दे हामी जान्छौं तर अहिले उनीहरुमा लचकता आइसकेको छ। उनीहरु भन्छन– पहिलाको माग छोडि सक्यौ। सात जना साथीहरु जसरी गए त्यसरी नै पठाइदिए हामीलाई पुग्छ।
अव्यवस्थित भिल्लामा बस्दै आएका ति कामदारहरुको लागि भान्साघर छ तर पकाउने सामान केही छैन। इम्पल्स, द गार्डेन, एक्सेन्टल र बाज कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत २६ जना नेपालीहरुलाई विगत ६ महिनादेखि कम्पनीले वेवास्ता गर्दै आएको समाचार विभिन्न मिडियामा आएपछि नेपाली समुदायको चासो बढ्दै जाँदा धनकुटा सेवा समाजले समेत अवस्था बुझ्ने र खाद्यान्न हस्तान्तरण गरेको छ। त्यो समूहभन्दा बाहिरका अलपत्र परेका एक जना धनकुटा, भिरगाउँ निवासी सन्तोष मगरलाई अध्यक्ष दुर्गा तामाङले टिकट उपलब्ध गराएका हुन्। १७ जना अलपत्र कामदारको अवस्था बुझ्न र खाद्यान्न सहयोग हस्तान्तरण गर्न धनकुटा सेवा समाजबाट अध्यक्ष दुर्गा तामाङ, उपाध्यक्ष ललित रञ्जित, सचिव रञ्जित थापा, सहकोषाध्यक्ष डिल्लीकुमार सुवेदी, सदस्यहरु प्रेम जिमी, सन्तोष सिवा र कलाकार दिवस याख्खालगायत समाजमा आवद्ध व्यक्तिहरुसहित पत्रकार तिलविक्रम थेबे र खगेन्द्र कार्कीको समेत उपस्थिति रहेको थियो।
प्रेम लिम्बु डाँडाबजार, धनकुटा, नविन भट्टराई हरैचा, मोरङ, रामप्रकाश थारु बाँके, अनिल सितान हेटौडा, प्रल्हाद थापा झापा महेशपुर, राजेश कुमार चौधरी रुपन्देही, चुडामणी शर्मा नवलपरासी, प्रकाश खपाङ्गी पाँचथर, रामप्रसाद घिमिरे बनिगाउँ, मोरङ, भरत वर्देवा बेलबारी, मोरङ, आकाश लामा निजगढ, बारा, सन्तबहादुर बिक पदमपोखरी हेटौडा, कुमुम सार्की नवाडी रामेछाप, सुरज दाहाल उदयपुर, रामेश्वर कुर्मी कपिलवस्तु, भोलाबहादुर भुजेल निजगढ, बारा र सन्तकुमार राई भोजपुर मदिना खलिफास्थित जताततै फोहोर देखिने, अव्यवस्थित जिर्ण अवस्थामा रहेको भिल्लामा आफ्नो भविष्यको चिन्ता गर्दै दिन कटाइरहेका छन्।
सुरुका दिनहरुमा २६ जना कामदारले पाउनु पर्ने सम्पूर्ण हिसाब दिएर नेपाल फर्काउन माग गरिरहेको भएतापनि मिडिया र नेपाली समुदायले उनीहरुको समस्यालाई नजिकबाट नियाल्दै सहयोग दिन थालेपछि ७ जना कामदारलाई २५ सय रियाल नगद दिएर नेपाली पठाइएको छ भने ४ वर्षदेखि भिसा विहिन अवस्थामा रहेका ति कामदार मध्ये २ जनालाई कतारी प्रहरी पक्राउ गरेर लगेको बुझिएको छ भने सत्र जना अझै अलपत्र अवस्थामा बसिरहेका छन्। यद्यपि बाँकी रहेका १७ जनाले पनि त्यही २५ सय रियाल र टिकट उपलब्ध गराइदिए घर फर्कन सक्ने माग हाल राख्दै आएका छन्। तर कम्पनी मुदिर भारत, केरला निवासी सफर नियास भने सम्पर्क विहिन अवस्थामा रहेको बुझिएको छ। सो पीडित समूहलाई विभिन्न संघसंस्था तथा निकायहरुले सक्दो सहयोग गर्दै खाद्य सामग्री उपलब्ध गराउँदै आइरहेका छन्।
चार वर्षदेखि काम गरिरहेका २६ जना नेपाली कामदार मध्ये एक जना प्रकाश खपाङ्गीले मात्र एक वर्षको आईडी पाएका थिए अरुले आईडीको अनुहार सम्म देख्न पाएका छैनन्। भिसा विनाका ति नेपालीहरुको दिन प्रतिदिन कतार सरकारलाई बुझाउनु पर्ने जरिवाना शुल्क बढ्दै हाल एकजना बराबर झण्डै ६ हजारको हाराहारीमा पुगिसकेको छ तर त्यतिकै उनीहरुले पाउनु पर्ने तलब पनि रहेको छ।
उनीहरु बस्दै आएको घर मालिकले सबैलाई सिआईडीमा लाने बताउँदै आएपनि यस विषयमा क्यापिटल पुलिस, हाई कोर्ट र नेपाली दुतावासमा कुरा पुर्याउन एसोसिएसन अफ न्यू फेमिली 'एएनएफ'को पहलमा कुरा पुगिसकेको हुनाले उनीहरु त्यही ठाउँ हालसम्म सुरक्षित रहेको कामदार बताउँछन्। ति नेपालीहरुको उद्दारमा लागि परेको एएनएफले कतार गेष्ट सेन्टर, कतार फाउन्डेसनलगायत अन्य संघसंस्थासँग मिलेर पटक पटक खद्यान्न सहयोग उपलब्ध गराउँदै आएको उनीहरुको भनाई छ। मानवताको नाताले नेपालीको उद्दारका निम्ति जहाँ जे गर्न सकिन्छ त्यो गर्न एएनएफ तयार रहेको सो संस्थाका महासचिव मोरङ विराटनगरका असिफ अहमद चापागाईले सो खाद्यान्न हस्तान्तरण कार्यक्रमस्थलमा टेलिफोन मार्फत बताए।