यमपञ्चक (तिहार) को पहिलो दिन साँझ आकास धमिलिदै थियो प्राय सबै स्थानीय दिनभरिको कामबाट फर्किएर घर घरमा सुस्ताउँदै डिनरको धुनमा थिए। अचानक एडिलेड स्याल्सवरीमा रहेको एन आर एन ए दक्षिण अष्ट्रेलियाका संयोजक रमेश जोशीको आँगनमा संगितमय स्वरहरु गुञ्जीए। रमेशको घरलाई चम्काउन थाले-" ए है भन भन भाई हो देउसिरे , ए है स्वर मिलाई कन देउसिरे , ए है एडिलेडमा देउसिरे ए परम्परा धान्दै देउसिरे ए आयौं हामी देउसिरे।"
अष्ट्रेलिया भ्रमणमा रहेका रमेशका बुबा घरबाट फूत्त निस्कीए र आफ्नै दौंतरी जस्ता उमेरका देखिने देउसी भट्याई रहेका एडिलेड भ्रमणमै रहेका नेपाल गैडाकोटका जीतलाल कँडेलसँग स्वर मिलाउँदै देउसीमा नाच गान गर्न थाले ।रमेशकी आमा देउसीलाई सगुनको तयारी गर्न थालिन् ।अनी रमेश सानो बच्चा लिएर देउसी समूहमै मिसिएर उफ्रन थाले।" सात समूद्रपारीको मूलूकमा नी यसरी खुलेआम देउसीमा रमाउन पाएका छौं ", संयोजक जोशीले खुसी हुँदै भने। गाउँ घरमा सानैदेखि नाच गानमा पोख्त जीतलाल पनि घुम्न आउँदा समेत देउसी भट्याउने जिम्मा पाएकामा मख्ख थिए । साठीको दशकमा दौडिरहेका जितलालले देउसी गितमा बाँसुरीको धुन मिसाउँदै देउसी समूहमा रंग भर्दै गए।
यता एडिलेडको घर घरमा गाडी सर्भिसिङको सेवा पुर्याउँदै आएका विष्णु बगाले जोशीकै छिमेकी तथा एनआरएनए साउथ अष्ट्रेलियाका सूर्य आचार्यको गाडी सर्भिसिङ गर्दै थिए। नाच गानमा हुरुक्क बगाले एनआरएनए संयोजक जोशीको घरमा देउसी घन्केको सुनेर बिचमै काम छाडी मोविलले पोतिएको हात फैलाउँदै देउसी समूहमा नाच्न पुगे। नेपालीको बाक्लो वस्ती रहेको स्याल्वरी क्षेत्रमा भैरहेको उक्त देउसीमा उमेरले पाँच दशक नाघेका जनसम्पर्क समिति साउथ अष्ट्रेलियाका अध्यक्ष रामबहादुर थापा पनि कुममा कुम स्वरमा स्वर मिलाउँदै रमाईरहे।
स्थानीय एडिलेड नेपाली समाजले अघिल्ला वर्षमा जस्तै यसपाली पनि काग तिहारबाटै देउसी भैलो शुरु गरेको हो। समाजले नेपाली कला र सांस्कृतीको निरन्तरता अनी पहिचानको व्यापकतालाई मध्यनजर गर्दै सन् २०१२ बाट निरन्तर एडिलेडका विभिन्न क्षेत्रमा रहेका नेपालीको घर आँगनमा देउसी भैलो खेल्दै आएको एडिलेड नेपाली समाजकी अध्यक्ष सर्वदा घिमिरेले सुनाईन्।
"देउसीमा रमाउन चाहने सबैलाई समेट्न व्यास्त समयबाट फूर्सद निकालेर कुनै एक दिन मात्र भएपनि संस्कृतिमा रमाउन सहजहोस् भनेर काग तिहारको दिनबाटै देउसी शूरु गरेका छौं यो यमपञ्चक भरी चलिरहने छ,"सर्वदाले भनीन्।
अध्यक्ष घिमिरेका अनुसार देउसीबाट संकलित रकम समाजले विभिन्न अवसरमा गर्ने कार्यक्रम र स्थानीयलाई भैपरि आउने समस्याको बेला सहयोग गरिने गरिएको छ । आर्थिक संकलन भन्दा परम्परा धान्ने मुख्य उदेश्यले कार्यक्रम गरेका तर कार्यक्रमका दौरान केही आर्थिक सहयोग पनि संकलन हुने गरेको उनको भनाई छ । समाजले संकललित रकमबाटै मादल ,खैंचडी,बाँसुरी लगायतका वाद्यवादनका सामग्री तथा साँस्कृतिक पोषाकहरु समेत जोडेको पति सँगै देउसी खेल्न पुगेकी नेपाली समाज एडिलेडकी सचिव सन्तोषी गौतमले भनिन् ।
एडिलेडमै रहेको बोटल फर स्कुल नामक सँस्थाले भने आर्थिक सहयोग सँकलन गरी नेपालका विभिन्न विकट विद्यालयलाई सहयोग गर्ने उदेश्यले नै अघिल्लो वर्ष देखि देउसी भैलो कार्यक्रम गर्दै आएको छ । स्थानीय नेपालीको घर घरमा गएर गरिने देउसी भैलो यस वर्ष पनि दुई दिन गरिने सँस्थाका अध्यक्ष नारायणकाजी गुरुङले बताए । गुरुङका अनुसार अघिल्लो वर्ष गरिएको देउसी भैलोबाट करिव सत्रसय अष्ट्रेलियन डलर संकलन भएको थियो । "यसपाली पनि कमसेकम अघिल्लो वर्षकै जती संकलन गर्ने लक्ष छ तर विक डेजमा तिहार भएकाले समस्या हुनसक्छ"- बोटल फर स्कुलका अध्यक्ष गुरुङले भने ।
त्यासो त संस्कृती र परम्पराको संरक्षण र मनोरञ्जनका लागि मात्रै पनि देउसी भैलो खेल्ने हरुको पनि एडिलेडमा कमी छैन । एडिलेडका प्रायजसो धार्मिक तथा साँस्कृतिक कार्यक्रममा नाच्न गाउन पुग्ने रामकृष्ण निरौला अघिल्ला वर्ष जस्तै यसवर्ष पनि आफ्ना मन मिल्ने साथी आफन्तको समूहले रमाईलो र दोश्रो पुस्तालाई परम्परा बुझाउनको लागि आफ्नै सर्कलमा देउसी भैलो खेल्ने तयारी गरेको बताउँछन् ।
गत वर्ष मात्रै सिड्नीबाट वसाईँ सरेका यूवा अच्यूत धमला एडिलेडमा विभिन्न समयमा हुने गरेका यस्ता परम्परागत कार्यक्रमको निरन्तरताले कहिलेकाही आफूलाई नेपाल मै छु की भन्ने आभाष समेत हुुने गरेको बताए । भूटानी मूलका नेपालीहरुको बसोवास रहेको क्षेत्रमा बस्दै आएका धमला भूटानीहरु पनि उत्तिकै परम्परामा अभ्यस्त भएकाले कहिलेकाही नेपाल नै विर्षने गरेको बताउँछन् । एडिलेडमा नेपाली भाषी भूटानी हरुको ठूलो समुदायको बसोवास रहेको छ । उस्तै सँस्कृति परम्परा र भाषा भएका नेपाली भन्दा झण्डै चार गुणा धेरै सँख्यामा रहेका भूटानीहरु सँस्कृतिर परम्परा धान्न झनै जागरुक रहेका स्थानीय शरणार्थीहरुको काउन्सीङ गर्ने संस्थामा कार्यरत अनुका भण्डारीको अनुभव छ ।
ऐडिलेड नोपाली समाजको देउसी कार्यक्रमको भिडियो तलको लिङकमा हेर्न सक्नुहुन्छ