सप्तरीको देउरीभरुवा गाविसस्थित एक घरमा छापा मारी भन्सार छलेको कपडा नियन्त्रणमा लिने क्रममा आज स्थानीयले अवरोध गरेपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ। देउरीभरुवा ७ स्थित सूर्यनारायण मुखियाको घर खानतलासी गर्ने क्रममा प्रहरीमाथि स्थानीयले ढुङा मुढा गरेपछि प्रहरीले सर्टनगबाट तीन राउण्ड हवाई फायर गरेको हो।
प्रहरीको लाठीबाट दर्जनौ स्थानीय घाईते घाईते भएका छन् भने स्थानीयको ढुङा लागेर तीन प्रहरी पनि घाईते भएका छन्। घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।
घरमा भन्सार छली ल्याएको कपडा भण्डारण गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले घर खानतलासी गर्न खोज्दा स्थानीयले अवरोध गरी प्रहरीमाथि ढुङामुढा गरेका थिए।
प्रहरीले स्थानीयलाई सम्झाई बुझाई गर्दा समेत स्थिति सामान्य नभएपछि तीन राउण्ड फायर गरीएको हो। उनको घरबाट लुकाई राखेको करिब ७ लाख रूपैयाँ मूल्य बराबरको भन्सार छलेको कपडा बरामद भएको पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
स्थानीयको ढुङा लागेर प्रहरी निरीक्षक छेदीलाल कामती, प्रहरी सहायक निरीक्षक मनोज यादव र प्रहरी जवान लुलेन्द्र तिम्सिना सामान्य घाइते भएका छन्। प्रहरीले लाठी चार्च समेत गरेको थियो। प्रहरीको लाठी चार्जबाट दर्जनौं स्थानीय घाइते भएका छन्।
बरामद कपडा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ।