जंगली जनावर बेपत्ता पारेको आरोपमा पक्राउ पछि रिहा भएका व्यक्तिहरुका बारेमा सरकारी वकिलको कार्यालय र जिल्ला वन कार्यालय कैलालीको भनाई बाझिएको छ।
सरकारी वकिलको कार्यालयले वन कार्यालयका कर्मचारीको रोहबरमा जंगली जनावर जंगलमै छोडेको बताएको छ भने जिल्ला वनले भने आफूलाई कुनै जानकारी नभएको दावी गरेको छ।
सरकारी वकिलको कार्यालयका वकिल अशोकराज रेग्मीले आफू कहाँ पुगेको 'मिसिल' मा वन कर्मचारीको रोहबरमा जंगलमा छोडेको उल्लेख भएको दावी गरे।
'वन कर्मचारीकै रोहबरमा जंगलमा छोडेको मिसिलमा छ' उनले भने।
वन्यजन्तु सम्बन्धी मुद्दाका बारेमा अध्ययन अनुसन्धान गर्ने निकाय छुट्टै भएका कारण आफूले यस बारेमा थप जानकारी प्राप्त गर्न नसकेको पनि उनले बताए।
जिल्ला वन अधिकृत मुरारीप्रसाद पोखरेलले वन कर्मचारीको रोहबरमा जंगली जनावर जंगलमा छोडिएको भन्ने कुराको ठाडै अस्वीकार गरेका छन्। उनले आफू मातहतका कुनै कर्मचारीको यस घटनाका संलग्नता नरहेको बताए।
'रामनारायण यादवको रोहबरमा जंगली जनावर जंगलमा छोडेको भन्ने कुरा आएको छ' उनले भने–'यो शतप्रतिशत गलत कुरा हो। यसमा कुनै सत्यता छैन।'
उनले आफूहरुले मानबहादुर चौधरीको जिम्मा लगाएका जंगली जनावर बमबहादुर कुँवरले बेपत्ता पारेको बताए।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर कुँवरको दोदोधरा गाविस बौनियास्थित घरमा असोज १ गते जिल्ला वन कार्यालयको टोलीले छापा मार्दा नौ वटा जंगली जनावर पालेको फेला पारेको थियो। जंगली जनावरमा ६ वटा बँदेल र ३ वटा रतुवा (चित्तल) रहेका थिए।
टोलीले जंगली जनावरको उद्दार गर्न कठिनाई भएको भन्दै रेखदेखमा संलग्न चौधरीको जिम्मामा छोडेको थियो। असोज २ गते बिहान जंगली जनावर उद्दार गर्न आवश्यक पर्ने औजार सहित त्यहाँ पुगेको टोलीले जंगली जनावर बेपत्ता भएको पाएको थियो।
जंगली जनावर बेपत्ता पारेको आरोपमा जिल्ला वन कार्यालयले चौधरीलाई पक्राउ गरेको थियो। चौधरीकै बयानका आधारमा कुँवर पक्राउ परेका थिए।
उनीहरु दुवै जना जिल्ला अदालत कैलालीबाट धरौटीमा रिहा भएका छन्। कुँवरले २८ हजार र चौधरीले १४ हजार धरौटी बुझाएका छन्।
जंगली जनावर पालेको आरोप लागेपछि अध्यक्ष कुँवरले सो घर भाडामा दिएको दावी गरेका छन्। उनले श्रीमती सरस्वती कुँवरको नाममा रहेको घर २०७० बैशाख १ गते बमबहादुर कुँवरलाई भाडामा दिएको दावी गरेका छन्। बमबहादुर कुँवर अध्यक्ष कुँवरका भतिजा हुन्। कुँवरले विगत केही वर्षदेखि घर भाडामा दिएको भनेपनि २०७० बैशाख यताको घरबहाल कर असोज २७ गते तिरेका छन्। कुँवरको घर बहालको कागज पनि नक्कली भएको बताईएको छ।
यसैबिच कैलाली उद्योग वाणिज्य संघले जंगली जनावर पालेको घटनामा अध्यक्ष कुँवरको संलग्नताका बारेमा समाचार सार्वजनिक भएको एक महिनापछि पत्रकार सम्मेलन मार्फत आपत्ती जनाएको छ।
सरकारी वकिलको कार्यालय र जिल्ला वन कार्यालय दुवैले घटनाका बारेमा थप अनुसन्धान भैरहेको बताएको छ।
तर समाचार स्रोतका अनुसार घटना मिलाउन जिल्ला वन कार्यालयदेखि सरकारी वकिलको कार्यालयसम्म आर्थिक चलखेल भएको छ। आर्थिक चलखेलकै कारण सरकारी वकिलको कार्यालयले समेत 'मिसिल' मा हुँदै नभएको तर्क गरेको दावी स्रोतको छ।
सरकारी वकिलको कार्यालयले जंगली जनावर वन कर्मचारीको रोहबरमा जंगलमा छोडेको दावी गरेको कुरालाई जिल्ला वन अधिकृत पोखरेलले अस्वीकार गर्नुले पनि दुई पक्षबीचको भनाई बाझिएको प्रष्ट भएको छ।
सरकारी वकिल र जिल्ला वन अधिकृतले आर्थिक चलखेलको कुरालाई अस्वीकार गरेका छन्। उनीहरुले हल्लाका भरमा आरोप नलगाउन आग्रह गरेका छन्।
जिल्ला वन कार्यालयले जंगली जनावर रेखदेखमै संलग्न व्यक्तिको जिम्मा लगाउनुले पनि उसको नियममाथि शंका गरिएको छ। जंगली जनावरको जिम्मा पाएका चौधरीले बयानका क्रममा आफू ६ बजे आफ्नो घरमा सुत्न गएको र राति जंगली जनावर कसले बेपत्ता पार्यो भन्ने बारेमा जानकारी नभएको बताएका छन्।
'चौधरीले आफू सुत्न गएपछि के भयो जानकारी भएन भनेका छन्' जिल्ला वन अधिकृत पोखरेलले भने–'चौधरीले थाहा छैन भनेपछि कुँवरले नै बेपत्ता पारेको प्रष्ट छ।'
आफूले छापा मारेर बरामद गरेको कुरा अर्काको जिम्मामा दिनु उचित हो भन्ने जिज्ञासामा वन अधिकृत पोखरेलले यस्तो होला भन्ने अनुमान नगरेको बताए। 'यसो होला भन्ने अनुमान नै गरिएन' उनले भने।
सरकारी वकिलको कार्यालयले जंगली जनावर जंगलमा छोडेको बताए पनि स्रोतले विषालु पदार्थ सेवन गराई मारेको बताएको छ।
कुँवरको घरमा छापा मारेको खबर थाहा पाएपछि सदरमुकाम धनगढीमा जंगली जनावर पालेका व्यक्तिहरुले समेत रातारात विषालु पदार्थ सेवन गराएर मारेको स्रोतले जानकारी दिएको छ।
'पार्क मोड नजिकै रहेको एक भेटेरीनरीबाट राति विषालु पदार्थ लगेर जंगली जनावर मारिए' स्रोतले भन्यो–'त्यो राति धनगढीमा मात्रै झण्डै सात वटा जंगली जनावर मारिएका थिए।'