उत्तरतर्फ चाँदी झै टल्कने सुभ्र र सेता पंक्तिवद्ध भएर उभिएझै देखिने हिमश्रृङखलाहरु। शोडषी युवतीको खुलेको यौवनजस्तै मुसुक्क मुस्कराइरहेजस्ता देखिने पहाडहरु।
उकाली–ओराली र नागबेली बाटोमा फुलेका सुगन्धित फूल अनि फूलजस्तै कोमल र स्वच्छ मनका मनकारी गाउँलेहरु। गाउँमा आउने पाहुनालाई स्वागत गर्न दोबाटोमा आइपुग्छन्। स्थानीय भेषभूषामा सजिएका महिला, पुरुष तथा केटाकेटी हातमा फूलमाला र अबिर लिएर पाहुनाको स्वागतार्थ खटिन्छन्। पृष्ठभूमिमा पञ्चेबाजाको ताल र नाचगान त छँदैछ।
ग्रामीण पर्यटनको विकासका लागि म्याग्दीको कुहू गाविसमा पर्ने टोड्केका स्थानीयवासी पाहुनाको स्वागतार्थ यसरी उत्साहित भएका हुन्।
प्राकृतिक सुन्दरताले युक्त भएर पनि भौगिलिक विकटताका कारण सधैभरी पछि पर्न टोड्केका वासिन्दाहरुलाई स्वीकार्य भएन र कस्सिए उनीहरु गाउँलाई पर्यटकीय गाउँ बनाउन। अहिले उनीहरुको यो प्रयासले थोरै भएपनि सार्थकता पाएको छ।
सो गाउँका अधिकांश घर ढुङ्गैढुङ्गाले छाएका छाना छन् भने ढुङ्गै विछाएका बाटोघाटो पनि। गाउँको चुलीबाट उत्तरी दिशातर्फ फर्केर हेर्ने हो भने मनोरम हिमाली शृङ्खलाहरू। पर्यटककीय सम्भावना बोकेको कुहू गाविसको टोड्के गाउँमा पुग्दा जो कोहीलाई पनि फेरि आउ–आउ लाग्छ।
म्याग्दीका विभिन्न गाउँ पुगे पनि पहिलोपटक टोड्केमा उक्लिएका पत्रकार हरिकृष्ण गौतमले आफूलाई टोड्के निकै राम्रो लागेको बताए। 'प्राकृति,जैविक र आनुवाँशिक विविधतामा साँस्कृतिक एकताको मेल गज्जबको मनमोहक हुँदो रहेछ। अनेकताभित्रको एकता र प्रकृतिसंगको आत्मियता टोड्केको त विशेषता नै रहेछ,'पत्रकार गौतमले बताए।
त्यस्तै म्याग्दीका स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्मा गाउँलेहरूको स्वागत र सत्कार देखेर आफू दङ्ग परेको सुनाउँदै गाउँलेलाई स्वागतका निम्ति धन्यवाद पनि दिए। स्थानीय विकास अधिकार शर्माले भने, 'सदरमुकामदेखि दूर (टाढा) छ , तर आनन्द र सुन्दरताका दृष्टिले टोड्के नूर (स्वर्ग) जस्तै छ।'
सरसफाईप्रति सचेत गाउँलेहरू आफ्नो गाउँलाई चिरीच्याटृ पारेका छन्। युवायुवती, आमा समूह, केटाकेटी, बुढाबूढी जो कोही पनि गाउँमा आएका पाहुनालाई स्वागत र विदाईमा खटिन्छन्। बाक्लो सङ्ख्यामा जाने पर्यटकलाई भागबण्डा गरेर आ–आफ्नो घरमा राख्नेगर्दछन् उनीहरू। उनीहरूले पाहुनालाई सेलरोटी, साँधेको भटमास, कुखुराको मासु, गुन्द्रुक, टिमुरको चटनी, हरियो सागसब्जी, झिनियाँलगायतका परिकार खुवाउँछन्।
साँझ गाउँमा पुगेका पाहुनालाई विभिन्न साँस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन प्रदान गर्न पनि उनीहरू चुक्दैनन्।
स्थानीय ६४ वर्षीया मतिसरा भन्छिन्–“गाउँमा होम स्टे सुरु भएपछि केही आशा जागेको छ, पाहुनाको स्वागत र सत्कारमा हामीहरू पनि कुनै कसर बाँकी राख्दैनौं।”
घरमै पर्यटकलाई स्वागत, सत्कार र सम्माानका साथ आवास सुविधा दिइने होम स्टेमा हाल प्रत्येक घरमा चारदेखि १५ जना पर्यटक राख्न सकिनेछ। सो सङ्ख्या पछि बढाइने टोड्के पर्यटन विकास समितिका अध्यक्ष मोहन खत्रीले बताए।
करिब ४० घरपरिवार रहेकेा टोड्केमा विशेषतः मगर,गुरुङ, क्षेत्री र दलितबस्ती छ। त्यसमध्ये १७ घर त मगरकोे मात्र छ। वैदेशिक रोजगारीको सिलसिलामा गाउँका अधिकांश युवा विदेश पलायन भए पनि स्थानीयवासीले आन्तरिक एवम् बाह्य पर्यटन प्रवर्द्धनका लागि कुनै पनि मूल्य चुकाएका छैनन्।
समुद्री सतहदेखि २ हजार १ सय मिटरको उचाईमा रहेको टोड्के गाउँ पुग्न म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिमतर्फ २८ किलोमिटरको यात्रा तय गर्नुपर्दछ । सदरमुकाम बेनीदेखि पुलाडाँडा,पछै,डढुवा,कुहू हुँदै उकालो लाग्नुपर्छ। जीप वा मोटरसाइकलमा करिब ३ घण्टा लाग्दछ भने पैदल जानेलाई करिब ५ घण्टाको समय लाग्छ।
ट्रेकिङका बेला विभिन्न स्थानमा पुग्दा होम स्टेका बारेमा यथेष्ट जानकारी बटुलेका स्थानीय मोहन खत्री दुई वर्षअघि सो गाउँमा होम स्टेको अवधारणा भित्र्याएको बताउँछन्। उनको अवधारणालाई स्थानीय सङ्घसंस्था र आमा समूह तथा जिल्ला विकसा समिति म्याग्दी, धौलागिरि पर्यटन परिषद म्याग्दी र पोखरास्थित ट्रेकिङ एजेन्सी एसोसिएन अफ नेपाल (टान) पश्चिमाञ्चलले मूर्तरूप दिएको हो।
धौलागिरी पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँ भन्छन्— 'टोड्के होम स्टेका लागि प्रचुर सम्भावना बोकेको गाउँ भएकाले हामीले त्यसलाई सहयोग गरेका हौं। टानकै आयोजनामा पोखराबाट सञ्चारकर्मी, पर्यटक र पर्यटन व्यवसायी लगाएत स्थानीय सञ्चारकर्मी,सरोकारवाला निकायको टोली दुई वर्षअघि सो ठाउँमा पुगेर फर्किएको थियो।'
अनुकूल मौसमसँगै धार्मिक महत्वका दृष्टिले पनि टोड्केको छुट्टै पहिचान छ। गाउँको सिरानमा पर्ने मालिकाको धुरीमा चण्डी पूर्णिमाको दिन हुने पुजाआजाको लागि टाढाटाढाबाट समेत भक्तजनाहरु आउने गर्दछन्। यहाँ आएर पवित्र मनले देवीसंग जे माग्यो सोही पाइन्छ भन्ने विश्वास रहिआएको छ।
त्यस्तै भूमेथान, बराह, आदि देवताका थान पनि यहाँ रहेका छन्। साथै गाउँ नजिकैको सामुदायिक वन पनि हेर्न लायकको छ। सो गाउँ घुम्न जाने पर्यटकहरूलाई हिमाल र आसपासको दृश्यावलोकन गराउन गाउँको चुलीमा टेलिस्कोप (दुरविर) समेत राखिएको छ।
टोड्केको डाँडाबाट अन्नपूर्ण, माछापुच्छ्रे धौलागिरिलगायतका हिमशृङ्खलालगायत आसपासका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।