सूर्य विनायकस्थित संस्कृतिविद एवं लेखक तेजेश्वरबाबु ग्वंगःको घरमा पुग्दा उनी थिएनन्। लेखपढ गर्ने उनको कोठामा बस्दै गर्दा उनको जीवनको भव्यता, अध्ययन, त्यसलाई सार्थक तुल्याउन गरेका प्रयत्नका ज्यूँदाजाग्दा उदाहरण छमछम नाँचिरहेका थिए।
र्याकमा नअटाएका किताब टेबुलमा चाङ मिलाएर राखिएका छन्। भित्ता विभिन्न ऐतिहासिक क्षण प्रतिबिम्वित गर्ने तस्विरले सजिएको छ। टेबुलमा उनले लेख्दै गरेका लेख देख्न सकिन्छ।
प्रतिक्षाको केही क्षणमै उनी आइपुगे। अनुहारमा उही आभा, उही उत्साह र उही तन्नेरी जोस। प्रत्येक पटक यिनलाई भेटेर फर्केपछि जीवन र जगतलाई हेर्ने दृष्टिकोण माझिन्छ। त्यसकारण पनि हुत्तिदै उनको घर पुग्न मन लाग्छ।
उनी १९९२ कात्तिक ७ गते जन्मिएका हुन्। तर, कार्त्तिक कृष्ण द्वादशी तिथीका आधारमा उनको जन्म दिन आइतबार परेछ। संयोगले उनलाई 'जन्म दिनको शुभकामना' भन्न पाइयो।
कुराकानीको केही क्षणमै आइपुगेको अण्डा, माछा र दुईवटा तिलको लड्डुले सगुनको संकेत गरिसकेको थियो। 'हिजोको सट्टा आज आउनु भन्नुको कारण यही हो,' उनले सुखद आश्चर्यमा पार्दै भने, 'आजबाट म ८० वर्ष भएँ।'
अलि लजाएजस्ता पनि छन्। आखिर जन्म दिन हो, जति वर्ष पुगे पनि विगत सिनेमाको पर्दाजस्तै घुम्न थाल्छ। अलिकति भावुकता पनि महसुस हुन्छ व्यक्तिमा त्यो दिन।
अरू नै विषयमा कुरा गर्नु थियो, तर यो सुखद संयोग परेपछि यी ८० वर्षे जिन्दगीका उहापोहबारे कुराकानी गर्नुभन्दा सुखद केही रहेन।
'८० वर्ष पुगेपछि कस्तो अनुभव हुने रहेछ?' उनले हाँस्दै भने, 'मलाई कुनै फरक लागेको छैन।'
खासै शारीरिक व्यायाम नगर्ने उनको दीर्घायुको कारण अल्पाहार र जीवनप्रतिका सकारात्मक सोच हुन्। अरुको बारेमा नराम्रो सोचेर हिड्दा ठेस लाग्ने वा आफैंलाई हानी हुने ठान्छन् उनी।
हेर्दाहेर्दै काठमाडौं खाल्डो परिवर्तन भएको छ। यही जिन्दगीमा उनले कति धेरै परिवर्तन महसुस गरेका छन्।
भक्तपुरबाट उनी काठमाडौं दरबारमार्गस्थित त्रिचन्द्र कलेज पढ्न जान्थे, पैदलै। कलेज जान र आउन पाँच घण्टा लाग्थ्यो। अहिले आफ्नो शरीर यति स्वस्थ्य हुनुमा त्यही समयलाई पनि उनी सम्झन्छन्।
त्यतिबेला बस त थिएनन् तर सेभोर्ले कम्पनीका लरी (ट्रक) चढ्न पाइन्थ्यो। तर, अहिलेजस्तो केही मिनेटको प्रतिक्षाम होइन पूरै तीन घण्टा कुर्नुपर्थ्यो। '१५/२० पैसामा लरी चढ्न पाइन्थ्यो,' उनले सम्झना गरे, 'त्यसको धुलैधुलो भएको ढालामा बसेर जानु पर्थ्याे। तर, हिडेर जाने हो भने त्यही पैसाले खाजा खान पाइन्थ्यो।'
'दुई/तीन पैसाको सेल, पाँच पैसाको चप मोजसँग खान पाइन्थ्यो,' ग्वंगःले भने, 'काठमाडौं नेटोबाहिरका बेँसीमा सालको रूख पाइने हुनाले त्यसैका पातमा चप राखेर खान दिन्थे।'
ग्वंगःका आँखामा त्यो बेलाको हरियोपरियो काठमाडौं अहिले पनि झल्झली छ। बागमती, विष्णुमति र मनहरा नदी साह्रै फराकिला। अहिले बस्ती बस्दाबस्दा ती सबै खुम्चिएर नालामा परिवर्तन भएको पनि उनका आँखाले देखेका छन्।
२०१० सालमा एसएलसी पास गरेपछि उनी त्रिचन्द्र कलेज पढ्न थाले। पछि सरकारी सेवामा प्रवेश गरे। पढ्न अमेरिका पनि पुगे। अन्तर सांस्कृतिक संवादसम्बन्धी कक्षा हुने दिन उनी दौरासुरुवाल र सक्कली ढाकाको टोपी लगाएर कक्षामा पुगेका थिए।
उनको गोरा साथीले 'तिम्रो टोपीले त धार्मिक अर्थ राख्छ जस्तो छ नि' भनेर सोध्दा उनले ठट्टा गर्दै भनेका थिए, 'मेरो टोपीले भौगोलिक महत्ता बोकेको छ, बरू तिम्रो टाइ भने धार्मिक जस्तो लाग्छ।'
ग्वंगःले टोपीले सगरमाथाको प्रतिनिधित्व गर्ने जानकारी दिँदै यो हिमाल जस्तै छैन त? भनेर सोधेका थिए। टाइ क्राइष्टको क्रुसिफिकेसन जस्तो लाग्ने व्याख्या पनि गरेका थिए। उनका शिक्षकले भने सुरुमा टाइ बनाउनेले अहिलेको जस्तो नबनाएको तर समय क्रममा यस्तो बनेको जानकारी दिँदै उनको व्याख्या रोचक लाग्दो भएको टिप्पणी गरेका थिए।
खासमा टाइप्रतिको उनको बुझाइ थियो। सानैमा उनले आफ्ना मामाको टाइ लगाएको तस्विर देखेका थिए। उनलाई मामाको घाँटीमा यो माउसुली कहाँबाट आयोजस्तो लागिरहन्थ्यो। अलि ठूलो भएपछि मामाले कहिल्यै पनि टाइमा नतान्नु यसो गर्यौं भने अमेरिकामा हत्याको आरोप लाग्न सक्छ भनेका थिए। उनलाई यो पासो रहेछ भन्ने पनि लागेछ।
अमेरिकामा उनले अध्ययनका क्रममा नेपालको संस्कृतिबारे तिनीहरूलाई जानकारी गराउनु पर्ने आवश्यकता महसुस गरे। उनले प्रत्येक सांस्कृतिक बिम्वको व्याख्या गर्न थाले। त्यसैलाई त्यहाँ लेख्न पनि थाले। त्यही नै उनको जीवनको एउटा अभिन्न अंग भयो। अहिले उनका संस्कृतिसम्बन्धी लेख छापिन्छन्।
उनका तीन वटा पुस्तक प्रकाशित छन्। 'अवकासपछिको आकास,' सांस्कृतिक पलं (नेपाल भाषा) र संस्कृतिका आयाम छन्। उनी ८० वर्ष प्रवेश गरेको उपलक्ष्यमा 'चराको गुँडझैं जन्मस्थल मेरो भक्तपुर' कविता संग्रह प्रकाशनको तयारीमा छन्।
नैतिक शिक्षाको अभाव भएका कारण अहिले धेरैले जीवनका आयाम बुझ्न छाडेको उनले महसुस गरेका छन्। संस्कृत भाषाको पढाइ हुन छाडेपछि हाम्रो जीवन र नैतिकताका बारेमा सिकाउने हाम्रो आफ्नै जीवन पद्दति बिर्सन लागेकोमा उनी चिन्तित छन्।
लर्ड मेकालेले भारतीय संस्कृतिलाई नष्ट गर्न जुन हिसाबले शिक्षा पद्दतिको प्रयोग गरे, त्यसका दुष्परिणाम हाम्रो मुलुकमा समेत देखिएको उनले बताए। 'हाम्रा श्लोक, नैतिक शिक्षाको पढाइ हुन छाडेपछि हाम्रो आफ्नै ज्ञान हामीलाई नहुने अवस्था आएको छ,' उनले भने।
आफ्नो प्रारम्भिक जीवन र अहिले आएका परिवर्तनबारे उनी भन्छन्, 'सम्पूर्ण परिवेश परिवर्तित भएको छ। संस्कृतिमा परिवर्तन आएको छ। प्रविधि पनि व्यापक परिवर्तन भएको छ।'
हेर्नुहोस् भिडियोमा