विराटनगर–४ का सुरेश ढुंगेल पीपलचोकस्थित सडकमा बनेको खाल्डोमा एकपटक परिसके। मोटरसाइकल झन्डै लड्यो।
नियन्त्रण नगुमाउनाले उनी दुर्घटनाबाट एकपटक जोगिएका छन्। कोसी राजमार्गको विराटनगर उपमहानगरपालिका र छिमेकी टंकिसिनुवारीमा पर्ने सडकभरि दिनैपिच्छे बढ्दै गएका दर्जनौं खाल्डाखुल्डीले उनीजस्तै सयौं मोटरसाइकल चालक खाल्डाखुल्डीको जोखिम मोल्दैछन्।
'असारदेखि यहाँ खाल्डाखुल्डी पर्न थालेका हुन्,' ढुंगेल भन्छन्, 'सडक इञ्जिनियर, ओभरसियर यो बाटो हिँड्दैनन् होला।' ढुंगेलका अनुसार टंकिसिनुवारी, ढाट, आयल नियम, कञ्चनबारी र पीपलचोक आसपास खाल्डा बनेका छन्।
यी खाल्डा दिनदिनै बढ्दै गए पनि सडक विभाग देखेको छैन।
सम्बद्ध निकायको बेवास्ता बन्दै गएको कोसी राजमार्ग भएर विराटनगर आउजाउ गर्ने र यहाँ रहेका मोटरसाइकल, कार, गाडीधनीहरू जोखिमपूर्ण तरिकाले गाडी चलाउन बाध्य बन्दै गएका छन्। यी खाल्डाखुल्डीले दुर्घटनाको सम्भावना बढाएको छ।
'सडकभरि खाल्डैखाल्डा छन्, यी कहिले पुरिने हुन्? दुर्घटनाको कारण बन्दैछन् सडकका खाल्डाखुल्डी,' जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विजय श्रेष्ठले भने, 'यिनै खाल्डाखुल्डीले सडक जाम पनि निम्त्याइरहेको छ।'
सयौं ट्याङ्कर पार्किङस्थल बनाइएको आयल निगम क्षेत्र अत्यधिक जोखिममा परेको छ। आधा सडक ढाकेर ट्याङ्कर पार्किङ गरिएको यो क्षेत्रमा खाल्डाखुल्डी बढ्दै गएका छन्।
झन्डै चार करोड खर्च गरेर सडक डिभिजन कार्यालयले आर्थक वर्ष २०६७/६८ मा यो राजमार्ग मर्मत गरेको थियो। मर्मत गरेको वर्ष दिन नपुग्दै पिच भत्किएको थियो। विराटनगर–इटहरी २१ किलोमिटर खण्डका ठाउँ–ठाउँमा खाल्डा पर्ने क्रम अहिले पनि जारी छ। तर सम्बद्ध निकाय विभिन्न बहाना झिकेर सडक मर्मतको जिम्मेवारी टार्न अग्रसर छन्।
'खाल्डा परेको छ र? हामीले देखेकै छैनौं,' उत्तर–दक्षिण व्यापारिक मार्गका योजना प्रमुख विजय चापागाईं भन्छन्, 'त्यस्तो रहेछ भने तिहारपछि मर्मत गर्छौं।' बरगाछीदेखि तीन किलोमिटर उत्तर दुग्ध विकास संस्थानसम्मको सडक हेर्ने जिम्मेवारी यो कार्यालयलाई छ। त्यसउत्तर टंकिसिनुवारीसम्मको सडक पूर्वाञ्चल सडक डिभिजन कार्यालयले हेर्नुपर्ने हो।
पूर्वाञ्चल डिभिजन प्रमुख डीई रामचन्द्र राउत भन्छन्, 'यो त चार लेन सडक अन्तर्गत पर्छ, व्यापारिक मार्ग हेर्ने कार्यालयले जान्नुपर्ने हो।' राजमार्ग भत्किन नदिन 'सर्फेस ड्रेसिङ' गरिएको भन्दै सडक डिभिजनले दुई लेनको उक्त सडकमा अलकत्रा र गिट्टी बिछ्याएको थियो। विराटनगर–धरान चार लेन राजमार्ग विस्तार गर्न थालिएको छ।
कोसी राजमार्ग 'ए क्लास हाइवे' हो। यसको क्षमता 'ए क्याटागोरी लोडिङ' हो। जसको असीमित क्षमता छ। भारत तथा तेस्रो मुलुकबाट औद्योगिक सामग्री ओसारपसार गर्ने उच्च लोड क्षमताका सवारी यही बाटो हुँदै गुड्छन्।
मापसे नियन्त्रणले दुर्घटना घट्दै
मादक पदार्थ सेवन (मापसे)मा अत्यधिक कडाइ गरिएसँगै दुर्घटनाको जोखिम घटाएको प्रहरी तथ्यांक छ। ट्राफिकमा श्रेष्ठ प्रमुख भएर आएपछि साउन महिनायता मापसेमा अत्यधिक कडाइ गरिन थालिएको हो।
निरीक्षक श्रेष्ठका अनुसार अघिल्लो आर्थिक वर्षमा मासिक औषत ३५ वटा दुर्घटना हुन्थे। अहिले मासिक औषत २५ वटामात्र दुर्घटना हुने गरेका छन्। 'मापसे कडाइ पनि दुर्घटना न्यूनीकरणको देन हो,' श्रेष्ठ भन्छन्, 'दिनैपिच्छे नयाँ सवारी थपिँदै जान्छन्, सवारी चापको स्थिति विश्लेषण गर्ने हो भने दुर्घटना बढ्नुपर्ने हो तर यातायात क्षेत्रको बदमासी नियन्त्रण तथा ट्राफिक नियम उल्लंघन कडाइले दुर्घटना न्यूनीकरण हुँदै गएको छ।'
उनका अनुसार मापसेमा परेका चालकको लाइसेन्स ल्याएर जरिवानासँगै सिधै प्वाल पार्ने गरिएको छ। ट्राफिक नियम उल्लंघन गर्नेलाई चार पटकसम्म लाइसेन्समा प्वाल पारेर जरिवाना असुल गरी छोडिन्छ। पाँचौंपटक परेको खण्डमा ६ महिनासम्मका लागि लाइसेन्स निलम्बन गरिन्छ।
'एकपटक लाइसेन्स प्वाल पर्दैमा कोही नआत्तिए हुन्छ,' उनी भन्छन्, 'मापसे गर्नेहरूलाई चार पटकसम्म छुट छ, पाचौंपटक परे सिधै निलम्बन हुन्छ।'
मापसे कारबाहीले राजश्व असुली पनि बढ्दै गएको छ। अघिल्लो आर्थिक वर्षमा सवारी नियम उल्लंघनबाट १५ करोड ६६ लाख ८ हजार ९ सय रूपैयाँ राजश्व संकलन भएको थियो। मासिक औषत १३ लाख राजश्व उठ्ने गरेको थियो, त्यसमा मापसे कारबाहीको हिस्सा ठूलो छ।
आर्थिक वर्ष २०७१/०७२ को साउन महिनामा १३ लाख ४५ हजार, भदौमा १८ लाख २३ हजार २ सय र असोज महिनामा राजश्व बढेर २२ लाख ९६ हजार पुगेको छ। तीन महिनामा चार सय सवारी मापसे कारबाहीका छन्। मापसे कारबाहीमा परेको व्यक्तिले सिधै एक हजार जरिवाना बुझाउनुपर्छ ।