सप्तरी जिल्लाको कल्याणपुर–४ मा बुधबार राति अपरिचित समूहले एक युवकमाथि गोली प्रहार गरी घाइते बनाएको छ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार कल्याणपुर–४ बस्ने ३० वर्षीय मोहमद सम्सुल मियाँलाई अपरिचित समूहले राति १० बजे गोली प्रहार गरी घाइते बनाएको हो।
घर नजिकैको खोलामा शौच गरेर फर्कंदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो। उनको दाहिने पाखुरामा गोली लागेको छ।
इलाका प्रहरी कल्याणपुरबाट गएको प्रहरी टोलीले मियाँलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा गोली प्रहार गर्ने समूहको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। रासस