आयआर्जन गर्ने उद्देश्यले समूहमा आबद्ध भई लागिपरेपछि पाल्पाका एचआइभी/एड्सबाट सङ्क्रमित आत्मनिर्भर बन्दै गएका छन्।
एक वर्षपहिले छिमेकी र आफन्तसँग निर्भर रहेका जिल्लाका सङ्क्रमित÷प्रभावित सामूहिक रूपमा आयआर्जनमा लागेर आत्मनिर्भर बन्दै गएका हुन्।
जिल्लाका सङ्क्रमित, प्रभावित तथा विपन्न समुदाय मिलेर आयआर्जन गर्न एक वर्षअघि समूह बनाएपछि उनीहरूलाई आयआर्जनमा लाग्न सहज भएको छ।
जिल्लाको झडेवा, रामपुर, अर्गली र पालुङ्मैनादी गाविसमा २० देखि ४० जनासम्मको चारवटा समूह बनाएर समूहमार्फत उनीहरू आत्मनिर्भरका काममा सक्रिय छन्।
समूह बनाएर मासिक बचत गर्ने, सस्तोमा ऋण लिएर तरकारी खेती, बाख्रा, भैँसीपालन, माछापालन, बङ्गुरपालन र पसल सञ्चालनमा उनीहरू सक्रिय भएको सक्रिय सेवा समाजका टोली नेता लीलाराज भट्टराईको भनाइ छ।
परिवारका अन्य सदस्य, छिमेकी र आफन्तसँग निर्भर भएका एचआइभी÷एड्सबाट सङ्क्रमित २३७ र सयौँ प्रभावित व्यक्ति अहिले आत्मनिर्भर बन्दै गएको उनले बताए।
आत्मनिर्भर बन्दै गएपछि समाजले हेर्ने धारणासमेत परिवर्तन भएको पालुङ्मैनादी स्वावलम्बन बचत समूहकी सदस्य माया पाण्डेले बताइन।
महँगो ब्याजमा ऋण खोज्नुपथ्र्यो उहाँले भन्नुभयो ‘समूह भएपछि सस्तोमा ऋण पनि पाइयो, अरूसँग माग्नुपर्ने नभएपछि सबैले सम्मान गर्दा रहेछन् ।’
आर्थिक रूपले सबल बनेपछि आफूहरू अस्वस्थ हुँदा औषधि उपचार गर्न र सामाजिक सम्मान पाउन सकेको झडेवास्थित सप्तरङ्गी आयआर्जन समूहका उपाध्यक्ष हरिरतन परियारले बताइन्।रासस