चितवन भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीका लागि एक वर्षमा करिव ६२ करोडको निःशुल्क सेवा प्रदान गरेको छ।
अस्पतालका कार्यकारी निर्देशक डा चिनबहादुर पुनका अनुसार अस्पतालले सबैभन्दा बढी ब्लड क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिएको छ।
गएको एक वर्षमा क्यान्सर अस्पतालले ६२५ जना रक्त क्यान्सरका बिरामीलाई रु ५१ करोड तीन लाख ३५ हजारको निःशुल्क सेवा प्रदान गरेको डा पुनले जानकारी दिनुभयो।
यस्तै किड्नी क्यान्सर भएका १५० जनालाई एक करोड ५७ लाखको निःशुल्क सेवा प्रदान गरिएको उनले बताए।
अस्पतालले विपन्न नागरिक उपचारसेवातर्फ आठ करोड, क्यान्सर सेवा समाजमार्फत १३ लाख, क्यान्सरका बिरामीलाई निःशुल्क खाना बराबर ४१ लाख र ज्येष्ठ नागरिक सेवातर्फ २० लाखको निःशुल्क सेवा दिएको कार्यकारी निर्देशक डा पुनले बताए।
अन्य सेवातर्फ १५ वर्षमुनिका बालबालिकाको उपचारका लागि ६ लाख ६६ हजार तथा ५९ लाखको कोलेस्ट्रोमी, युरोस्ट्रोमी ब्यागसमेत बिरामीलाई निःशुल्क उपलब्ध गराइएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका अनुसार गएको एक वर्षमा चार हजार ६०० नयाँ क्यान्सरका रोगी फेला परेका छन्। गएको वर्ष बहिरङ्ग सेवाबाट ९५ हजार ३०० जना बिरामीले सेवा पाएका छन्। त्यसको अघिल्लो वर्ष ९३ हजारले सेवा पाएका थिए।
गएको एक वर्षमा उपचारका लागि आएका २५ हजारमध्ये चार हजार ६०० जनालाई क्यान्सर लागेको पाइएको अस्पतालका सहायक प्रमुख जनस्वास्थ्य अधिकृत भोला सिवाकोटीले जानकारी दिए। अस्पतालमा अहिले १८२ शय्या रहेको छ भने हाल २०० शय्या निर्माणाधीन छ ।
तथ्याङ्कअनुसार सबैभन्दा बढी फोक्सोको क्यान्सर फेला परेको छ।दोसो नम्बरमा महिलाको पाठेघरको क्यान्सर र तेस्रोमा स्तन क्यान्सरका रोगी फेला परेको अस्पतालले जनाएको छ। अघिल्ला वर्षमा भन्दा अस्पतालमा क्यान्सरका बिरामी क्रमिक रूपमा बढिरहेको तथ्याङ्कले देखाएको छ। रासस