महोत्तरी जिल्लाको घरघरमा अहिले आँखा पाक्ने रोगी देखिएको छ । जिल्लाको ७३ गाविस र दुई नगरपालिकामा बसोबास गर्ने प्रत्येक परिवारमा अहिले आँखा पाक्ने रोगी देखिएको जिल्लाका स्वास्थ्यकर्मीले बताएका छन् ।
जिल्लाको सदरमुकाम जलेश्वरमा नेपाल रेडक्रस सोसाइटी महोत्तरीद्वारा सञ्चालित प्राथमिक आँखा उपचार केन्द्रमा मात्रै एक सातादेखि दैनिक १०० देखि १५० जनाको सङ्ख्यामा उपचारका लागि आउने गरेको चिकित्सक रामपरीक्षण मण्डलले बताए ।
त्यस्तै जिल्ला अस्पताल जलेश्वरमा दैनिक १०० को सङ्ख्यामा आँखा पाकेका रोगी उपचारका लागि आउने गरेको जानकारी वरिष्ठ मेडिकल अधिकृत द्वारिकाप्रसाद साहले दिए ।
सोही क्रममा जिल्लाका विभिन्न गाविसमा अवस्थित स्वास्थ्यचौकी, इलाका हेल्थपोस्ट र विभिन्न निजी क्लिनिकमा पनि दैनिक सयौँको सङ्ख्यामा आँखा पाकेका रोगी उपचारका लागि आउने गरेको चिकित्सकले बताएका छन् ।
आँखा पाक्ने रोगले जिल्लाका बालबालिका, बूढापाका र वयस्कसमेत प्रभावित भएका छन् । विगत एक सातादेखि जिल्लामा देखिएको आँखा पाक्ने रोगको सङ्क्रमण अहिले बढ्दै गइरहेको छ । रासस
प्रकाशित मिति: 2014-10-01 08:46:17