सामाजिक सञ्जाल प्रभावकारी रहेको युगमा छोटो अभिव्यक्तिबाटै आफ्नो कुरा राख्ने वा बुझ्ने बानी स्थापित हुँदै गइरहेको छ। यस्तो बेला केहि हजार शब्दहरुको प्रयोग गरेर विस्तारमा समाचार लेख्ने काम कसरी अघि बढ्दैछ र यसको भविष्य के होला?
कुनै पनि घटना वा विषयवस्तु बारे व्यापक जिज्ञासाहरुको समाधान बोकेको यस किसिमका समाचारको सुरुवात अमेरिकाबाट भएको बताइन्छ। युरोपेली मुलुक हुँदै भारत र पछिल्लो समय नेपालमा पनि यसको फाटफुट प्रयोग हुनथालेको छ। 'न्यूयोर्कर' जस्ता पत्रिकाले थालनी गरेको यो अभ्यासलाई 'गार्डियन'ले अघि बढाइरहेको छ। र, पछिल्लो समय भारतमै 'क्याराभान'जस्ता पत्रिकाहरु यस किसिमको पत्रकारिताका निम्ति अग्रपंक्तिमा उदाएका छन्।
जानेर र नजानेर नेपालमै पनि यदाकदा देखिने यस किसिमका लामो पत्रकारितालाई सबैभन्दा पहिले त नामै के दिने?
सम्भवतः पहिलोपटक काठमाडौंमा आइतबार यसबारे छलफल भयो। प्रज्ञाभवनमा आयोजित साहित्यिक मेलामा कार्यक्रम सञ्चालक पत्रकार कनकमणि दीक्षितले दुईजना साथीहरु बाट प्रस्तावित नाम उल्लेख गरिहाले, 'आलेख पत्रकारिता'।
अंग्रेजीमा 'लङफर्म जर्नलिज्म' भनिने यस्तो पत्रकारिताको यो नेपाली नाम उनलाई मञ्चमा आउनुअघि दुई साथी हरि शर्मा र जगत भूर्तेलले सुझाएका रहेछन्। दीक्षित उक्लनै थाल्दा राष्ट्रपतिका सल्लाहकार शर्माले फेरि ठट्टा गर्दै भनेका रहेछन्, 'नेपालको सन्दर्भमा चाहि सिपालु पत्रकारले लेखेको भन्दा पनि जथाभावी कुरा थुपारेर ठूलो मात्र बनाइदिने चलन रहेकाले उताको लङफर्मलाई यता ल्याङ –फ्याङ पत्रकारिता भनिदिए पनि फरक पर्दैन।'
कार्यक्रममा हाँसोको फोहरा फैलियो।
'तर, आज म साँच्चै नै आलेख पत्रकारिता गरिरहेका साथीहरुसँग कुरा गर्दैछु,' दीक्षितले भने, 'जो, महिनादिनसम्म लगाएर यस किसिमका पठनीय सामग्री तयार पार्नमा रमाउँछन्।'
उनका सामुन्ने थिए भारतको त्यही क्याराभान पत्रिकाका राजनीतिक संपादक हरतोषसिंह बल, अफनानिस्तानमा बसेर पत्रकारिता गरेका क्यानेडेली पत्रकार म्याथ्यू हिगिंस र नेपालमै साहित्यिक जर्नल 'ललित' निकाल्दै आएका रवि थापा।
रविले लामो समयको अनुसन्धानबाट खोजिएका गहन तथ्यहरुलाई साहित्यको लालित्यले सिँगारेर प्रस्तुत गर्ने यो कला बेग्ला बेग्लै लेखकका हकमा बेग्ला बेग्लै तरिकाबाट प्रकट भइरहेको उल्लेख गरे। आफूमा भने साहित्यको प्रभाव बढी हुनसक्ने स्वीकारोक्ति उनको थियो।
बीचैमा कनकले रविलाई उनी अंग्रेजी साप्ताहिक 'नेपाली टाइम्स'को स्तम्भकार रहेको स्मरण गराए। रविले छ सयभन्दा बढी शब्द लेख्न नमिल्ने त्यो अखवारको अनुभव यो बहसमा काम नलाग्ने भनेर पन्छिए।
'हो,' उपस्थित श्रोतालाई हँसाउदै कनकले पनि थपिदिए, 'त्यसैले त्यो पत्रिकामा म पनि कहिल्यै लेख्दिनँ।'
बौद्धिक पाठकहरुका निम्ति स्तरीय खुराक मानिने 'नेपाली टाइम्स' कनककै दाजु कुन्द दीक्षितले प्रकाशन गर्छन्।
विषयान्तर हुन नदिन सम्हालिँदै कनकले हिगिंसतर्फ प्रश्न सोझ्याए, 'अफगानिस्तानजस्तो युद्धग्रस्त क्षेत्रमा ब्यापक सामाजिक घुलमिलबाट मात्र तयार हुनसक्ने आलेख पत्रकारिता कसरि संभव भयो?'
हिगिंसले पात्र केन्द्रित आलेख तयार पार्ने हो भने त्यो संकट नपर्ने जवाफ दिए।
'एउटा बेग्लै संसार र त्यो पनि युद्धग्रस्त स्थानमा बाँचिरहेको कुनै एक पात्रलाई समातेर उसका भोगाइ र गतिविधिहरु बिस्तारमा वर्णन गर्न सकिन्छ,' उनले भने, 'त्यसले जीवन र जगत प्रति बेग्लै समझदारी बनाएर अर्कै विश्वमा बाँचिरहेका पाठकहरुमा रुची पैदा गर्छ।'
यसरी गरिएका कतिपय समाचारलाई आफ्ना पश्चिमा पाठकले मनपराएको मात्र नभइ स्वयं अफगानिस्तानकै पत्रकारहरुले पनि स्थानीय भाषामा पटक पटक छापेको उनले स्मरण गरे।
यस्ता आलेख पत्रकारिताका निम्ति विषयवस्तुको छनौट चाहिँ कसरी गरिन्छ?
यो प्रश्न थियो क्याराभानका हरतोषलाई।
'भारतमा अस्तिको आमनिर्वाचनभन्दा ठीकअघि हामीले आरएसएस को बारेमा मुख्य समाचार बनाएका थियौं,' हरतोषले भने, 'त्यसले नरेन्द्र मोदीको समग्र राजनीतिक वृत्तबारे पाठक जिज्ञासा तृप्त पार्थ्यो।'
कहिलेकाँहि पुरानो विषयवस्तु पनि राम्रो समाचार बन्न सक्छन्।
'जस्तो कि केहि अघि मात्र हामीले छापेको अपरेशन ब्लूस्टारबारे आलेख,' उनले भने, '३० वर्षअघि पञ्जाबको एउटा गुरुद्वारामा गरिएको त्यो सैनिक हस्तक्षेपले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यादेखि दिल्लीमा दंगासम्म निम्त्याएको थियो।' घटना पुरानो भइसकेपछि मान्छेहरुमा रहेका प्रभावहरु घट्दै जाने भएकाले सत्य उजागर गर्न सजिलो पर्ने उनको ठम्याइ छ। तीन दशक पुरानो त्यो घटना यसै कारण अहिलेको पाठकका निम्ति पनि रुचिकर विषय बन्न पुग्यो।
आलेख पत्रकारिताको अवस्था नेपालमा के छ?
यो प्रश्नको उत्तरमा रविले नेपाली भाषामा यसको अभ्यास उत्ति नपाएको बताए। 'महिना दिन वा त्योभन्दा पनि बढी समय लगाएर तयार पार्ने यस्तो समाचारका निम्ति गतिलो कोष, छाप्ने उपयुक्त ठाउँ र तालिमप्राप्त पत्रकार चाहिन्छ,' उनले भने, 'त्यो स्थिती यहाँ छैन।'
हतारमा लेखिने समाचारहरुको प्रभाव बढ्दै गइरहेको बेला यस्तो पत्रकारिताका निम्ति वातावरण कसरी बनाउन सकिएला?
'विषयवस्तुका बारे छिपछिपे समाचार भन्दा पनि चित्त बुझ्ने आलेख पढ्न चाहने पाठकहरु तयार भए र उनीहरु त्यस अनुसारको पैसा तिर्न पनि अग्रसर भइदिए भने वातावरण बन्न सक्छ,' हरतोषले भने, 'तर, संसारमै सबैभन्दा कम मूल्यमा विक्री हुने हाम्रो क्षेत्रका अखवारको निम्ति यो अप्ठेरै छ।'
अखवारको दस प्रतिशत मूल्य पाठकले र ९० प्रतिशत मूल्य विज्ञापनदाताले बेहोरिरहेको अहिलेको अवस्थामा यो भेगकै पत्रिकाको बजार विकृत बन्न पुगेको उनको भनाइ थियो।
मासिक रुपमा निस्किरहेका क्याराभान बाहेक मूलधारका अखवारमध्येकै कसैले आलेखहरुलाई पनि स्थान दिन किन सक्दैन?
जवाफमा हरतोषले भारतमै फ्रन्टलाइनले यस्तो काम गरिरहेको भए पनि त्यो चित्तबुझ्दो नरहेको उल्लेख गरे।
'लामो लेखन भएर मात्रै हुँदैन,' उनी भन्दै थिए, 'त्यसले बोक्ने गहनता र वर्णनशैली हेरिनुपर्छ।'
विज्ञापनकै भरमा चलिरहेको हाम्रो अखवारमा समाचारका निम्ति ठाउँ साँघुरिँदै गएकाछन्। यस्तोमा इन्टरनेटले पाठकहरुलाई चाहेजत्तिको स्थान उपलब्ध गराउन सक्छ।
'र, त्यो संभव पनि देखिन्छ,' दीक्षितले भने, 'अखवारको पाना जस्तो सीमितता इन्टरनेटको ब्यापकतामा छैन।'
छोटो समाचारभन्दा पनि गहन र लामो आकारमा लेखिएका आलेखहरु बढी पढिने गरेको सेतोपाटी डट कमको अनुभव दीक्षितले कार्यक्रममा बारंबार उल्लेख गरेका थिए।
तर, इन्टरनेट पत्रिकामा पैसा कसरी आउँछ?
उत्तर दिनका निम्ति हिगिंस अघि सरे।
'मैले अनलाइन न्यूज पोर्टलका निम्ति लेखेको केहि आलेखले मलाई राम्रो मूल्य तिरेको छ,' उनले बज फिड डट कमबाट पाउनेगरेको पारिश्रमिक उल्लेख गर्दै भने, 'अमेरिकाको कुनै पनि राम्रो अखवारले दिने पैसाभन्दा त्यो कम थिएन।'
यो सुनिरहँदा भारत र नेपालका पत्रकार भने आश्चर्यमा डुबेका थिए।
'ब्राण्ड इमेज' कै निम्ति ठूलो लगानी गर्न तत्पर रहने सम्पन्न पश्चिमा अखवारहरुका निम्ति धेरै कुरा संभव रहेको उनीहरुको ठहर थियो।
अन्तिममा सबैजनाको एउटा कुरामा सहमति भयो, 'यस किसिमका समाचारको महत्व बुझेका उदार लगानीकर्ता खर्च ब्यहोर्न तयार भइदिए भने आलेख पत्रकारिता सबैतिर फस्टाउन सक्छ।'