केही दिनअघि विहानको समयमा इटहरीको मुख्य राजमार्गमा ब्याट्रीबाट चल्ने एउटा रिक्साको चक्का अचानक फुक्लियो। सडकको बिचमा चक्का फुक्लिएको रिक्सा कोल्टे पर्यो। चक्का ७ मिटरजति गुडेर सडक पेटीमा लड्यो। इटहरी नगरपालिकाले दर्ता गरेको दर्ता नं. ८ को उक्त रिक्सा कम गतीका कारण पल्टिन त जोगियो तर त्यो सबै हेरीरहेका प्रत्यक्षदर्शीले रिक्साको टिकाउपनबारे आलोचना गरे, …यो त डेन्जर पो हुँदो रहेछ त।' अलि गतीमा भएको भए र यात्रु भरिएको भए, अझ सवारीका साधनको चाप भएको भए ठूलै दुर्घटना हुन सक्थ्यो।
सवारीका साधनहरुमा इन्धनको विकल्पको खोजी भइरहेका बेलामा यतिखेर इटहरीमा ब्याट्रीबाट चल्ने रिक्सा बाक्लिएसँगै यसको सुरक्षा र वैधानिकताबारे प्रश्न उठ्न थालेको छ।
भारतमा समेत इ रिक्सा भनिने यस्ता साधनको वैधानिकताको सवाललाई लिएर समाचारको शीर्षक बनिरहेको यस्ता साधन नेपालमा मुख्य सडक बजारमा निर्वाध गुडिरहेका छन्। भारत र नेपालमा यस्ता साधनको लागि एउटै समस्या देखिएको छ, त्यो हो कानुनको समस्या।
सुरुवातमा इटहरी नगरपालिकाले यस्ता साधनलाई रिक्साको वर्गीकरणमा राखेर दर्ता गरिदिएको थियो। पछि कानुनी पाटो खुलेपछि रिक्साको विकल्पमा झण्डै तीन महिना अघि इटहरी भित्रिएका यस्ता साधनलाई कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरी र इटहरी नगरपालिकाले तत्कालका लागि नचलाउन आदेश दिएको थियो।
आदेशसँगै इटहरी नगरपालिकाले गर्दै आएको दर्तासमेत बन्द गरेको छ। दर्ता बन्द गरिएपछि सफारी चालकहरुले विरोधमा आन्दोलन गरेका थिए भने विना दर्ता नै भएपनि सफारीहरु सडकमा थपिन बन्द भएका छैनन्। झट्ट हेर्दा सुविधाजनक र वातावरणीय दृष्टिले उपयुक्त लागेपनि यस्ता साधन वनावटका हिसाबले नेपालको खाल्डाखुल्डी धेरै भएका सडकको लागि त्यती टिकाउ देखिँदैनन्।
अवैध साधनलाई नगरपालिकाको दर्ता नम्बर
ऐनमासमेत उल्लेख नभएका यस्ता साधनलाई इटहरी नगरपालिकाले दर्ता गरी दर्ता नम्बर दिएको छ। हालसम्म एक सय बढी साधनलाई दर्ता दिइएको छ। आकर्षण बढ्दै गएपछि इटहरीमा हालसम्म आधा दर्जनबढी यस्ता साधनको डिलरसमेत खुलिसकेका छन्।
हिजोअस्तीसम्म रिक्सामा लगानी गरेर चलाउन दिने रिक्सा मालिकहरुले आजभोलि अढाइ लाखसम्म पर्ने यस्ता साधनमा लगानी गर्न थालेका छन्। जसको कारण दैनिक २ देखि ३ वटा सफारीहरु इटहरीको सडकमा थपिने गरेको रिक्साचालकहरु बताउँछन्।
इटहरी नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले अन्यौल भएर दर्ता दिएको बताएका छन्। यान्त्रिक भएपनि यातायातले दर्ता गर्न चेसिस र इन्जिन नम्बर खोज्ने र सिटी सफारीमा त्यस्तो नम्बर नहुने हुँदा यातायातले दर्ता गर्न नमिलेकोले नगरपालिकामा रिक्साको रुपमा दर्ता हुन आएको बताए।
चुपचाप ऐन
मोटरसाइकल, ट्याम्पो तथा अन्य सवारी साधनका विषयमा यातायात व्यवस्था ऐनमा स्पष्ट निति बनाए पनि ब्याट्रीबाट चल्ने यान्त्रीक साधनहरुको विषयमा भने नियम बनाइएका छैनन्। नयाँ प्रविधिको प्रयोग गर्दै बनाइएका यस्ता साधनलाई कुन सवारी अन्तर्गत राख्ने, दुर्घटना भएमा कस्तो कारवाहि गर्ने चलाउनका लागि सवारी अनुमति पत्र चाहिने–नचाहिने भन्ने विषयका कानुनमा उल्लेख नै नभएका कारण यस्ता साधनलाई अवैद्य भन्न सकिन्छ।
ऐन नियममा कुनै स्पष्ट व्यवस्था नभएका कारण समस्या देखा परेको कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीका शाखा अधिकृत भीम गौतमले बताए। उनले यातायात व्यवस्था विभागसँग अनुमती दिने वा नदिने, राजस्वसमेत कति तोक्ने भनेर जवाफ माग गर्दै पत्र पठाएकोले जवाफ आइसकेपछि सोही अनुसार गर्ने बताए।
गरिबलाई गाह्रो
सिटी सफारी आउनु अघि मनोमानी भाडा असुलिरहेका रिक्साचालकहरु अहिले त्यसो गर्दैनन्। सिटी सफारीतर्फ यात्रुहरुको आकर्षण बढेसँगै उनीहरुले रिक्साभाडासमेत कस्सेर लिन सकेका छैनन्। तर सफारीले आफ्नो रोजीरोटी संकटमा पारेको रिक्साचालकहरुको गुनासो छ। आफूले बोक्ने यात्रुहरु आफ्नै अगाडी सफारीले ओसारीरहँदा पुराना रिक्साचालकहरु भने टुलुटुलु हेरीरहेका भेटिन्छन्।
इटहरीमा रिक्सा चलाउँदै आएका सप्तरी रुपनीका अब्दुल्लाह रहमानले नयाँ रिक्सा आएपछि पुरानो रिक्सामा मानिस बस्नै छाडेको बताए। उनले भने, …सबै सफारी रिक्सा चढ्न खोज्छन्, हामीलाई त रिक्सा चलाएको भाडावापतको दैनिक एक सय रुपैया साहुलाई बुझाउन समेत गाह्रो हुन थालेको छ।'
२० वर्ष साधारण रिक्सा चलाएका इटहरी ६ का बेगन पासवानले तीन महिनायता साहुको इलेक्टि्रक रिक्सा चलाउँदै आएका छन्। उनले दुवै रिक्सामा नाफा भने उस्तै हुने भएपनि ब्याट्रीबाट चल्ने रिक्सा चलाउन सजिलो भएको प्रतिक्रिया दिए।
रिक्सा चलाउनका लागि इटहरी दुई वटा रिक्साले बोक्ने मानिस एउटै सफारीले बोक्ने भएपछि बेरोजगार भइएला भन्ने डर पनि उनीहरुलाई छ। फेरी रिक्सा चलाउन नमान्ने युवाहरुले समेत सिटी सफारी चलाउन थालेपछि रिक्साचालकहरु रोजीरोटी खोसिने डरका कारण बेला बेलामा नगरपालिका अगाडी रिक्सा तेर्स्याएर आन्दोलन समेत गर्ने गरेका छन्।
भारतमा पनि अवैद्य
बेट्रीबाट चल्ने रिक्सा भारतमा पनि अवैद्य मानिन्छ। त्यहाँ यसलाई इ रिक्सा भनिन्छ। दिल्लीमा पनि यसको संख्या बढ्दै गएको बेलामा व्यवस्थापन गर्न टाउको दुःखाइ बन्दै गएको छ। यात्रुहरुका लागि आरामदायी र चालकलाई सजिलो देखिएपनि नियम कानुनको अभावमा यस्ता रिक्साको विरोध दिल्लीको उच्च अदालतसम्म पुगेको छ।
झण्डै दुई महिना अघि इ रिक्साले एउटी महिलालाई ठक्कर दिँदा एउटा बालकको मृत्युभएपछि इ रिक्सालाई प्रतिबन्ध लगाइएको थियो। तर इ रिक्साको लागि नयाँ नियम बनाउने तयारी समेत थालिएको छ।
त्यसको लागि मोटर वाहन नियमलाई नै संशोधन गर्ने गरी नयाँ नियमको मस्यौदा बनाइएको छ। मस्यौदाले इ रिक्सामा एक पटकमा चार जना भन्दा बढी यात्रु चढ्न नपाइने र चालकको हकमा लाइसेन्स हुनुपर्ने व्यवस्था गरेको छ। त्यस्तै २५ किलोमिटर प्रतिघण्टा भन्दा बढी गतीमा समेत चलाउन नपाइने भनेको छ। यी नियमबारे एक सातामा टुंगो लाग्ने अनुमान गरिएको छ।
यात्रुहरुलाई सजिलो र आरामदायी हुने भएकाले यस्तो साधनलाई प्राथमिकता दिनुपर्ने व्यवशायीहरुको माग छ। तर मुख्य राजमार्ग बाहेक भित्री मार्गहरुमा यात्रुहरुको सुविधाको लागि यसलाई प्रयोगमा ल्याउन सकिने कतिपयको तर्क छ। तर यन्त्रबाट गुड्ने र एकै पटकमा ८ जनासम्म मानिस बस्ने सिट भएकाले यस्तो साधनको टिकाउपनबारे भने सुनिश्चितता हुनु आवश्यक रहेको विज्ञहरु बताउँछन्।