इटहरीवासीले आज इटहरीभर दश हजार विरुवा रोपेका छन्। विश्व सरसफाइ दिवसको अवसरमा १० हजार विरुवा, २० हजार हात नाम दिइएको कार्यक्रमअन्तर्गत इटहरी उत्तरमा रहेको खोसार्नेखापदेखि दक्षिणमा पर्ने भुर्कीसम्मका टोल तथा वस्तीहरुमा विरुवा रोपिएको हो।
इटहरीलाई जंगलभित्रको शहर बनाउने अभियानको क्रममा झण्डै एकमहिनाको तयारीपछि विरुवा रोपिएको हो। सरसफाइका लागि सुरु गरिएको किप इटहरी क्लिन अभियान समुह, इटहरी नगरपालिका तथा उद्योग वाणिज्य संघ इटहरीको संयुक्त आह्वानमा नगरवासीले रुख रोपेका हुन्।
अभियानलाई साथ दिन इटहरी आइपुगेका वन तथा भु संरक्षण मन्त्री महेश आचार्यले समेत इटहरीवासीको अभियानलाई साथ दिएका छन्। उनले इटहरी नगरपालिकाको प्रांगणमा कपुरको रुख रोप्दै भने, 'अति राम्रो काम, इटहरीवासीको यो कामलाई अभिवादन गर्छु।'
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जैविक विविधताका क्षेत्रमा नेपालले छिमेकी ठूला देशहरुलाई समेत जित्न सक्ने बताए। 'भौतिक विकासमा हामी प्रतिष्पर्धामा अगाडी आउन नसकौंला,' उनले भने, 'तर संसारका उदियमान महाशक्ति देशसँग समेत जैविक विविधताको संरक्षणका विषयमा प्रतिष्पर्धा गर्न सक्छौं।'
मन्त्री आचार्यले इटहरीको अभियानलाई प्रशंसा गर्दै अभियानलाई छिमेकी नगरहरुसम्म पुर्याउन आग्रह गरे। नेपालको धर्म, संस्कृती तथा विज्ञानले वन तथा जमिनलाई उच्च महत्व दिएको बताउँदै मानिसको अस्तीत्वका लागि समेत वन संरक्षण आवश्यक रहेको बताए। उनले अबको १० वर्षलाई वन दशकको रुपमा मनाउन सरकार लागिपरेको समेत जानकारी दिँदै रुख रोपेर नेपालले अरबौं डलर भित्र्याउन सक्ने बताए।
यस्तै नेकपा एमाले इटहरी नगर अध्यक्ष याम सुब्बाले केन्द्र सरकारको सहयोगविना इटहरीवासी आफै एकजुट भएर अभियान सञ्चालन गरीरहेको बताउँदै सहयोग गर्न आग्रह गरे। उनले इटहरीलाई उपमहानगर बन्न सहयोग गर्नसमेत मन्त्री आचार्यसँग आग्रह गरेका थिए।
यस्तै केआइसीका अभियन्ता तथा साहित्यकार मनु मञ्जिलले जहाँ उभिएर हेर्दा पनि शहरलाई सुन्दर देखिन आवश्यक रहेको चर्चा गर्दै वृक्षरोपणले मानिसलाई प्रेम गर्न सिकाउने बताए। जंगलभित्रको शहर बनाउने उद्देश्यका साथ वृक्षरोपण थालिएको इटहरी नगरपालिका यसअघि नै खुला दिसामुक्त क्षेत्र तथा प्लाष्टिक झोला निषेधित क्षेत्र घोषित छ।