आइडिया स्टूडियोले काठमाडौँ युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसम) मा आफ्नो उद्यम परामर्श केन्द्रको स्थापना गरको छ। शुक्रबार स्थापना गरिएको यो परामर्श केन्द्र नेपालमा सुरु भएको यस किसिमको पहिलो उपक्रम भएको कम्पनीले बताएको छ।
उक्त केन्द्रले विश्वभरका नेपालीहरूका नवीन आइडियाहरूलाई सामाजिकरूपले संवेदनशील र सफल उद्यमका रूपमा परिणत गर्नका लागि उद्यमीहरू तथा प्राज्ञिक, निजी, प्राविधिक र विकास सम्बद्ध क्षेत्रका विशेषज्ञहरुका लागि मञ्च उपलब्ध गराउने शुक्रबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
आइडिया स्टूडियो युनिसेफ, काठमाडौँ विश्वविद्यालय, चाइल्डरिच नेपाल तथा मिटिङ प्वाइन्टको संयुक्त प्रयत्न हो। यो आफैँमा एउटा नवीन अवधारणा हो जसले प्रतिष्पर्धीरूपमा नयाँ अवधारणाहरूको खोजी गर्छ र व्यावसायिक उद्योग-वाणिज्य विशेषज्ञहरूको सहयोगमा तिनलाई सम्भाव्य बनाउन मदत गर्छ।
“आइडिया स्टूडियोले जगाउने आशा, उत्साह र उद्यमशीलता तथा हालका दिनहरूमा नेपालले भोगिरहेका विकासका चुनौतीहरूको समाधानले अझ धेरै नेपाली युवाहरूलाई आफ्नै देशमा बसेर आफ्ना आइडिया र सीप आफ्नै देशका लागि लगानी गर्न प्रेरणा दिनेछ भन्ने हाम्रो विश्वास छ,” युनिसेफका नेपाल प्रतिनिधि तोमू होजुमीले भने, “यस अग्रसरतालाई साँचो अर्थमा नयाँ नेपालको रेखा कोर्ने आधारविन्दूका रूपमा हेरिनेछ।”
आइडिया स्टुडियोले २०७१ साउनमा सुरू गरेको प्रतियोगितामा संसारभरबाट ६०० भन्दा बढी नेपालीले कृषि, शिक्षा, सूचना प्रविधि र पर्यटन लगायतका विभिन्न क्षेत्रका आआफ्ना आइडिया सहित आवेदन पठाएका थिए। ती मध्येबाट छानिएका सबभन्दा सृजनशील ३५ वटा आइडियाहरूले हाल परामर्श केन्द्रमा आफूलाई उद्यमका रूपमा परिवर्तन गर्नका लागि परामर्श पाइरहेका छन्।
“यो अत्याधुनिक परामर्श केन्द्रले सहभागीहरूलाई उद्यमशीलताका सैद्धान्तिक र प्राविधिक पक्षहरूका बारेमा जानकारी दिनेछ जसले उनीहरूका नमूनाहरूलाई यथार्थमा परिणत गर्न मदत गर्नेछ,” कुसममा सहप्राध्यापक रुपेश कृष्ण श्रेष्ठले भने, “कुसमका प्राध्यापकहरूले सहभागीहरूको वित्त, मार्केटिङ तथा उद्यम विकासका बारेमा जानकारी दिनुहुनेछ। त्यस्ता सीपहरूले सहभागीहरूलाई सम्भावित लगानीकर्ताहरूका सामु प्रभावकारी ढङ्गले आफ्ना आइडिया प्रस्तुत गर्न मदत गर्नेछन्।”
आइडिया स्टूडियोको यो अग्रसरतालाई अझ बलियो बनाउनका लागि छानिएका आइडियाकारहरूले आफ्ना मौलिक आइडियाहरूलाई राष्ट्रव्यापीरूपमा प्रशारण हुने रियलिटी शो मार्फत उद्योग वाणिज्य क्षेत्रका अगुवाहरूसमक्ष पेश गर्नेछन्। उद्यमी-व्यापारी तथा वित्तीय संस्थाहरूबाट लगानीका लागि छानिएका आइडियाहरूलाई सफल उद्यमका रूपमा स्थापना गर्नका लागि थप विकास र परिमार्जन गरिनेछ।
“यस कार्यक्रमको अन्त्यसम्ममा हामी यस्ता उद्यमीहरूलाई स्थापित हुन मदत गर्नेछौँ जसका आइडिया वा उद्यमबाट आयवृद्धि हुनेछ र नेपालको गरीवी निवारण र आर्थिक सशक्तिकरणमा कुनै न कुनै किसिमको मदत पुग्नेछ,” चाइल्डरिच नेपालका राष्ट्रिय निर्देशक डा. छिरिङ लामाले बताए। “सामाजिक-आर्थिक रूपान्तरण र सामाजिक परिवर्तनहरूलाई बढावा दिने सृजनशील आइडियाहरूको खोजी गर्नु नै यो अवधारणाको अभीष्ट हो।”