जिल्ला अदालत इलामले बहुविवाह गरेको आरोपमा थुनामा रहेका इलाम जीतपुर–४ का ३८ वर्षीय प्रकाश गिरी र उनकी कान्छी श्रीमती कल्पनालाई एक वर्ष कैद र जनही पाँच हजार रुपैँया जरिवाना तोकेको छ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले दुवैलाई कैद सजाय तोकेको अदालतका कर्मचारी रविन अधिकारीले बताए।
गत साउन ९ गते प्रकाश गिरीले आमचोक–१ की कल्पनासँग दोस्रो विवाह गरेका थिए।
उनकी जेठी श्रीमती राधादेवीले श्रीमान्ले बहुविवाह गरेको भन्दै उनी र कल्पनाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा गत भदौ १३ गते किटानी जाहेरी दिएकी थिइन्।
जाहेरीका आधारमा एकसाता अघि प्रहरीले प्रकाश र कल्पनालाई आफ्नै घरबाट पक्राउ गरी बहुविवाहअन्तर्गत मुद्दा दायर गरेको थियो।
अदालतको आदेशपछि दुवैलाई जिल्ला कारागार इलाममा पठाइएको छ।
यसैबीच, बलात्कारका आरोपी जोगमाई–९ का ५५ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
सोही गाउँकी एक वृद्धालाई बलात्कार गरेको आरोपमा भदौ १६ गते पक्राउ परेका भण्डारीलाई अदालतले सोमबार थुनामा राख्न आदेश दिएको हो। रासस