भोलिदेखि अमेरिकी दूतावासले भिसा आवेदन प्रक्रिया परिवर्तन गर्ने भएको छ। अमेरिकाले दिँदै आएको पर्यटक, बिजनेस, विद्यार्थी र अन्य गैरआप्रवासी भिसाका लागि निवेदन तथा भुक्तानी गर्न नयाँ अनलाइन सेवा गर्न सुरू गर्न लागेको आइतबार प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भिषा प्रक्रियाका लागि नयाँ अनलाइन व्यवस्था प्रयोग गर्ने जानकारी दिएको हो।
भदौ ३० गते सोमबारबाट विश्वभरका १२० भन्दा बढी देशहरूमा रहेका अमेरिकी दूतावास तथा कन्सुलेटहरूले नयाँ अनलाइन सेवा प्रयोग गर्ने विज्ञप्तिमा भनिएको छ।
'काठमाडौँस्थित अमेरिकी दूतावास पनि यस प्रक्रियामा सामेल हुँदैछ', विज्ञप्तिमा भनिएको छ, 'यस नयाँ व्यवस्थाले यात्रुहरूलाई उपलब्ध अपोइन्टमेन्ट हेर्ने र उनीहरूको समय तालिकाको लागि सबैभन्दा उपयुक्त मिति र समय रोज्ने मौका दिनेछ।'
साथै अन्तर्वार्तामा पास भएका यात्रुहरूले नेपालभरका विभिन्न ६ मध्ये १ ठाउँबाट आफ्नो भिसा र पासपोर्ट सङ्कलन गर्न सक्ने विज्ञप्तिमा भनिएको छ। अनलाइन व्यवस्थाका साथसाथै बिहान ८ बजेदेखि राती ८ बजेसम्म नयाँ कल सेन्टरको समेत व्यवस्था गरिने दूताबासले जनाएको छ। कल सेन्टर निशुल्क हुने भनिएको छ।
यसैबीच डिभी भिसाका सम्बन्धमा दूतावासले अपनाउँदै आइरहेको प्रक्रियामा भने कुनै परिवर्तन नगरिएको बताएको छ।