भनिन्छ- बालबालिकामा भगवान हुन्छ रे। हुन पनि हो, बालचञ्चलता, बाल स्वाभाव, बाल मुस्कान कसलाई मन पर्दैन र? उनीहरुको सपनाको संसार नै छुट्टै हुने गर्छ, यो समाज यहाँको परिस्थितिभन्दा बिल्कुलै फरक। उनीहरुको आश्चर्यमा पार्ने प्रश्नहरु र सबैको अनुहारमा मन्द मुस्कान दिने उत्तरहरु। त्यसैले पनि होला बालबालिका मन नपराउने कमै भेटिन्छन् यो संसारमा।
मलाई अझसम्म पनि याद छ, कक्षा १ को प्रसंग। मिसले सोध्नुभो, 'प्रकाश तिमी भविष्यमा के बन्छौ?'
मैले पनि ठाँटिएर उत्तर दिएँ, 'पाइलट बन्छु मिस।'
यस्तै गरी मेरो कक्षाको साथीहरु कोही डाक्टर, कोही इन्जिनियर बन्छु भनेर आफैँलाई उभ्याएँ। अहिले २० वर्षपछि न त म पाइलट नै बन्न सकेँ, न मेरा सँगैका साथीहरु उनीहरुले भनेजस्तो नै बन्न पाए। सयमा एक या दुईको चाहिँ भनेको पुग्यो होला। अहिले सम्झन्छु, त्यो बालकाल र सपना देख्ने म र मजस्तै धेरै साथीहरु। हामीलाई न कसैलाई तल पार्नु थियो, न कसैलाई पछारेर आफू अघि बढ्नु थियो। हामी त स्वच्छ मनले भविष्यको सुन्दर सपनाहरु देख्ने गर्थ्यौँ। खेल्ने, कुद्ने, पढ्ने र रमाइलोमा नै दिनहरु बित्ने गर्थे।
आजकाल समयको परिवर्तन भनौं या समाजले उब्जाएको बाध्यता। कति बालबालिकाहरु नजानिँदो हिसाबले फसिरहेका छन्। उनीहरुको बाल मस्तिष्कमा नानाथरिका चाहिने नचाहिने कथाहरु भरिएका छन्। कसैको बाल्यकाल सोचेभन्दा राम्रो छ भने कसैको कल्पनामा पनि त्रास उत्पन्न हुने खालको छ। आज भदौ २९ बालदिवसको दिन म अनुरोध गर्न चाहन्छु, यो देशको बालबालिका र तिनीहरुको भविष्यको लागि हाम्रो सरकारमा बसेकाहरुले केही गरुन्, भाषणबाजीमा मात्र बालदिवस नमनाइयोस्। आजको बालबालिका भनेको भोलिको कर्णधारहरु हुन्। उनीहरुलाई बाटो देखाउने काममा सरकारी निकायको पनि ध्यान जावोस्। कोही पनि बालबालिका अब उपरान्त सडकको चिसो पेटीमा सुतेको देख्न नपरोस् र उनीहरुको सुनौलो भविश्यमा कसैले पनि खेलवाड नगरोस्।