चर्चित पत्रकार विजय कुमारको वहुप्रतिक्षित पुस्तक 'खुशी' विमोचन समारोह यथार्थमा खुशी नै खुशी बाँड्ने थलो बन्न पुगेको छ।
उनले आफ्नो जीवनमा सहयोग पुर्याउने सबैको मुग्धकण्ठले प्रशंसा गर्दै आफ्नो तर्फबाट सहयोगको हात पनि फैलाए। त्यति मात्र होइन उनले मदिरामा डुबेर बर्बाद हुन लागेको आफ्नो जीवन यसबाट बाहिर निकाल्न भएका भगिरथ प्रयत्नलाई यसमा समावेश गरेको बताएका छन्।
उनी मदिराबाट मुक्त भएको १० वर्ष भएको छ। मदिराले बर्बाद बनाएका जीवनहरूमा फेरि खुशी फर्काउन आफूले सहयोग गर्ने वाचा उनले गरे।
राजधानीमा शुक्रबार आयोजित पुस्तक विमोचन समारोहमा उनले आफ्नी आमामार्फत् सम्पूर्ण आमाहरूलाई नमन गरे। आफ्ना गुरू नाम्खा रिम्पोछेबाट उनले पुस्तकको विमोचन गराए। गुरूले कुनै अभिव्यक्ति दिएनन्। तिनले मौन अभिव्यक्तिबाटै पुस्तक सार्वजनिक गरिदिए।
पुस्तक लेखन निम्ति एक वर्षसम्म आफूलाई सहयोग गर्ने आफ्ना सहपाठी प्रशिद्ध उद्योगपति/व्यापारी उपेन्द्र महतोलाई भगवान कृष्णलाई सुदामाको कनिकाजस्तै आफ्नो तर्फबाट फूलकुमारी महतो ट्रष्टलाई गरेको सहयोग स्वीकार गर्न आग्रह गरे। उनले पुस्तकबाट आएको रकम आफ्नो तर्फबाट समाजसेवामा लगाइदिन उनले आग्रह गरे।
पत्रकारका रूपमा आफूले सबैको हिसाब माग्ने गरेको प्रशंग उल्लेख गर्दै विजय कुमारले आफ्नो हिसाब पनि अरूका निम्ति सार्वजनिक गरेको बताएका छन्। आफूलाई वौद्ध गुरूहरूसम्म पुग्न सहयोग पुर्याउने याकएण्ड यति होटलका मालिक राधेश्याम सर्राफप्रति कृतज्ञता व्यक्त गरे।
आफूसँग कुनै बेला काम गर्ने थातथलो नभएका बेला सानो कार्यालय स्थापना गर्न सहयोग पुर्याउने उद्योगपति/व्यापारी प्रभाकर शमशेर राणालाई समेत धन्यवाद दिए।
पुस्तक विमोचन समारोहमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता शेरबहादुरद देउवादेखि राप्रपा नेपालका नेता कमल थापा लगायतको उपस्थिति थियो। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालका मन्त्रिपरिषद् उपाध्यक्ष तुलसी गिरी पनि कार्यक्रममा आएका थिए।
विजयकुमारले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र तुलसी गिरीजस्ता दुबै नेतासँगको संगतका प्रशंग कोट्याउँदै भने, 'सत्य विपरीतार्थको बीचमा लुकेको हुन्छ।'
उनीहरू सबैलाई भाषण नगर्ने तर अरुले गरेको भाषण सुन्न आइदिएकोमा पनि उनले धन्यवाद दिन भ्याए। विजयकुमारले एमाओवादी नेता बाबुराम भट्टराईलाई उदृत गर्दै दाहालको उचाइ घटेको बताए पनि सबै नेताभन्दा उनकै अग्लो भएको भन्दै खुशी दिए।
'पहिले म तपाईंसँग ह्वीस्कीका पेगको अपेक्षा गर्थें,' विजयकुमारले आफ्नो विगत कोट्याउँदै देउवातिर फर्केर भने। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई राजनीतिको सट्टा साहित्यमै लागेको भए अझ राम्रो हुन्थ्यो भन्ने सल्लाह पनि दिए। भारतीय, रसियालीलगायनका राजदूतहरूको समेत उपस्थिति रहेको कार्यक्रममा समाजका एकसेएक व्यक्तिहरूको सहभागी भएका थिए।
विजयकुमारले समाजका प्रत्येक व्यक्तिको महत्ता हुने धारणा राख्दै सबै व्यक्तिका कथा उत्तिकै रोचक भएको बताए। उनले पुस्तकबारे बोल्न कांग्रेस नेता एवं चिन्तक प्रदीप गिरीलाई आग्रह गरे। यसअघि कुनै एक लेखकको पुस्तक पढ्दै नपढी समीक्षा गर्न उभिएको प्रशंग उल्लेख गर्दै गिरीले खुशी भने पढेर बोल्न आएको बताए।
विजयकुमारले यशेषणा (नाम), वित्तेषणा (अर्थ) र कामेषणा (काम) प्रतिको मानिसको खोजबारे उल्लेख गरेको प्रशंग उल्लेख गर्दै गिरीले उनको कृतिमा पढ्नका निम्ति प्रेरित गर्ने विषयवस्तु भएको बताए। 'शक्ति नभई विपरीति लिंगी पनि आउँदैनन्,' गिरीले भने।
उद्योगपति/व्यापारी महतोले भगवानले तपाईंलाई सम्पत्ति दिन्छन् भने त्यसबाट आफ्नो जीवन शैलीलाई उच्च बनाउने भन्दा दानको शैलीलाई उच्च बनाउनुपर्ने भनाइबाट प्रेरित भएको उल्लेख गरे। उनले धनी मानिसलाई अब धेरै धनी मानिसहरूको जरुरत भएको बताउँदै भने, 'धनी मानिस सुरक्षित हुन सबै धनी हुनु पर्छ।'
उनले विजय कुमारको पुस्तक खुशीले जसरी आफैंभित्र खुशी खोज्न प्रेरित गरेको प्रशंग उल्लेख गर्दै यो आफैभित्र खोज्न आग्रह गरे। उनले भने, 'खुशी एक्लै पाइँदैन, जति बाँड्यो उति पाइन्छ।'
शास्त्रीय गायिका संगीता प्रधानको सुमधुर स्वरबाट सुरू र अन्त्य भएको कार्यक्रमको संचालन नायिका गौरी मल्लले उत्तिकै मीठो शैलीमा गरेकी थिइँन्। आयोजनाको भव्यता, एकसेएक व्यक्तिको उपस्थितिले सबैलाई खुशी दिएको थियो। लाग्थ्यो, कार्यक्रममा खुशीको संक्रमण भइरहेको छ।
विजयकुमारले आफ्नो पुस्तक हस्ताक्षर गरेर दिएपछि त्यो खुशी सबैका हातहातमा पुगेको छ। पुस्तकको प्रकाशक फाइन प्रिन्टका प्रबन्ध निर्देशक निरज भारीले सबैका निम्ति उपयोगी हुने किताब लेखिदिए बिजयकुमारले गुन लगाएको बताए। उनले प्रकाशनकै क्षेत्रका एउटा खुशीको समाचार प्रवाहित गर्दै भने, 'हामीले पहिलो खेपमै ३५ हजार प्रति छपाएका छौं।'
गायिका संगीता प्रधान।
अग्रपङ्तिमा बसेका पुर्वप्रधानमन्त्रीहरु सहित गुरु नाम्खा रिम्पोछे र भारतीय राजदुत रंजित रे।
विजयकुमार पाण्डे आफ्नो शब्द राख्ने क्रममा।
डा.तुलसी गिरी र निर्वाचन आयोगका प्रमुख निलकण्ठ उप्रेती।
राप्रपा नेपालका अध्यक्ष कमल थापा।
विजयकुमार पाण्डे आफ्नो शब्दहरु राख्ने क्रममा।
उद्योगपति डा.उपेन्द्र महतो आफ्नो शब्दहरु राख्दै।
कार्यक्रममा सहभागीहरु र ताली पिट्दै विजयकुमार पाण्डे।
किताब विमोचन गर्दै विजयकुमार पाण्डे, उनकी आमा र रिम्पोछे गुरु नाम्खा।
आफ्नो किताब हस्ताक्षर गर्दै ।
किताब विमोचन पछाडि चियापान कार्यक्रममा शहभागीहरु।
एस.एस.पी रमेश खरेल।
विजयकुमारको खुसी।