लुम्बिनी अञ्चल अस्पताल बुटवलमा बिरालो आतंक फैलिएको छ। अस्पताल परिसरभित्र बढ्दै गएका बिरालोहरुका कारण अस्पतालका कर्मचारी मात्र नभई अस्पतालमा आउने सेवाग्राहीहरु समेत हैरान पर्न थालेका छन्।
समयसमयमा बिरामी तथा बिरामी कुरुवाहरुको खानेकुरा चोरेर सताउने बिरालोले पछिल्लो समय नवजात शीशुलाई समेत लछारपछार गरेको घटनाले अहिले अस्पतालमा चर्चा पाउने गरेको छ।
तीन दिनअघि अस्पतालमा जन्मिएको नवजात एक शीशुलाई बिरालोले तानेर कोठामा लछारपछार गर्दा समेत अस्पताल कर्मचारी तथा बिरामीका आफन्तले थाहा नपाएपनि अहिले उक्त घटनाले जताजतै चर्चा पाउने गरेको छ।
रुपन्देहीको खैरेनीकी एक महिलाले अस्पतालमा जन्म दिएको उक्त शीशुलाई बिरालोले लछारपछार गरी निधारमा चिथोरेपछि उक्त घटना लुकाउन अस्पतालले हतारहतार महिला र शीशुलाई डिस्चार्ज गरेको थियो।
कम तौलको शीशु जन्म दिएकी ती महिलालाई सुत्केरी पछि अर्कै कोठामा सारिएपनि बच्चालाई आमासंगै सार्न बिर्सदा उक्त घटना हुन पुगेको थियो।
बेडमा एक्लै रहेको उक्त शीशुलाई बिरालोले मुखले तानेर बाहिर लैजादै गरेको अबस्थामा अन्य बिरामीका आफन्तले देखेपछि शीशुको उद्धार गरेका थिए।
कम तौलको उक्त शीशुलाई अन्य उपचारको समेत आवश्यकता भएपनि घटना बाहिर आउने भएपछि अस्पतालले जबरजस्ती डिस्चार्ज गरेको अन्य बिरामीका आफन्तहरुले बताएका छन्।
यस विषयमा बुझ्ने प्रयास गर्दा अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले भने फोन उठाएनन्। अस्पतालको अन्य क्ष्ँेत्रभन्दा प्रशुती भवन वरिपरी बिरालोहरुको बिगबिगी नै फैलिएको छ।
अन्य वार्डमा भन्दा प्रशुती वार्डमा खानेकुराहरु धेरै फालिने तथा सुत्केरी महिलाहरुलाई ल्याएको माछामासु तथा चिल्लो खानेकुरा खान पाउने भएपछि बिरालोहरु अस्पतालमा पल्किएका हुन्।
दर्जनौ बिरालोहरुले दिनप्रतिदिन सताउन थालेपछि अस्पतालले विष प्रयोग गरी बिरालो मार्ने तयारी गरेको बताईएको छ।