चितवन राष्ट्रिय निकुञ्जले पटकपटक गैंडा मारी खाग तस्कर गरेकोमा दोषी ठहर गर्दै ५ जनालाई जरिवानासहित कैद सजाय तोकेको छ। चार जनालाई १ लाख जरिवाना र १५ वर्षको कैद सजाय तोकिएको छ। एक जनालाई भने १४ वर्ष कैद र ५० हजार जरिवाना छ। निकुञ्जले विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो।
चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट विभिन्न समयमा दुर्लभ एक सिंगे गैंडा मारी खाग तस्करी गरेकोमा दोषी ठहर गर्दै निकुञ्जले उनीहरुलाई कैद सजायँ तोकेको निकुञ्जका प्रवक्त टिकाराम पौडेलले जानकारी दिए।
'उनीहरु सबै जेल चलान समेत भएका छन् निकुञ्जका प्रमुख कमलजंग कुँवरको ईजलासले उनीहरुलाई १ लाख जरिवाना र १५ बर्षसम्मको कैद सजायँ भएको हो,' पौडेलले बताए।
यसरी कैद सजायँ पानेहरुमा मकवानपुर वसामाडीका रामशरण विक , सोही ठाउँका शेरवहादुर खाती ,पर्सा वागवानाका ओमनाथ निरौला र हुम्ला सिमिकोटका छिरिंग पाल्दान लामा रहेको निकुञ्जले जनाएको छ। यस्तै अर्का काभ्रे गोकुलेका निमा लामा वाईवालाई भने १४ बर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
उनीहरु मध्ये ४ जनालाई भने तीन वटा मुद्दा लागेको थियो। तीनैवटा मुद्धामा उनीहरु दोषी ठहर भएको निकुञ्जले जनाएको छ। कठारको जिन्दगानी घाटमा रातीको समयमा संकास्पद गतिविधि देखाएपछि पक्राउ परेका शेरवहादुर खातीको बयानको आधारमा अन्यलाई पक्राउ गरिएको थियो।
रामशरण विक र छिरिङलाई काठमाडौमा गैंडाको खुर सहित पक्राउ गरिएको प्रवक्ता पौडेलले वताए। लामाले चिँनिया नागरिक हेनालाई खाग बेचेको उनीहरुको बयानबाट खुलेको निकुञ्जले जनाएको छ। उनीहरु सबै २०६७ सालमा पक्राउ गरी पुर्पक्षका लागि थुनामा थिए।