विदेशी दाताहरुबाट सहयोग जुटाएर २२ वर्षदेखि नेपालका ग्रामीण भेगहरुमा पुस्तकालय तयार पार्दैआएको संस्था ‘रिड नेपाल’ले पहिलोपटक नेपालीहरुकै सहभागितामा तयार भएको पुस्तकालय भवन सञ्चालनका निम्ति प्राप्त गरेको छ । युवा संरक्षणकर्मी रविन्द्र पुरीद्वारा परम्परागत नेपाली वास्तुशिल्पमा पनौतीमा तयार पारिएको पुस्तकालय भवनलाई आइतबार उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । समारोहमा अमेरिकी राजदूत पिटर जे बोड्डेदेखि लिएर लोकप्रिय कलाकार जोडि मदकृष्ण–हरिवंशको समेत उपस्थिति थियो।
‘चार वर्षको अथक प्रयास र सम्पूर्ण पनौतीवासीको सहयोगले हाम्रो स्वाभिमानी योजना सफल भएको छ,’ संस्थाकी नेपालस्थित निर्देशिका संजना श्रेष्ठ भन्छिन्, ‘नेपालीहरु माझबाटै संकलन गरिएको ८० लाख रुपैयाँबाट तयार पारिएको यस भवनमा अर्को ८० लाखका सामग्रीहरु भने रिड नेपालले नै प्रदान गर्नेछ ।’
संस्थाले ४९ वटा केन्द्रहरु तयार पारेपछि बिसौं जन्मोत्सव पारेर ५० औं केन्द्र स्थानीय श्रोतबाटै तयार पार्ने अठोट लिएको थियो । त्यसका निम्ति उनीहरुले ‘नेपालीले सक्छौं’ नाराका साथ अभियानै चलाएका थिए । विभिन्न संघ संगठनदेखि लिएर स्कुले विद्यार्थीसम्मको सहयोग संकलन गरेपछि भवन निर्माणका निम्ति पैसा जुटेको श्रेष्ठ बताउँछिन् । भवन तयार हुन्जेल अन्यत्र थप केन्द्रहरु बन्दै गएकाले यो रिड नेपालको ५८ औं केन्द्र बन्न पुगेको छ ।
स्थानीय वासिन्दाले प्रदान गरेको जग्गामा आफ्नो निःशुल्क सेवासहित भवन तयार हुन दुई वर्ष लागेको पुरी बताउँछन् । भवनमा विभिन्न विधाका पुस्तकबाहेक वाल कक्ष, महिला कक्ष, श्रव्यदृश्य कक्षलगायत छन् ।
‘पनौतीमा सबै उमेरका मान्छेलाई आकर्षित गर्ने महत्वपूर्ण थलो बनेको छ,’ पुरी भन्छन्, ‘त्यसबाहेक यो सहरको मौलिकता कायम राख्ने मेरो अभियानमा अर्को सुन्दर एवं उपयोगी भवन तयार भएको छ ।’
नेपालको शैक्षिक क्षेत्रमा योगदानकै कारण केहि वर्षअघि रिड नेपालले विल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको ‘एक्सेस टु लर्निङ अवार्ड’ समेत पाउन सफलभएको थियो । माइक्रोसफ्टका प्रमुख एवं विश्वकै धनी व्यक्ति मानिने गेट्सले वर्षेनी
विश्वभरिका एक शैक्षिक कार्यक्रमलाई दिने पुरस्कार हो यो । रिड नेपालले अहिलेसम्म मुलुकका ४० वटा जिल्लामा केन्द्रहरुको विस्तार गरिसकेको छ ।
‘नेपालीहरु स्वयं पनि आफ्ना निम्ति केहि गर्न सक्षम छन् भन्ने उदाहरण यसले दिएको छ,’ संस्थाकी अध्यक्ष आन्टोनियो नोएबावरले भनिन्, ‘त्यसमाथि नेपाली लगानीमै नेपाली शैलीको यति सुन्दर भवन उदाहरण बन्न पुगेको छ ।’
संस्थाका कार्यक्रम अधिकृत चिनकाजी श्रेष्ठका अनुसार यसलाई ‘ज्ञान विकास पुस्तकालय’ नाम दिइएको छ । उनका अनुसार पुस्तकालय सोमबारदेखि नियमित सञ्चालनमा आइसकेको छ।