प्राथमिक तहका बालबालिकालाई अध्ययन गराइरहेको एक विद्यालयमै प्रवेश गरी एकजना चिनियाँ युवकले छुरी धसेर तीन बालबालिकाको ज्यान लिएको छ । उसले सो विद्यालयमा प्रवेश गरी अध्ययनरत बालबालिकालाई छुरी धसेको थियो । उसले आठजनालाई तारो बनाएको थियो भने ती मध्ये तीन जनाको ज्यान गएको छ ।
बाँकी पाँच बालबालिका गम्भीर रुपमा घाइते भएका छन् । चेन उपनाम गरेको सो व्यक्ति बालबालिकालाई यसरी हमला गरेपछि आफूले पनि एक अग्लो घरबाट हामफालेर आत्महत्या गरेको बताइएको छ । चीनको मध्य प्रदेश हुबेइको सियानस्थित विद्यालयमा सो हत्याकाण्ड भएको हो । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तीनजना बालबालिका घटनास्थलमै मारिएका छन् ।
सो हत्यापछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सो हत्याराले आफूले उक्त विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न नपाएको कारण विद्यालयमै प्रवेश गरी त्यहाँ अध्ययनरत बालबालिकाको हत्या गरेको पाइएको उल्लेख छ ।
तर सो क्षेत्रको एक स्थानीय टेलिभिजन सियानले दिएको जानकारी अनुसार सो विद्यालयमा तीनभन्दा बढी बालबालिका मारिएको बताएको छ । उक्त टेलिभिजनको ट्वीटर अकाउन्टमा दिइएको सो समाचारमा मारिनेको नाम भने दिइएको छैन । चीनमा छुरी धसेर गर्ने यस्ता हत्याका घटनाहरुमा वृद्धि भइरहेको बताइएको छ । पछिल्ला वर्षहरुमा बालबालिकालाई नै यसरी हत्या गर्ने गरेका घटनामा वृद्धि भइरहेको बताइएको छ । रासस-एएफपी