पाकिस्तानको सरकार विरोधी प्रदर्शन सोमबार थप चर्किएको छ । प्रदर्शनकारीहरुले राजधानी इस्लामावादमा सोमबार काठ, इँटा एवम् ढुङ्गाले प्रहरीमाथि जाइलागेका छन् । उनीहरुले सोमबार बिहानैदेखि सरकार विरोधी नाराबाजी गर्दै निकै आक्रामक रुपमा प्रदर्शन गरेका छन् ।
उता प्रहरीले पनि हिंसात्मक प्रदर्शन गरिरहेका उनीहरुमाथि कारबाही गरेको छ । कारबाहीस्वरुप प्रहरीले रबरका गोली र पानीका फोहरा हानेको जनाएको छ । यसैबीच गएराति मात्र पाकिस्तानको सेनाले सरकार र विपक्षी प्रदर्शनकारीलाई आ–आफ्ना समस्याको समाधान तुरुन्त खोज्न आग्रह गरेको छ ।
सेनाले हालैका दिनमा पाकिस्तानमा जारी रहेको विरोध प्रदर्शनलाई साम्य पार्न तथा आफ्ना राजनीतिक एजेण्डाहरुको समाधान गरी दुरी घटाउन हिजो विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
साथै सेनाले यदि आवश्यक परेको खण्डमा शान्ति सुरक्षाका लागि सेना पनि आफ्नो भूमिका निर्वाह गर्नका लागि तयार रहेको पनि जनाएको छ ।
सेनाको यस अभिव्यक्तिलाई सेना अघि बढ्न खोजेको भनेर पनि विश्लेषण गरिएको छ ।पाकिस्तानमा सेना समय समयमा शासनका लागि अघि बढ्ने भएकोले पनि यस्तो विश्लेषण गर्ने गरिएको हो । प्रदर्शनकारीहरुले पाकिस्तानको राजधानी इस्लामावादमा रहेको पाकिस्तान टिभीको कार्यालयम पनि क्षति पु¥याएका बताइएको छ । उनीहरु सो टिभी स्टेशनमै प्रवेश गरी अवरोध गरेका थिए ।
उनीहरुले त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीलाई टेलिभिजनको सेवा कुनैपनि समयमा अवरोध गरिदिने धम्की पनि दिएका थिए । तर सोमबार अपरान्ह प्रहरीले सो टिभी स्टेशनबाट प्रदर्शनकारीलाई हटाएको जनाएको छ ।
पाकिस्तानमा केही हप्तादेखि सरकारको विरोधमा प्रदर्शन जारी छ । आइतबार मात्र सो प्रदर्शनमा गरिएको प्रहरी हस्तक्षेपमा दुई जना प्रदर्शनकारीको ज्यान गएपछि उनीहरु थप आक्रामक बनेको बताइएको छ ।पाकिस्तानमा तीन हप्तादेखि नै आन्दोलन जारी रहेको छ । विपक्षी दलले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । तर आजसम्म प्रहरी संयमित नै देखिएको बताइएको छ ।
उनीहरुले वर्तमान प्रधानमन्त्री नवाज सरिफको राजिनामाको माग गरिरहेका छन् । सन् २०१३ मा भएको आमनिर्वाचनमा प्रधानमन्त्रीले धाँधली गरेको आरोप उनीमाथि रहेको छ ।
पाकिस्तानमा जारी रहेको सो आन्दोलनमा आइतबार प्रहरी हमला भएकाले आन्दोलन चर्किन पनि सक्ने आशङ्का गरिएको छ । सोमबार त्यसको सङ्केत देखिएको समाचारमा उल्लेख गरिएको छ । रासस-एएफपी