पुल्चोक, चैत ३१– उपत्यकाको सार्वजनिक परिवहनलाई १५ हजार ९ सय ७५ वटा थोत्रा–साँघुरा गाडी र अव्यवसायिक कर्मचारीले भद्रगोल पारिदिएका बेला राजधानीमा फेरि १६ वटा साझा बस चल्न सुरु भएको छ ।
साझा पुनरागमनको समाचार सबैका निम्ति कतिसम्म सुखद थियो भने शनिबार उद्घाटन गर्न आएका मुख्यसचिव लिलामणि पौडेल समारोहमै पग्लिए ।
‘म आज सुटुक्क रत्नपार्क पुगेर सार्वजनिक यातायात चढेरै यता आएँ,’ श्रोतालाई चकित पार्दै उनी भनिरहेका थिए, ‘मुख्यसचिव भएयताका सार्वजनिक कार्यक्रममध्ये आज जत्तिको खुशी कहिल्यै लागेको थिएन ।’
उनले गाउँबाट काठमाडौं आउँदाताका साझा यातायातलाई पहिलो प्राथमिकता दिने गरेको विगत सम्झँदै अहिले मुलुकका सार्वजनिक यातायातले सार्वजनिक चरित्र गुमाएकोमा दुःखमनाउ गरे ।
‘संसारमा कतै पनि बस मालिकले नै बन्द आयोजना गरेको सुन्नुभएको छ ?’ उनी यो प्रश्न सोधेर भर्खर अनुभव गरेको तितो सुनाइरहेका थिए, ‘तर, हामीकहाँ सरकारसँग केही विकल्प छैन भनेर मालिकले नै बस हडताल गराइदिए ।’
सार्वजनिक यातायात भन्नाले सार्वजनिक हितका निम्ति समर्पण गरिएको सेवा बुझिनु पर्नेमा यहाँ कसरी हुन्छ बढी पैसा कमाउने नियत मात्र रहेको आरोप उनले लगाए । ‘आजै म बसेको माइक्रोबस १३ सिटको रहेकोमा २१ जना यात्रु नचढेसम्म चलाउनै मानेन,’ पौडेलको कथन थियो, ‘जबकि हामीले व्यावसायीहरुसँग टिकटदर कायम गर्दा एउटा बसमा सात–आठ जना यात्रीलाई मानक बनाएका हुन्छौं ।’
उद्घाटन कार्यक्रममा साझाका ‘ब्राण्ड एम्बेसडर’ एवं हास्य अभिनेताद्वय मदनकृष्ण र हरिवंशको उपस्थितीले रोचकता थपेको थियो । मञ्चमा बोल्दादेखि लिएर समारोह सकिएपछि साझा चढेर सहर घुम्दासम्मका उनीहरुका गतिविधिले सबैलाई रमाइलो पारेको थियो । हरिवंशले कुनै समयमा गाएको ‘साझा बसमा जो पनि चढ्दछ’ गीतलाई दुवैले बारम्बार गुनगुनाएका थिए । त्यसैगरी मुख्य सचिवलाई टिकट काटेर बसमा चढाउने दायित्व पाएका हरिवंशले बसभित्र पुगिसकेपछि पनि यात्रुहरुसँग पैसा उठाउन छाडेका थिएनन् ।
‘एक समय हामीले ‘बाँदरको हातमा निलो नरिवल भनेको नेपाली जनताको हातमा साझा यातायात हो,’ भनिदिएका थियौं,’ उनीहरु कामना गरिरहेका थिए, ‘यो अब मान्छेको हातमा हरियो नरिवल साबित होस् ।’ साझा यातायातदेखि लिएर नेपाल वायुसेवासम्मलाई ध्वस्त पार्ने राजनीतिज्ञहरुलाई उनीहरुले ‘बाँदरभन्दा पनि चर्को वनमान्छे’ को उपमा दिँदा उपस्थितमा हाँसोको फोहरा छुटेको थियो । नयाँ वर्षको बेला पारेर देशले नै राम्रो उपहार पाएको हरिवंश सुनाइरहेका थिए भने कुनै पनि बहानामा साझालाई ढुंगाले हिर्काउनेहरुको दललाई भोट नदिन मदनकृष्णले आव्हान गरेका थिए ।
२०१८ सालमा साझा सहकारीको स्थापनासँगै सुरु भएको साझा यातायातले प्रारम्भमा थोरै बसबाट सेवा सुरु गरेको थियो । पञ्चायतको अन्तिम समयताका जापान सरकारले ठूलो मात्रामा मित्सुविसी बस सहयोगस्वरुप प्रदान गरेपछि यसको सेवा उपत्यकामा मात्र सीमित नरहेर देशभर विस्तार भएको थियो । उत्कर्षमा पुगेको बेला यसले १ सय ८३ वटासम्म बस सञ्चालन गरेको थियो । त्यतिबेला सञ्चालक समितिमा सहकारीका तर्फबाट न्यून उपस्थितिमात्र गराईु यसलाई सरकारी नियन्त्रणभित्र राखिएको थियो ।
पञ्चायतको अन्त्यसँगै यसमा राजनीतिकरण हावी भएपछि विकृति सुरु भयो । अनावश्यक कर्मचारी नियुक्तिदेखि लिएर महँगा सामानहरु चोरीसमेत हुन थालेपछि दुर्दशा बढ्दै गयो । त्यसमाथि सडकमा बन्द–हड्तालको मुख्य तारो पनि साझा यातायातै भएपछि २०५८ सालदेखि सरकारले यसलाई औपचारिक रूपमै विघटन गरिदिएको थियो ।
यसरी साझा यातायातलाई ठप्पै पार्नुका पछाडि यसले ओगटेको जग्गाको महत्व बढ्नु र त्यसलाई बेचेर लाभ उठाउन खोज्ने शक्ति केन्द्रहरुको उद्देश्य प्रमुख रहेको साझा सहकारी यातायातका अध्यक्ष कनकमणि दीक्षित बताउँछन् ।
दीक्षितका अनुसार थोरै बस लिएर फेरि चल्न थालेको साझा यातायातले धेरै ठूलो चमत्कार गर्न नसके पनि उपत्यकाको सहरी आवागमनलाई व्यवस्थित पार्न सक्दो कोशिस गर्नेछ । यसका निम्ति हाल ठूलो संख्यामा विस्तार भइसकेको निजी क्षेत्रका सार्वजनिक यातायातलाई पनि साथै लिएर अगाडि बढ्ने योजना ल्याइने उनको कथन छ । उपत्यकाको सार्वजनिक यातायातलाई मुख्य रुट र भित्री रुटका रुपमा तोकेर सवारी चलाउँदा अहिलेको भन्दा ट्राफिक समस्या घट्ने र व्यावसायीलाई पनि बढी फाइदा हुने उनी दाबी गर्छन् ।
अहिलेको समस्या उपत्यकाको सडक यातायातमा थोरै मात्र हिस्सा ओगटे पनि सार्वजनिक यातायातका साधनहरु थुप्रै हुनु र स साना आकारका ति साधनले सडक र यात्री दुवैलाई अप्ठेरोमा पारिरहेको बताउने दीक्षितका अनुसार मुख्य रुटमा ठूला बस र भित्री रुटमा माइक्रो र मिनीबस चलाउने हो भने पनि धेरै राहत मिल्नेछ ।
‘राजधानीको आवागमनमा पहिलेदेखि अहिलेसम्मै २६ देखि २७ प्रतिशत भाग मात्र सार्वजनिक यातायातले ओगटिरहेको छ,’ साझाकै सञ्चालक भूषण तुलाधर भन्छन्, ‘जबकि ठूलो संख्यामा बढ्ने मोटरसाइकल र साना कारहरुले सडकको अवस्था झनै जटिल पार्दै लगेको छ ।’
कुनै पनि मुलुक कति सम्पन्न छ भन्ने हेर्नका निम्ति त्यहाँ कतिजनाले कार प्रयोग गर्छन् भन्दा पनि कतिजना धनीहरु सार्वजनिक यातायात चढ्छन् भनेर हेर्नुपर्ने प्रसिद्ध भनाइ उदृत गर्दै तुलाधरले अब यी मोटरसाइकल र कारका सवारीलाई सार्वजनिक यातायातमा तान्नु नै साझाको मुख्य उद्देश्य रहने बताए ।
कार्यक्रमका अर्का वक्ता एवं सहकारीका अध्यक्ष केशव बडालले पूर्ण सहकारी अवधारणामा चल्न नसकेकै कारण यसअघि साझाको बेहाल भएको बताउँदै अब त्यस्तो स्थिति नआउने तर्क प्रस्तुत गरे ।
बस छनौटका क्रममा तीन मुलुकबाट आएको पाँचवटा प्रस्तावमध्ये भारतको टाटा कम्पनी सबैभन्दा उचित देखिएको बताउने अध्यक्ष दीक्षितका अनुसार यात्रीको सुविधालाई ध्यानमा राखेर यसको बडी पनि गोवामा तयार पारेर ल्याइएको हो । साझालाई यसको पुरानै हरियो रंग बाहेक सेतो र क्रिम रंग पनि जाडेर रंग्याउने काम चर्चित कार्टुनिस्ट राजेश केसीले गरेका हुन् । चालकसहित ५५ वटा आरामदायी सिट रहेको यो बसभित्र दुईवटा सिसिटिभि, टेलिभिजन लगायत छन् । त्यसैगरी एयरपोर्ट–कलंकी र लगनखेल–गोंगबु गरेर दुईवटा रुटमा चल्ने यी बसहरुबाट बाटैमा साटफेर गरेर सहुलियत दरमै आफुले चाहेको गन्तब्य पुगिनेगरी ‘ट्रान्सफर’ को सुविधा पनि उपलब्ध गराइएको छ ।
उपत्यकाका सार्वजनिक यातायातले जथाभावी बसमा यात्रु चढाउने र ओह्राल्ने गरेर सबैभन्दा अराजकता प्रदर्शन गरिरहेको बेलामा साझाले अहिलेलाई कम्तीमा बसपार्कमै बस रोक्न थाले पनि धेरै परिवर्तन आउने यसका सञ्चालकहरु बताउँछन् । त्यसबाहेक सकभर विहान पाच बजेदेखि राति ११ बजेसम्मै सेवा दिने उद्देश्य यसले बोकेको छ । यसैगरि यस सेवाले पहिलोपटक उपत्यकाको बस सेवामा महिला सहचालकहरु परिचालन गर्ने भएको छ । त्यसैगरि यहाँका सार्वजनिक सवारीसाधन सञ्चालकले प्रयोगबाट हटाइसकेको टिकट काट्ने प्रचलनलाई पनि यसले पुनर्जीवित पार्ने भएको छ ।
यी बसहरुमा केहि महिनाभित्रै इलेक्ट्रोनिक कार्डका माध्यमबाट पैसा तिर्ने व्यवस्था कायम गर्न अध्ययन भइरहेको जानकारी अध्यक्ष दीक्षितले दिएका छन् । शनिबारको समारोहमा राम्रै संख्यामा उपस्थित ‘ह्वीलचियर’ प्रयोगकर्ताको ध्यान तान्न पनि दीक्षित सफल भएका थिए ।
‘अलिक व्यवहारिक नभएकोले ह्वीलचियर मैत्री बस तत्कालै सञ्चालन गर्न सकिएन,’ उनी भनिरहेका थिए, ‘तर, तीन महिना भित्र हामी तत्कालका निम्ति संभावना हेर्न भए पनि त्यस किसिमको एउटा बस चलाएरै छाड्छौं ।’ यो आश्वासनलाई श्रोताहरुले ठूलो तालीका साथ स्वागत गरेका थिए । दीक्षितका अनुसार उपत्यकामै सबैभन्दा बढी ह्वीलचियर प्रयोगकर्ता रहेको जोरपाटी क्षेत्र र रत्नपार्क जोड्नेगरि उक्त बस सञ्चालन गरिनेछ ।
दिल्ली र ल्हासामा फेरि निरन्तरता
साझा यातायातले कुनै समय उपत्यका, उपत्यकालाई देशभरसँग जोड्नुका साथै अन्तर्राष्ट्रिय सेवा पनि परिचालन गरेको थियो ।
शनिबारको समारोहमै मुख्यसचिव पौडेलले आफु ल्हासामा महावाणिज्यदूत भएका बेला सात वर्षअघि साझालाई राष्ट्रिय झण्डावाहक सवारीका रुपमा त्यहाँसम्म पुग्ने अनुमति दिलाएको सम्झना गरेका थिए । ‘त्यो सामान्य प्राविधिक कारणले अड्किएको छ,’ उनी भनिरहेका थिए, ‘यसलाई फेरि सुरु गरेर साझाको अन्तर्राष्ट्रिय सेवाको छविलाई फेरि जगाउन सकिन्छ ।’
सार्वजनिक यातायातमा सबैभन्दा जटिल उपत्यकाको आवागमनलाई चूनौतीका रुपमा लिएरै यहाँ पहिले हात हालेको र यसको विस्तार गर्दै अन्तर्राष्ट्रिय सेवातर्फ जान आफुहरु प्रतिवद्ध रहेको दीक्षित बताउँछन् ।
प्रकाशित मिति: 2013-04-13 18:04:09