विभिन्न सेक्युरीटी कम्पनीमा आवद्ध सुरक्षागार्डहरुले आर्थिक शोषण भएको गुनासो गरेका छन्।
उनीहरुले सुरक्षागार्ड उपलब्ध गराए वाफत कम्पनीले विभिन्न संघसंस्थाहरुबाट धेरै लिएपनि आफूहरुलाई थोरै दिने गरेको दुखेसो पोखेका छन्।
यसरी आर्थिक शोषणमा परेको गुनासो गर्नेमा विभिन्न बैंक तथा वित्तिय संस्थामा कार्यरत सुरक्षागार्ड रहेका छन्।
कम्पनीले १२ घण्टा काम गर्ने एक सुरक्षागार्डको मासिक तलब कम्तीमा पनि १८ हजारसम्म बुझेर आफूहरुलाई आठ देखि १२ हजारमा भुल्याएको सुरक्षागार्ड सुरेन्द्र भण्डारीले बताए।
उनले बैंक तथा वित्तिय संस्था र कम्पनीले समेत आफूहरुको वास्तविक तलब उल्लेख नगर्ने गरेको बताए।
‘हामीहरु कम्पनीको ठेकेदारी प्रथाले साह्रै अन्यायमा परेका छौं’ उनले भने–‘हाम्रो वास्तविक तलब कति हो भन्ने नै थाहा छैन।’
सेक्युरिटी कम्पनीहरुले बैङ्कसंग ठेक्कापट्टा गरी गार्ड पठाउने गरेका छन्। कैलालीमा लाहुरे, कान्तिपुर, जी फोर एस, गरुड, जी फोर्स, गुरु फोर, काठमाण्डौं र कृष्ण नामका कम्पनीहरुले सुरक्षा गार्ड खटाएका छन्।
सुरक्षागार्डहरुलाई कम्पनीले तलब दिने गरेको छ। १२ घण्टा डयूटी गर्ने आफूलाई १० हजार मात्रै तलब दिने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक जना सुरक्षागार्डले बताए।
‘हाम्रो तलब दैनिक ज्यालादारी मजदुरको भन्दा पनि कम छ’ उनले भने–‘बैङ्कले त एउटा तलब दिएको सुनिन्छ। तर, कम्पनीले थोरै दिएर ठगिरहेका छन्।’
कम्पनीसंग ठेक्कापट्टा गरेर गार्ड राख्नु भन्दा बैङ्कले आफ्नै तवरले करारमा सुरक्षागार्ड राख्दा आफूहरु मर्कामा नपर्ने उनले बताए।
कम्पनीले आठ घण्टा काम गर्ने गार्डको कम्तीमा १२ हजार र १२ घण्टा काम गर्नेको १७ हजार पाँच सय मासिक तलब बुझ्ने गरेको जिल्ला सेक्युरिटी संगठनका अध्यक्ष धनबहादुर चन्दको दाबी छ।
अध्यक्ष चन्दले एक सुरक्षा गार्डबाट कम्पनीहरुले कम्तीमा पनि चार हजारसम्म रुपैयाँ नाफा खाइरहेको दाबी गरे।
‘एक हजारसम्म नाफा लिए पनि हामीलाई कुनै गुनासो छैन’ उनले भने–‘तर, चार हजारसम्म कमिसन लिनु हामीमाथि ठूलो अन्याय हो।’
सुरक्षा गार्डहरुले कम्पनीबाट कम तलब पाउनु त छदैंछ, त्यसैक्रममा उनीहरुले राजनीतिक दललाई समेत मासिक ३० रुपैयाँ लेबी बुझाउनु पर्ने अर्को समस्या छ।
एकीकृत नेकपा माओवादीले सेक्युरिटी कम्पनीहरुलाई दबाव दिएर तीन हजार पाँच सय तलब बृद्धि गर्न लगाएको भन्दै उनीहरुले मासिक ३० रुपैयाँ लेबी बुझाउने गरेको अध्यक्ष चन्दले बताए।
उनले भने–‘किन ढाँट्नु, एमाओवादी पार्टीलाई हामीले मासिक ३० रुपैया लेबी दिइरहेका छौं।’
गरुड सेक्युरिटी कम्पनीमा आवद्ध उनले आफू जानी–जानी न्यून ज्यालामा काम गर्न बाध्य रहेको बताए।
लाहुरे सेक्युरिटी प्रा. लि. धनगढी शाखाका प्रेमसिंह कार्कीले कैलालीमा सुरक्षा गार्डलाई दिइने तलब बारे शाखालाई थाहा नहुने बताए।
सेक्युरिटी कम्पनी तथा बैङ्कहरुले हेड अफिस काठमाण्डौंमै ठेक्कापट्टा गर्ने भएकाले शाखालाई त्यो कुरा जानकारी नहुने गरेको उनको भनाई छ।
‘बैङ्कहरुले सुरक्षा गार्डको तलब हेड अफिसमै पठाउँछन्’ कार्कीले भने–‘उताबाट सुरक्षा गार्डलाई कति रुपैयाँ दिइन्छ, त्यो कुरा हामीलाई थाहा हुदैंन।’
यद्यपि, उनले सुरक्षा गार्डहरुको अढाई लाखसम्मको जीवन बिमा गरिएको बताउँदै लत्ता कपडा र जुत्ता सुबिधा पनि रहेको जानकारी दिए।
सुरक्षा गार्डहरुले बिरामी र सरकारी बिदा उपभोग गर्न पाउनु पर्ने माग गरेका छन्। ठेकेदारी प्रथाका कारण बैङ्कबाट आफूहरुलाई कुनै किसिमको सुविधा नमिल्ने गरेको उनीहरुको गुनासो छ।