तीजको अवसरमा कमला नदी स्नान गर्ने महिलाहरुको भीडमा एक हुल मधेसी महिलाहरु देखेपछि पत्रकारहरुले सोधे 'ओहो तपाईहरु त मधेसी महिला हो, तीज त पहाडे महिलाहरुको पर्व होईन र?’
पत्रकारको प्रश्न पुरा हुनासाथ असनपुर ८ सिरहाकी रीता देवी यादवले प्रतिप्रश्न गरिन्, 'के मधेसी महिलाहरुले पहाडेको पर्व मान्न हुदैन र?’ नजिकै उभिएकी सुमित्रादेवी यादव बोलिन, 'भगवानले पहाडे मधेसी छुट्याउँदैनन् नी!' व्रतालु महिलाहरुको प्रतिप्रश्नमा पत्रकारहरु मुस्कुराउदै अघि बढे।
कमला नदी किनारमा स्नान गरेर पानी अचाउँदै गरेकी एक वृद्ध मधेसी महिलाको तस्विर खिचें। त्यसपछि उनलाई सोधे कति वर्ष भयो तिजको ब्रत लिन थाल्नु भएको?
जवाफमा उनले भनिन्, 'बाबु तिमी जन्मिनु अघि देखि म यो व्रत लिँदैछु।’ वृद्ध थिइन्, धनुषा वीरेन्द्र बजारकी ६५ वर्षीय कलादेवी जयसवाल। उनले यसपटक कमला नदीमा स्नान गरेर जीवनको ५० औं तीज मनाइन्।
कालादेवीको घर राजमार्गको छेउमै छ। जहाँ पहाडे र मधेसी मूलका समुदायहरु सरावरी बसाई छ। कलादेवीले थपिन्, 'हाम्रो गाउँमा तीज ब्रत नलिने मधेसी महिला छैन। जब मधेसी महिलाहरुको पर्व जितिया आउँछ, पहाडे महिलाहरुले पनि ब्रत लिन्छन्।’
सिरहाका बरिष्ट पत्रकार तथा अनुकल्प दैनिकका सम्पादक भन्छन्, 'भिन्न साँस्कृतिकलाई फरक समुदायकाहरुले पनि रुचाउनु सामुदायिक मेलमिलापको उच्चतम अवस्था हो। यो कसैले चेतना बढाएर निर्माण भएको अवस्था होईन। हाम्रो विधितापूर्ण सांस्कृतिक अभ्यासको क्रममा स्वतः बन्दै गएको हो।’
२१ सौं सताव्दीमा समाजको बनौट छासमिसे हुनु नै उत्तम हो– उनले थपे।
कमला नदी स्नान गर्न गएका हरितालिका तीज ब्रत गर्ने महिलाहरुको भीडमा नजर घुमाउँदा मधेसी महिलाहरुको संख्या पनि कम देखिएन। पहाडे मूलका महिलाहरुसंग सरावरी थिए मधेसी महिलाहरु पनि।
नदी स्नानपछि जलको अर्घ दिईरहेकी असनपुर ६ सिरहाकी बेला श्रेष्ठसँग उभिएकी उनैका छिमेकी कुन्ति साह र रुपा यादवले हिजो राती घरमा संगसंगै दर खाएको बताइन्।
भोली रुपा र ककुन्तीको घरमा चौठी पर्वको धुमधाम हुन्छ। सोहीवेला उनीहरुको घरमा खिर र पुरी खान निम्त्याएकी छन्।
पूर्वपश्चिम लोकमार्गको छेउछाउ र सो देखि उत्तर चुरेसम्मको भूभागमा पहाडे र मधेसी मूलका समुदायहरुको छासमिस बसोवास छ। यस क्षेत्रमा दुवै समुदाय विचको संस्कृति आदान प्रदानले सामुदायिक सदभावहरुलाई सुमधुर बनाएको छ।
सन्हैठा घर भई हाल लहानमा बस्दै आएकी सिबोदेवी यादब भन्छिन्, 'तीजमा मधेसी महिला र जितियामा पहाडे महिलाहरुको उपस्थितिले छासमिस भएर बसेका समुदायहरु बीच साँस्कृतिक अन्तरघुलनको विशिष्ट सामाजिक परीवेश निर्माण भएको छ।’