प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा भारतले ४ करोड ७७ लाख ३९ हजार रुपैयासहयोग प्रदान गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा नेपालकालागि भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम उल्लेखित चेक हस्तान्तरण गरे।
कार्यक्रममा भारतीय राजदूत रेले हालैको बाढी पहिरोबाट पीडितहरुलाई राहत र पुनस्थापनाका लागि नेपाल सरकारले थालेका काममा सघाउन भारत सरकारका तर्फबाट सो रकम प्रदान गरिएको बताए।
उनले सीमाभित्रमात्र सिमित नहुने प्राकृतिक प्रकोप जस्ता विपत्तिबाट नागरिकहरुलाई जोगाउन र प्रकोप रोकथाम तथा क्षति हटाउन भारत नेपालसंग निकट रही थप समन्वयका साथ निरन्तर काम गर्न प्रतिबद्ध रहेको पनि बताए।
सो अवसरमा नेपालमा आएको प्राकृतिक विपत्तिबाट पीडितहरुको राहत र पुनस्थापना कार्यमा उदारतापूर्वक सहयोग गरेकोमा प्रधानमन्त्री कोइरालाले राजदूत रे र उनी मार्फत भारत सरकारलाई धन्यबाद दिए।