विश्वबन्धु थापा, प्रथम अध्यक्ष, साझा यातायात
साझा यातायातको अवधारणा कसरी सुरु भएको थियो ?
त्यो समयमा यहाँ बसको व्यवस्था थिएन । २०१८ सालतिरको कुरा । म आफैं पनि पैदल हिँड्ने मान्छे थिएँ । अरुको दुःख पनि बुझ्थेँ । उता भारततिर गएका बखत सार्वजनिक बसमा चढेर मान्छे हिँडेको देख्थेँ । त्यस्तो त यहाँ पनि गर्न सकिन्छ भन्ने हाम्रो मनमा आयो । त्यही हिसाबले सुरु ग¥यौं र नाम पनि साझा राख्यौं ।
साझा नाम किन राख्नुभएको ?
यो सबैको हो भन्ने धारणा हामीमा जुन थियो, त्यो सबै नेपालीमा पनि सजिलै पुगोस् भनेरै नाम छनौट गर्दा सबैभन्दा उपयुक्त साझा नै लाग्यो । नेपाली मात्रले प्रयोग गर्ने यो शब्द कति राम्रो छ । ‘साझा,’ सुन्दै रमाइलो लाग्ने । त्यसैले नाम पनि साझा राख्यौं ।
तपाईं नेपालमै सहकारी अभियानको अगुवा हुनुहुन्छ । सहकारीको पहिलो अवधारणा नै साझा यातायातबाट भएको हो र ?
साझाको पहिलो सेवा चाहिँ साझा यातायातै हो । साझा भनेर खोल्ने बित्तिकै साझा यातायात आएको हो । पछि सँगसँगैजस्तो साझा भण्डार, साझा प्रकाशन, साझा स्वास्थ्य सेवा पनि आयो ।
साझा बसको निम्ति त्यतिबेला के के गर्नुभएको थियो ? बस कसरी ल्याउनुभयो ?
सुरुमा त हामीले त्यही ४–५ वटा बस ल्याएका थियौं । भारततिरबाटै । काम गर्दै जाँदा थपिँदै गयो ।
त्यो समयमा पहिलोपटक बस चलाउँदा अप्ठेरो परेन ?
त्यो बेला त अप्ठेरो पर्ने नै भयो नि । सबैभन्दा त ड्राइभरै फेला नपर्ने । न गतिलो बाटो । जताततै सानो र साँघुरो मात्र । भनेजस्तो कण्डक्टर नै नपाइने । बसपार्कको कुनै नाम निशाना नभएको बेलामा हामीले रानी जगदम्बाबाट यो जग्गा (अहिले साझा यातायात रहेको) पाउँदा केही राहत भयो । त्यसपछि बल्ल यहाँबाटै बस सुरु भएर यही आएर बिसाउने ठाउँ तय भयो ।
कसरी यी सबै व्यवस्था गर्नुभयो त ?
कण्डक्टरको समस्या समाधान गर्न मैले त्यतिबेला पढाइमा लागिरहेका धेरै विद्यार्थीलाई रोजगारीको अवसर दिएँ । त्यतिबेलाका कण्डक्टरमध्येकै एक पूर्वमन्त्री क्षेत्रप्रताप अधिकारी पनि हुन् । मैले समय दिएर उनीहरुलाई सिकाएँ । ड्राइभरका निम्ति भने खोजी गरेपछि केही पुराना मान्छे भेटिए ।
त्यो बेलाको संघर्षमध्ये अहिले पनि सम्झनामा रहिरहेको केही छ कि ?
अरु संघर्ष त खासै केही थिएन । बेला बेलामा पुलिसले दुःख दिन्थे । त्यो पनि अरुथोक केही नभएर उही ड्राइभर र पुलिसको झगडा भइरहने । सबको आनीबानी त फेरि जहिले पनि उही हो नि ! त्यतिबेला फेरि म आफैं गृहमन्त्री पनि थिएँ । त्यसैले म उनीहरुलाई हरेक कुरा बिस्तारमा सम्झाउँथे । यातायातको सुविधा भित्रिएपछि त्यसले कहिँ न कहिँ केही न केही त गरिहाल्छ भनेर बुझाउँथे ।
तपाईंहरुले यसरी सुरु गरेको साझा बस तपाईंकै विचारमा बन्द चाहिँ किन भयो होला ?
व्यवस्थापन राम्रो नभएर । जसरी अहिले राजनीतिको हालत बिग्रेको छ, यसको पनि त्यतिबेला त्यहि हालत भएको हो । फेरि त्यो बेला त मन्त्रीबाटै कन्ट्रोल हुने सिस्टम थियो ।
अब चाहिँ तपाईंलाई कस्तो लागिरहेको छ, के होला यसको भविष्य ?
हेर्दै जाऊँ । अहिल्यै भविष्यवाणी गर्ने बेला भइसकेको छैन । मलाई जहाँसम्म लाग्छ राम्रै होला ।
साझाले आम नेपालीबाट कसरी यत्रो प्रेम र विश्वास आर्जन गर्न सक्यो ?
उहिलेदेखि आजसम्म साझा सबैको हो । यो सबैको आफ्नै हो । आफ्नो भएपछि माया लागिहाल्छ ।