मंगलबारसाँझदेखिको अविरल वर्षा र चट्याङका कारण स्याङ्जामा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । वर्षाका कारण पहिरोले पुरिएर मृत्यु हुनेमा पुतलीबजार नगरपालिका–९ की उर्मिला साह र चट्याङबाट मृत्यु हुनेमा मग्याम चिसापानी गाविस–७ की डिलमाया गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यसैगरी घाइते हुनेमा ५२ वर्षीय भद्रबहादुर साह, २९ वर्षीय लब्धे साह, १९ वर्षीय अमृत साह र १४ वर्षीय सुजन साह रहेका छन् । अविरल वर्षाले स्याङ्जाका विभिन्न स्थानका छवटा घरगोठ बगाएको छ भने सयौँ रोपनी जग्गा डुबानमा परेको छ । दहथुम गाविसस्थित बयरघारी बजार र वालिङ नगरपालिकामा नवनिर्मित पतञ्जली योग शिविर केन्द्र पनि पानीको डुबानमा परेको बताइएको छ ।
वर्षाले पुतलीबजार नगरपालिका–४ स्थित वाडखोलाकी धनकुमारी थापा र अर्जुनचौपारी बजारका रुद्रबहादुर जोगी माइलाको घर बगाएको छ भने बेकमबहादुर कार्कीको गोठ बगाउँदा एउटा भैसी मरेको छ । यसैगरी, पेलाकोट गाविसस्थित तल्लो गल्याङमा रहेको पक्की पुल र पौवेगौडे गाविसमा रहेको पुल जोखिममा परेको छ । आँधीखोला किनारमा रहेको बङ्गुरको खोर बगाउँदा आठवटा बङ्गुर र अरौँदी खोलाको छेउको पोल्ट्री फारम बगाउँदा हजारौँ कुखुरा बगाएको प्रहरीले जनाएको छ । रासस