लगातारको वर्षाका कारण माथिबाट खसेको पहिरोले घर पुरिँदा एकै घरका चार जना बेपत्ता भएका छन् । कुश्मा नगरपालिका– १८ पकुवाका हरिलाल चापागार्इंको घर पुरिँदा उनकी श्रीमती ५८ वर्षीया पुतली, तीजमा माइत आएकी छोरी २६ वर्षीया जमुना पौडेल र उनकी छोरा र छोरी पुरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बिहान ७ बजेको समयमा घरमाथिको राम्चेको डाँडो खसेर घर पुरिएकाले उनीहरु बेपत्ता भएका हुन् । गाउँलेले पहिरो पन्छाएर श्रीमती पुतलीको उद्धारको प्रयास गरिरहेका छन् । उनी जिउँदै रहेकाले पहिरो हटाएर निकाल्ने प्रयास भइरहेको उद्धारमा संलग्न सुरेन्द्र गौतमले जानकारी दिए । बाँकी तीन जनाको अवस्था भने अज्ञात छ । उद्धारका लागि चण्डिका सशस्त्र प्रहरी गण कुुस्मा र जिल्ला प्रहरी कार्यालय पर्वतबाट त्यसतर्फ टोली हिँडेको छ ।रासस