बर्दिया पटनाह गाविस २ की १८ वर्षीया रुबी थारुको गर्भको महिना पुग्न लागेको थियो। त्यसका लागि घरमा कुखुरा लगायत खान्कीको जोहो गरिएको थियो।
साउन ३० गतेे राती बबई नदी उर्लेर आयो। भागाभाग भयो। सासुको सहयोगले उनी घर नजिकैको जंगलतिर भागिन्। मचानमा चढेर ज्यान जोगाउन सफल भईन।
हेर्दाहेर्दे बाढीले गाँउ सोत्तर पार्यो। घर, अन्नपात, ओढ्ने ओछ्याउने सबै बिलायो। रुबीको घरको पनि नामोनिसान रहेन।
त्यसयता रुबी पटनाहको एउटा स्कूलमा सेल्टर लिएर बसिन्।
भदौं ३ मा उनलाई सुत्केरी व्यथा लाग्योे। आफन्त र सेल्टरमा बसेकाले उनलाई स्थानीय स्वास्थ्थ चौकी लगे।
रुबी तीन केजीको छोरोको आमा बनिन्। बाढीले गर्दा उनका पति कोहलपुरमा छोरो हेर्न आउन सकेका छैनन्। रुबीले सुत्केरीको स्याहार र खुराक पाएकी छैनन्। खान्की राम्रो नभएछि दुध पनि आएको छैन। बच्चा अघाउन पाएको छैन।
सिडिओ कार्यालयले उनलाई भाडाकुडा र चामल, दाल र तेल दिएको छ। भिजेर हस्स गन्हाउने चामल रुच्दैन। विस्कुट, चाउचाउमा भोक टार्छिन्।
बस्ने ठाँउको अभाव छ, रातभर लामखुट्टेले सुत्न दिँदैन। पिउनलाई स्वच्छ पानी छैन। एक जोर बाहेक अन्य लुगा छैन।
रुबी त एउटी प्रतिनिधि पात्र मात्र हुन्। बर्दियामा रहेका ४२ वटा सेल्टरमा हरेकमा ३ देखि ५ जनासम्म गर्भवती महिला छन्। सबैतिर गरेर पन्ध्र जना भर्खरका सुत्केरी छन्।
उनीहरुको हालत निकै नाजुक रहेको ओमन चाइल्ड डेभलपमेन्ट बर्दियाकी प्रमुख साबित्रा साहले सेतोपाटीलाई जानकारी दिईन। ओमन चाइल्ड डेभलपमेन्टले गर्भवती र सुत्केरी महिलालाई विशेष प्राथमिकतामा राखेको उनले बताईन।
तत्काल सुत्केरी भएकालाई मूख्य प्राथमिकता, त्यसपछि सुत्केरी भएको २ महिना भएकालाई आफूहरुले सहयोग गरिरहेको उनले बताईन। सुत्केरी भएका महिला र बच्चालाई पौष्टिक आहारका लागि भिटामिन पनि वितरण गरिहेको उनले सुनाईन।
गर्भवती महिलालाई लामखुट्टेले टोक्ने गरेको कारण आफूहरुले झुल पनि वितरण उनले बताइन। ओमन चाइल्ड डेभलपमेन्टलाई सेभ द चिल्ड्रेन र युनिसेफले सहयोग गरेको छ। बर्दियामा बाढीले सबैतिरको अवस्था तहसनहस पारेका कारण कतिपय स्थानमा सहयोग पुरयाउन नसकेको भन्दै उनले गुनासो गरिन।
गर्भवती र अन्य बाढी पीडितहरुको अवस्था नाजुक भएको र समयमै ध्यान दिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको उनले बताईन। बाढीका कारण बर्दियामा आइतबार साँझसम्म्ा २९ जनाको शव भेटिएको प्रहरी प्रमुख एसपी वीरेन्द्रकुमार बस्यालले बताए।
उनका अनुसार अझै १६ जना वेपत्ता छन्। उनका कारण स्थानीय र केन्द्रबाट संकलन भएका राहत सबै पीडितसामु पुर्याइएको छ।
गर्भवती महिलालाई विशेष ध्यान राखेको र उनीहरुलाई अस्पताल लैजान एम्बुलेन्स तैनाथ गरी राखेको जानकारी दिए।
उनले गर्भवती महिलाबारे तथ्थांक संकलन गर्ने काम भइरहेको र जिल्ला दैवी प्रकोप उद्धार समितिले पनि उनीहरुलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल गरिहेको बताए।
बाढीका कारण वर्दियामा ८० हजार ८ सय ६० जना प्रभावित भएको प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेलले बताए।
उनले पीडितहरुलाई विभिन्न ४२ वटा विद्यालयमा सेल्टरमा राखेको बताए। हामीले गर्भवति र सुत्केरी भएका महिलाहरुसहित सबै बाढीपीडितलाई सहयोगका लागि सक्दो प्रयास गरेका छौं, उनले भने हामीले खानाका लागि चामल, दात तेल र खानेकुरा पकाउने सामग्रीमा बाड्न कन्जुस्याँइ गरेका छैनौ ।