१६ महिनादेखि रिक्त रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टार पदमा करोडको चलखेल सुरु भएको छ । प्रतिष्ठान स्रोतका अनुसार रजिष्टार पदमा ३ देखि ५ करोडसम्मको चलखेल सुरु भएको हो ।
नियुक्ति हुन ढिलाई हुँदा पदका आकांक्षीहरुले व्यापारी तथा नेताको साहारा लिइरहेका छन् । गत २०७० जेठ १८ गते रजिष्टार नन्दकुमार थापाको कार्याकाल सकिएपको थियो । तर, १६ महिना बित्दा पनि रिक्त पद पूर्ति नहुँदा अस्पतालका प्रमुखहरुको काँधमा दोहोरो जिम्मेवारी थपिएको छ ।
रजिष्टार अस्पतालको कार्यकारीणी सचिवसम्मको पदीय दायित्व भएकाले पनि रजिष्टार नहुँदा अस्पताल निर्देशक, उपकुलपतिले त्यो जिम्मेवारी सम्हाल्नु परिरहेको छ । ‘उहाँ नहुँदा महत्वपूर्ण निर्णयहरुमा कि अस्पताल निर्देशक कि उपकुलपतिले नै जिम्मेवारी बहन गर्नुपर्छ ।’ डेपुटि रजिष्टार अमित श्रीवास्तले भन्छन् । रजिष्टारको लाइनमासमेत नाम सुनिएका अमितले भने आफू दौडमै नभएको र रकम चलखेल बारे अनभिज्ञता प्रकट गरे ।
उपकुलपतिको सिफारिसमा स्वास्थ्यमन्त्रीले नियुक्ति गर्ने प्रावधान हुन्छ । स्वास्थ्यमन्त्री खगराज अधिकारीले हालसम्म पनि सिफारिस नआइपुगेको फोनमार्फत बताए । उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासले पनि सिफारिस पठाइनसकेको बताए ।
रजिष्टार थापाको कार्यकाल सकिएसँगै चुनावी सरकारका स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले गत भदौंमा खुल्लाबाट रजिष्टार ल्याउनका लागि विज्ञापन जारी गरेका थिए । विज्ञापनमार्फत २२ जना प्रतिस्पर्धी थिए । जसको मंसिर १ र २ मा अन्तरवार्तासमेत भएको थियो । तर, दोस्रो संविधान सभाको चुनावबाट नयाँ सरकार गठन भएलगत्तै उनको कार्यकाल सकिएपछि त्यो पनि रद्द गरिएको थियो । स्वास्थ्यमन्त्री अधिकारीले पनि पुरानो रद्द भइसकेको जनाए ।
त्यसबेला रजिष्टारको लाइनमा धरानबाट प्राध्यापक राजेन्द्र शर्मा, टियुको पूर्व डिन बद्रीनाथ श्रेष्ठ, नाष्टको पूर्व सदस्य सचिव डा. दिलीप सुब्बा, पूर्व सचिव राम लम्साल, बीपीको पूर्व फाइनान्स मेनेजर श्रीरामकुमार उपाध्याय, बीपी फरेन्सिक विभागको विभागीय प्रमुख विएन यादवलगायत २२ स्पर्धामा थिए ।
अहिले फेरि रजिष्टार पदमा नयाँ आकांक्षीहरुको नाम सार्वजनिक भइरहेको छ । स्रोतका अनुसार नयाँहरुमा प्रतिष्ठानका एकाउण्ट सेक्सनका डेपुटि मेनेजर दिनेशराज दाहाल, फरेन्सिक विभागका विभागीय प्रमुख यादव, प्रशुति विभागको एसोसिएट प्रा.डा. मोहनचन्द्र रेग्मी र निर्वतमान सहायक अस्पताल निर्देशक डा. गुरु खनाल छन् भने बाहिरबाट विदुर सुवेदी, शिक्षक प्रदीप भण्डारी छन् । विदुर र प्रदीप एमाले निकट मानिन्छन् ।
प्रतिष्ठान स्रोतका अनुसार कतिपयले आर्थिक प्रभाव पार्न खोज्दै नियुक्त लिन खोजिरहेका छन् भने कतिपयले सोर्सफोर्सका बलमा नियुक्ति लिने प्रयासमा छन् । तर, स्वास्थ्यमन्त्री अधिकारीले आफूलाई कसैले पनि आर्थिक प्रलोभन तथा सोर्सफोस नलगाएको बताए । ‘आर्थिक कुरा जस्ले गरेका हुन् उनैले जानुन् ।’ उनले फोनमा भने ।
माथि आएका नाम मध्ये पनि अग्रपंक्तिमा रेग्मी, दाहाल र विदुर छन् । यस विषयमा दाहाल आफैले पनि पुष्टि गर्दै भने ‘अहिले मन्त्रीको टेवलमा जाने नामहरु यिनै सुनिएको छ ।’ उनले आर्थिक चलखेलको विषयमा आफू अनभिज्ञ रहेको दाबी गरे । डा. खनाललाई प्रतिष्ठानको एउटा सर्कलले विश्वास गरेको देखिन्छ । तर, उनलाई उपकुलपति दासले उनलाई सिफारिस गर्ने अवस्था नदेखिने जानकार बताउँछन् । त्यस्तै बिएन् पनि आकांक्षी हुन् तर, उनको पनि बाधक उपकुलपति नै हुन् । यस विषयमा विएन पनि स्वीकार्छन् । ‘म भ्रष्टाचार विरोधी हुँ त्यसैले उहाँले मलाई त्यहाँ लग्नुहुन्न ।’ उनले भने ।
विएन भने रजिष्टारको लागि ३ करोडसम्म खर्चिने बताउँदै आएको स्रोतको दाबी छ । तर, विएन त्यसलाई सिधै नर्कार्छन् । उनी भन्छन् ‘त्यो बेकार हल्ला हो ।’ तपाई दुई तिन करोड भन्नुहुन्छ म २–३ लाख पनि दिन सक्दिन् ।’ प्रदीप भण्डारीको विपीको नियमावली अनुसार योग्यतामा प्रश्न चिन्ह उठेकाले पनि यो सन्दर्भमा एमाले समर्थकहरुले रेग्मीलाई सहयोग गर्ने अवस्थामा रहेको बुझिएको छ ।
रेग्मीको काठमाडौंसम्मै राम्रो भएको र स्वच्छ छवीका व्यक्ति भएकाले पनि उनको सम्भावना पनि उत्तिकै देखिन्छ । उनका प्रत्यासी दाहाल नै पनि रेग्मीको प्रवल सम्भावना देखेका छन् । दाहाल कांग्रेस निकट र कर्मचारीहरुको पनि सहयोग भइरहेकाले पनि उनको पनि सम्भावना उत्तिकै बलियो देखेका छन् । उनलाई व्यापारीहरुले पनि समर्थन गरेको स्रोत बताउँछ ।
तर, त्यो सवै निराधार हल्ला भएको दाहालले दाबी गरे । उनी आफैले पनि व्यापारीले सहयोग गर्ने हल्ला सुनेको स्वीकारे । एक महिना अघि कर्मचारी कल्याण समाजले पनि वरिष्ठ कर्मचारीहरु मध्येबाट पदाधिकारी चयन गर्नु पर्ने भन्दै उपकुलपतिमार्फत् स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्रसमेत दिएका थिए । निवर्तमान अस्पताल सहायक निर्देशक डा. गुरु खनाल पनि भित्री रुपमा लागिरहेको बुझिएको छ । ‘ज्यानै दिएर लागेको त होइन् । तर, साथीहरु अनुरोध गरेको आधारमा लाइनमा छु ।, उनी भन्छन् । तर, म ‘सम्भावना देख्दिन ।’
एक उच्च अधिकारीले नै पनि पदमा चलखेल हुने कुरालाई स्वीकार्छन् । यस अघि नै पनि आफूलाई प्रस्ताव आएको तर, रकम तिर्न नसक्ने जनाएपछि अर्कैलाई नियुक्ति गरिएको बताउँछन् । ती अधिकारी भन्छन् ‘आजकाल चलखेल विना हाम्रो देश चल्दैन । चलखेल चाही हुन्छ, तर, तीन करोडको हुन्छ, यो कुरा म चाही मान्दिन् ।’
प्राडा. दासले करोडको हल्ला निराधार रहेको बताए । उनले पत्रकारहरु यस्तो हावाका पछि नकुद्नका लागि पनि उनले आग्रह गर्दै चाडै नियुक्ती हुने भएकाले ढुक्क रहन आग्रह गरे । उनले माथिका नामहरु रजिष्टारको लाइनमा भएको हुन सक्ने तर, आफू कहाँ कुनै पनि नआएको बताए । उनले दोहोरो जिम्मेवारी आएको कुरा स्वीकारे । ‘जिम्मेवारी लिएपछि दोहोरो तेहोरो त भइहाल्छ ।, उनले भने ।