जिल्लाको टाक्सिन्दु–२ स्थित यापेल सामुदायिक वनमा बिहीबार दिउँसोदेखि सुरु भएको आगलागी अझै नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणका लागि प्रहरी स्थानीयवासीलगायत अन्यले दिनरात प्रयास गरिरहेको भएपनि आगलागी अझै नियन्त्रणमा लिन नसकिएको सामुदायिक वन उपभोक्ता समूहका सचिव सोनाम शेर्पाले बताए ।
आगलागीबाट अहिलेसम्म ठूलो वनक्षेत्र जलेर नष्ट भइसकेको शेर्पाले बताए । आगलागी नियन्त्रण हुनुको साटो यसले झन विकराल रुप लिइरहेको छ। सल्ला जातिको रूख बढी भएको त्यस वनमा अहिलेसम्म २० किलोमिटरभन्दा बढी क्षेत्रफलमा आगो फैलिसकेको प्रहरीले जनाएको छ।
आगलागी बढ्दै जाँदा छिमेकी दूधकुण्ड सामुदायिक वनक्षेत्रमा पनि आगो फैलने त्रास बढेको छ। अहिले नै वनक्षेत्रका बीचमा आगलागी भएकाले यही रुपमा आगलागी फैलँदै गए बस्तीसमेत भेट्ने खतरा रहेको छ।
आगो निभाउन थप जनशक्ति आवश्यक रहेको भन्दै यापेल सामुदायिक वन उपभोक्ता समूहले सहयोगका लागि अपिल गरेको छ।