जिल्लालाई खुल्ला दिसामुक्त बनाउन अभियान सञ्चालन गरिएपनि शिक्षक, सङ्घसंस्था र सामुदायिक वन समूहका पदाधिकारीकै घरमा शौचालय नहुनुले अभियान सफल हुनुमा चुनौती थपेको छ ।
दानाबारीमा भर्खरै सञ्चालन गरिएको वडास्तरीय तथ्याङ्क अध्यावधिक, खुला दिसामुक्त अभियानसम्बन्धी अन्तरक्रिया र शौचालय अनुगमनका क्रममा शिक्षक, कर्मचारीकै घरमा शौचालय नहुनुले जिल्ला विकास समितिले भदौ महिनासम्ममा जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानमा चुनौती थपेको हो ।
दानाबारीका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न निकायमा कार्यरत कर्मचारीलगायत बुद्धिजीवीका घरमा समेत शौचालय नभएको पाइएको जिविसको अनुगमन टोलीले जनाएको छ ।
टोलीका अनुसार दानाबारी–१ स्थित शिशुसेवा निम्न माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका मनमाया कटवाल (गौतम) र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विमला लिम्वुको घरमा मापदण्डयुक्त शौचालय छैन ।
दानाबारी–७ स्थित चन्द्रज्योति प्राथमिक विद्यालयका कर्मचारी धनीलाल दनुवार, दानाबारी–८ स्थित भगवतीसिद्ध प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यापकसमेत रहेका शिक्षक छत्रबहादुर श्रेष्ठ र सोही विद्यालयका पूर्व विव्यस अध्यक्ष पूर्णबहादुर बस्नेतको घरमा समेत मापदण्डयुक्त शौचालय छैन ।
सपना सामुदायिक वन समूह दानाबारी–४ का अध्यक्ष बुद्धवीर एक्तेन, पशुपति सामुदायिक वन समूहका उपाध्यक्ष विनोद थापामगर, कर्मचारी डम्बरबहादुर सारू मगर र प्रगति नमुना सामुदायिक वन समूहका सचिव तुलसी गिरीको घरमा मापदण्डयुक्त शौचालय नभएको टोलीले जनाएको छ ।
सरकारी पदमा बसेका र सामाजिक नेतृत्वकर्ताहरूले नै शौचालय नबनाएकाले अभियानमा चुनौती थपिएको सामाजिक परिचालक यशोदा कार्की छन् । शौचालय निर्माणका लागि सामग्री बाँडिएपनि स्थानीयलाई शौचालय निमार्णमा आफ्नो लगानी नहुँदा जिम्मेवारी बोध नभएर अभियान सफल हुन नसकेको अनुगमन समिति संयोजक हरि असिमले बताए ।
सीम नेपाल आयोजना र गाविसले यहाँका ४५७ अति विपन्न घरपरिवालाई सिमेन्ट र प्यान वितरण गरेको थियो । सीम नेपालले ३५० घरपरिवारलाई दुई बोरा सिमेन्ट र एक थान प्यानका दरले उपलब्ध गराएको थियो । जिविसले अभियानलाई सफल पार्न जिल्ला सहजकर्ता र थप एक सामाजिक परिचालकलाई सो गाविसमा खटाएको स्थानीय विकास अधिकारी मदन कोइरालाले बताए । रासस