जुम्ला, चैत ३१ चन्दननाथ गाविस र महत गाँउमा बिस्तार हुँदै गरेको नयाँ जुम्लामा यत्र तत्र सडक कोरिएका छन। ती सडकमा अहिले पनि ट्रयाक्टरकै राज छ भने दोस्रो नम्बरमा बाईकहरुको दबदबा छ।
प्रहरी र प्रशासन र केही गैससहरूसँग रहेका जीप बिरलै देखिन्छन यो हिमाली सदरमुकामको सडकमा तर स्थानिय ललितजंग महतको फुच्चे स्यान्ट्रो कार जब बजारमा निस्कन्छ मानिसहरू विस्मय साथ हेर्ने गर्छन्।
२०६३ साल चैत ३० गते आधिकारीक रुपमा जुम्ला राष्ट्रिय सडक सञ्जालमा अटाएको हो त्यस यता काठमाण्डौ हुँदै चार दिनमा जुम्ला टेक्ने महतको 'स्यान्ट्रो जीङ' पहिलो हो। हुनत होटेल व्यवसाय गरेर बसेका महतलाई जुम्ला भित्र पहिलो सार्वजनिक मिनीबस चलाउने श्रेय पनि स्थानियले दिएका छन्। तर ट्रयाक्टरका भीमकाय टायरले खाल्डै खाल्डा पारेको कर्णाली राजमार्गमा गुडाएरै कार पुगाउनु कुनै चुनौति भन्दा कम थिएन।
मात्र पन्ध्र दिन अघि दैलेखमा होली मनाएर चैत १५ गते जुम्ला टेकेको स्याण्ट्रोले अहिले सानो सदरमुकाममा ठुलै चर्चा पाएको छ।
स्थानिय बजारमा एक सय ७५ रूपैयाँको पेट्रोल हालेर हुँइकीने यो कार यहाँ पुग्नु अघिका घटना पनि रोमाञ्चक नै छन्। काठमाडौं गएका बेला रहरैरहरमा १८ लाखमा साथी सँग किनेको स्याण्ट्रोमा तेस्रो दिन दैलेखको शाही गाँउमा स्थानिय कर्णाली पेट्रोल पम्पमा तेल भराउँदा व्यवसायीले डिजेल हाली दिएको महतले केही पर पुग्दा मात्र चाल पाएर फर्किनु परेको थियो।
पम्प व्यवसायीले अहिलेसम्म कुनै गाडीमा पेट्रोल नभरेकाले गल्ती भएको स्वीकार गरे पछि कार कोल्टे पारेर सबै तेल निकाल्नु परेको थियो। शाहि गाँउबाटै कर्णाली राजमार्गलाई जुम्ला सम्म जोड्ने जीम्मा नेपाली सेनाको हातमा परेको थियो। जुम्ला सुर्खेत दुई सय ३३ किलोमीटर लामो रहेको यो राजमार्गमा राती सवारी साधन चलाउन मनाही गरिएको छ।
महतको कारलाई भने उनका काठमाडौं सरेका स्थानिय साथी घनश्याम खडका चार दिनमा सजिलै जुम्ला पुगाएका थिए।'मेरो हात सफा थिएन तर साथीले भने कुनै क्षति बिना नै कार यहाँ पुगाई छाडे',महतले भने।
कार जुम्ला पुग्दा भएको क्षति भनेको चारवटै टायर भने काम नलाग्ने भएका थिए जुन पहिले नै अनुमान गरी नयाँ टायर ल्याएकाले यहाँ पुग्ने वित्तिकै फेरेको महत बताउँछन।
कहालीलाग्दो कर्णाली राजमार्गमा वितेका ६ वर्षमा दुईसय ७० जनाले प्राणको आहुती दिईसकेका छन। यो राजमार्गले छोएको जुम्लाका स्थानिय राजमार्गको कालीकोट खण्डको खतरनाक भीर र डरलाग्दा घुम्ती सम्झेरै डराउने गर्छन। महतले जसो तसो कार जुम्ला पुगाएपनि अन्यकालागि यो अँझै कुनै चनौति भन्दा फरक पर्दैन्।
क्याप्सन: पन्ध्र दिन अघि जुम्ला पुगेको स्याण्ट्रोसंग महत। तस्बिरःश्याम/सेतोपाटी ।