उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम आफ्नै गृह जिल्ला बर्दियामा समेत बाढी पीडितलाई आकासबाटै हेरेर फर्किएका कारण स्थानीय बासिन्दाको मन कुँडिएको छ।
'गृहमन्त्री तल आउनु भएन,' पेरवा चाटिया सामुदायिक वन उपभोक्ता समिति सदस्य मनोजकुमार साहले सेतोपाटीसँग भने, 'माथिबाटै दुर्बिन लाएर हामीलाई हेर्नु भयो।'
बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न उनी बर्दिया आए पनि प्रभावित क्षेत्र वर्दियाको बगनाहा गाविसमा हेलिकोप्टर बस्न नसकेको भनी उनी फर्केका थिए। चुरे उच्च माध्यामिक विद्यालयमा रहेका पीडितहरूले गुनासो गरे, 'गृहमन्त्री आकासमा आउनु भयो, आकासबाटै जानुभयो।'
नेपालगञ्ज विमानस्थल हुँदै काठमाडौं फर्कने क्रममा गौतमले संवाददातासँग स्रोत अभाव र मौसमको प्रतिकूलताले सरकारले उद्धार गर्न नसकेको बताउँदै भनेका थिए, 'तर जनताले जे जसरी आफूलाई सुरक्षित गर्नु पर्ने थियो, गरे। त्यो ठूलो कुरा हो।'
उनको यो भनाइको पनि उनीहरूले आलोचना गरे। 'सरकारको भर परेको भए भोकभोकै मरिने रहेछ,' साहले भने, 'वन उपभोक्ता समितिले सहयोग नगरेको भए हाम्रो विजोग हुने थियो।'
सामुदायिक वन उपभोक्ता समितिले स्थानीयलाई साउन ३० गतेकै दिनदेखि खाना ख्वाउँदै आएको छ। साहका अनुसार अहिले करिब चार सय जनाले त्यहाँ आश्रय लिइरहेका छन्। यस गाविसमा मात्र बाढी प्रभावित १५ सयजति छन्।
राहतको चामल समयमा र चाहिने जति नआएको उनले बताए। यहाँ १० क्वीन्टल चामल आयो भन्छन्, तर हामीले ८ क्वीन्टलभन्दा बढी पाएका छैनौं,' उनले भने।
स्कुलमा भेला भएका बाढी पीडितहरूले गृहमन्त्री र अन्य जिम्मेवार नेताहरू आफ्नो क्षेत्रमा हेर्न नआएको गुनासो गरे। आफ्ना निम्ति सरकार नभएकोजस्तो स्थिति रहेको उनीहरूको प्रतिक्रिया थियो। बल्ल बल्ल बिहीबार एकजना सभासद आइपुगेको उनीहरूले बताए।
'न हामीलाई जिल्लाले हेरेको छ न केन्द्रले,' साहले गाउँलेहरूको गुनासोमा सही थाप्दै भने।
स्थानीयको आक्रोस त्यसै बढेको होइन। उनीहरूलाई यसरी बाढी जाने गरेको अनुभव छैन। स्थानीय बासिन्दाका अनुसार ७० वर्षयता यस्तो ठूलो बाढी आएको उनीहरूले अनुभव गरेका छैनन्।
'पोहोर साल यता नहर बनेपछि हामीकहाँ बाढी आयो,' वीरमाले भनिन्, 'हामीले यस्तो बाढी कहिल्यै देखेका थिएनौं।'
बाढीको बीचमा अड्किएकाहरूलाई हेलिकप्टरले उद्धार गरेको थियो। सबैले त्यो सुविधा पाएनन् पनि। त्यसैले आफूहरू रातभरि पानीमा बसेर भोलिपल्ट स्कुलमा आइपुगेको गुनासो पनि उनीहरूले गरे।
बाढीले कसैको ज्यान गएन। तर, धेरै ठूलो संंख्यालाई बेघरबार बनाएको छ। राति आरामले सुतिरहेका बेला बबई नदी बढ्दा उनीहरूको यो अवस्था आएका हो।
घर बगाएर बगर बनाएको ठाउँमा आफ्नो सुनचाँदी वा अरु सम्पत्ति भेटिन्छ कि भनेर उनीहरू खोजिरहेका छन्। उनीहरू जोगिएकोमा खुशी हुन सकेका छैनन्। बाँचेकोमा बढी चिन्तित छन्। उनीहरूलाई अब बाँकी जिन्दगी कसरी चलाउने भन्ने ठूलो चिन्ता छ।
यस्ता पीडितमध्येकी एक हुन– बीरमा खनाल। उनी आफ्नो भत्किएको घरमा केही फेला परिहाल्लाका भनेर खोजी गरिरहेकी थिइँन्। 'यस्तो बेलामा त बाँच्नुभन्दा मर्नु नै जाति,' उनले दुःखी हुँदै भनिन्, 'बालबच्चालाई के ख्वाएर हुर्काउने हो?'
वीरमा र उनका दुई देउरानीसहितको परिवार एकै ठाउँमा तीनवटा घरमा बस्ने गरेको थियो। त्यही उनका तीनवटा भैंसी बाढीमा मरे। '६ जना बालबच्चा अब कसरी हुर्काउने?' उनले भनिन्, 'अब हाम्रो बाँच्ने उपाय नै भएन।'
'सामान केही जोगिएन,' वीरमाले भनिन्, 'छोराछोरीका कापी किताब पनि रहेन।'
उनी स्कुलमा गाउँलेहरूसँगै बस्न दुई दिन गइँन्। त्यसपछि गएकी छैनन्। नातेदारका गएर गुजारा गरिहेकी छिन्। 'हामीलाई सरकारले केही दिन्छ कि दिँदैन?' उनले प्रश्न गरिन्।
वीरमाकै छिमेकी हुन् १० कक्षाकी विद्यार्थी स्मृति खनाल। उनी आफ्नी भाउजुसँगै घर भत्किएर पूरै जमिनजस्तो बनेको ठाउँबाट इँटा संकलन गर्दै थिइँन्। 'हामीले गोरू जोगाउन सकेनौं,' उनले भनिन्, 'एउटा पाडो चाहिँ दाम्लो चुडाएर भागेका कारण बाँच्यो।'
एकाएक आएको बाढीबाट जोगिन सर्वसाधाण भागे पनि घरमा पालेका पशुहरू भाग्न नसक्दा त्यसैमा परेर मरेका थिए। 'नागरिकता, सुन केही पनि जोगाउन सकिएन,' स्मृतिले भनिन्, 'आफू बाँचियो, यसैमा सन्तुष्ट हुनुपर्छ।
बर्दियाका यी गाउँहरूमा बाढीले तिनको घरमात्र भत्काएको छैन, तिनले लगाएको धान र मकै पनि सोत्तर पारेको छ। सर्वसाधारणमा तत्कालको राहत मात्र होइन धान नपाकुञ्जेल के खाने भन्ने चिन्ता छ। त्यसमा पनि सरकारले समयमै राहत नपुर्याएपछि उनीहरू निकै चिन्तित भएका छन्।
स्थानीय प्रहरी चौकीका प्रहरीले सहयोग गरेको वेलिविस्तार लाउन भने उनीहरू बिर्सदैनन्। तिनले अफ्नो ज्यान जोखिममा राखेर सहयोग गरेको पीडितहरूले बताए। स्थानीय व्यापारी उद्योगपतिले समेत वाढी पीडितलाई सहयोग गरेको र त्यसैबाट पालिँदै आएको पनि उनीहरूले उल्लेख गरे।
'धान नपाकुञ्जेल राज्यबाट हामीलाई सहयोग हुनुपर्छ,' अर्का पीडित श्यामबहादुर वडुवाले भने।
वाढी पीडित युवराज पटनाले पनि गृहमन्त्री गौतम आफ्नै जिल्लामा भएको समस्यालाई वेवास्ता गरेको गुनासो गरे। 'सरकारको एक दुई लाख खर्च भएर के हुन्छ र?,' उनले प्रश्न गर्दै भने, 'जस्तै ठूलो काम भए पनि गृहमन्त्री यहाँ आउनु पथ्यो। माथिबाट हेलिकोप्टर लिएर फर्कनु हुँदैनथ्यो।'
चुरे उच्च माविमा पीडितलाई सघाएर पटनासँगै बसेका साहले फेरि थपे, 'हाम्रो सरकारको भर गरेर जीवन निर्वाह हुन्न।'
चुरै उच्च माविमा आश्रय लिइरहेका बिरामी राजबहादुर चौधरी। तस्विरः गुणराज लुइँटेल
बाढी पीडित स्थानीयवासिन्दाहरू। तस्विरः गुणराज लुइँटेल
चुरे उच्च माविमा आश्रय लिइरहेका बालबालिकाहरु
वीरमा खनाल आफ्नी देउरानी कौशीलासँग।
बाढीले ल्याएको माटो हटाउँदै
बाढीले क्षतविक्षत महेन्द्र राजमार्ग सडक