साउन २८ गते बुधवार दिउँसोबाट उरहरी गाविस ६ मोतिपुरस्थित उनको घरमाथिको आकाश निकै कालोनीलो भएको थियो। तर यसअघि पनि बादल मडारिएको उनलाई थाहा थियो। त्यसैले ढुक्कसँग दैनिकी बित्दैथियो। बिहीवार पनि झरी रोकिएन।
दिनभरी पनि पर्यो। रातभरी पनि पर्यो। सबैले खाना खाए सुते। राती १ बजेसम्म कनिका चौधरीको परिवार गहिरो निद्रामा थियो। एकएक केही चिसो लाग्यो। हात चलाउँदा पानीमा 'छप्ल्याङ्ग' आवाज आयो। अनि उनी जुरुक्क उठिन्। श्रीमान खुइता चौधरीलाई पनि उठाइन्। छोरीलाई उठाइन्। तर छोरो उठ्न ढिला गर्यो। १८ वर्षजतिको छोरोलाई उठाउन उनलाई धेरैबेर लाग्यो।
त्यतिबेलासम्म उनका पति र छोरी एउटा गोरु र बाख्रा लिएर निस्किइसकेका थिए। छोरो उठ्यो। बाहिर आए कम्मरमाथि पानी पुगिसकेको थियो। छोरोले भन्यो 'आमा त्यो ट्वाइलेटमा चढौं'
पहिला आफू चढेर अनि आमालाई पनि माथि तान्यो। केहीबेरमै त्यो ट्वाइलेट पनि हल्लिन थाल्यो। अनि फेरि छोराले नै भन्यो 'आमा त्यो रुखमा चढौं' अनि आमा छोरो मसलाको रुखमा चढे।
केहीमाथि रुखको कापमा आमाछोरा बसिरहे। पानी परिरह्यो। उनीहरु रुख चढेको केही बेरमै त्यो ट्वाइलेट गर्ल्याम्म ढल्यो। केही बेरमा घरको एक पाखा गयो। कनिका चौधरीको मुटु बेस्सरी धडि्कयो। अनि फेरि अर्काे पाखो गयो। उनी छोराको छातीमा मुन्टो घुसारीन् 'जीवनको साहारा त यही घर थ्यो, सम्पत्ति पनि यही थ्यो' उनले भनिन् 'एकैछिनमा सबै भत्कियो, कता गयो कता पानीमै बिलायो।'
उता उनकी छोरी र श्रीमान खुइता चौधरीले अब आमा छोराको आशा मारिसकेका थिए।'गइसके भन्याथिम्, छोरीहरु रोइरहे रातभरी त्यो पानीमा काँ खोज्न जाने?' घर भत्केर ढिस्का बनेको माटोमा खनिखोस्री गर्दै पुरिएका सामान निकालिरहेका उनका श्रीमा खुइता चौधरीले भने 'बिहानमात्रै देखिम्, उनीहरु रुखमै बसिराथे।' त्यसपछि गाउँले सबलाई बोलाएर रुखबाट झारियो। 'त्यो बेला पनि पानी छातिसम्म थियो' उनले भने।
दुई दिनपछि गाउँमा पसेको पानी सुक्यो। अनि सबै माटो भयो। यसरी एकैछिनमा उनको घरसँगै सिङ्गै ६१ घर भएको त्यो पूरै गाउँ माटोको ढिस्कामात्रै बन्यो। पूरै गाउँ ढिस्को बनेको छ। त्यसमा पुरिएका सामान कसैले खोसि्ररहेका छन्। अहिले डोजर पनि पुगेको छ। ठूला ढिस्का डोजरले फोडिरहेको छ।
अब बस्ने घर छैन। अन्न पात सबै बग्यो। लुगालत्ता बग्यो। एउटा गोरु बच्यो। सुङ्गुर पनि मर्यो। अब केही छैन। घरवास गयो।'कच्ची इँटाको घर बनाउन नि धेरै धौ भयो, धेरै वर्षपछि घर बनाएका थिम्' खुइता चौधरीले भने 'घर त माटोमा बिलायो, धन्न स्वास्नी र छोरो पनि मरेनन्।'
३० वर्षभन्दा बढी भइसक्यो त्यहाँ उनीहरु बसेको छ। तर जीवनका कुनै पनि वर्ष थाहा थिएन, बबई नदी यसरी आएको थिएन। तल बबई बग्थ्यो। पानी आउँथ्यो तर घरसम्म आउँदैनथ्यो। वरीपरी खेतबारी केही पानी देखिन्थ्यो, वर्षायाममा। सपनामा पनि सोचेका थिएनन्, बबई नदीको पानी त्यहाँसम्म पुगेर सारा घरहरु ढिस्का होलान् भनेर। तर ६३ वर्षपछि एकएक बबई यतिधेरै उर्लियो कि कल्पनै नभएको ठाउँमा पानी पुग्यो, अनि सारा वस्ती माटोमै मिलायो।
फूलबारी गाविसकी नारायणी चौधरीका आँशु थामिएका छैनन्। कुरा गर्दा गर्दै उनी रोइन्। उनको पनि घर बग्यो। छोरोलाई बगाइन्। अरु सब बग्यो। आँशु पुछ्दै भनिन् 'घर बगायो, भित्र जेजे थियो, सब बग्यो, कपडा निकालेर सुतेको छोरोलाई नाङ्गै बाहिर ल्याएँ।' श्रीमान विदेशमा छन्। उनलाई फोन गर्ने मोबाइल पनि बग्यो। छिमेकीले खबर गरिदिएका छन्। तर उनले कुरा गर्न पाएकी छैनन्।'विदेशबाट पठाएको पैसाले बल्लबल्ल घर बनाएको थियौँ, सबै बग्यो।'
बबई नदीले छ गाविसमा धनजनको क्षति गराएको छ। सातादिन बितिसक्यो। अहिलेमात्रै केही स्थानमा जिल्ला प्रशासनले घर भत्किएकाहरुलाई पाँच हजार रुपैयाँ दिएको छ। सारा संघसंस्थाहरुले राहत ओइराइरहेका छन्। तर सरकारले भने घर भत्किाएहरुलाई दिने पाँच हजार अनि मान्छे मरेका परिवारलाई दिने ५० हजार पनि दिन सकेको छैन।
सभासदहरुको व्यापक दवावपछि मंगलवारमात्रै सर्वदलीय बैठक गरेर यहाँका प्रमुख जिल्लाअधिकारी दिनेश भट्टराईले उद्धार अनि राहत वितरणमा कमीकमजोरी भएको स्वीकार गर्दै माफी मागेका छन् र अब त्यस्तो नहुने पनि बताएका छन्। संसदको बैठक स्थगित भएपछि सभासदहरु हेलिकोप्टरबाट आएर विकट ठाउँमा राहत पुर्याईरहेका छन्।