पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको विष्णुपुर नजिकै खहरे खोलाको जिर्ण पुल । तस्विरः सन्तोष कुमार
पूर्वपश्चिम राजमार्गका कैयौं पुलहरु जिर्ण बनेको छ । मर्मत सम्भार गर्न कसैले चासो देखाएका छैन् । खोलाहरुमा जिविसले गिट्टी वालुवाको ठेक्का दिने र पुल नजिकैबाट गिट्टी वालुवा झिक्ने गर्नाले पुलहरुको अवस्था अत्यन्तै जिर्ण बनको हो।
राजमार्ग अन्तर्गत सप्तरीको विष्णुपुरस्थित खहरे खोलाका पुल टाँसेरै ठूलो भ्वाङ परेको छ । पुल मुनीको बालुवा खनेका कारण यहाँ भ्वाङ परेको स्थानीयले बताए। करिब ४० वर्ष अगाडि निर्माण भएको यो पुल पूर्ण रुपले जिर्ण बनेको छ।
स्थानीय देवेन्द्र चौधरीले भने, ‘पुल जिर्ण बनेकोले कुन बेला भत्किन्छ, ठेगान छैन्।’ पुल टाँसेरै भ्वाङ परेकोले अहिले विगत एक सातादेखि एकतर्फी रुपमा मात्र सवारी साधन चल्छ । भ्वाङ परेको साइडमा खतराको चिन्ह् स्वरुप ईटाले घेरिएको छ ।
सप्तरीकै कठौना नजिक रहेको खहरे खोलामा बनाइएको पुलको अवस्था पनि उस्तै छ। यहाँ पनि ठूलो भ्वाङ पर्ने थालेको छ। पुलमा टाँसेको सडक भत्किन लागेको छ। कालोपत्रे पनि मर्केको छ। यो पुल पनि जुनसुकै बेला खस्न सक्छ। सवारी साधन चलाउने चालकहरु यस्ता पुलमा गाडी गुडाउँदा डरले त्रसित हुन्छन्।
५० वर्ष अगाडि निर्माण भएका कैयौं पुलहरुको खम्बा र पाताहरुमा खिया लागेको छ भने केहि भाँचिएका छन्। बर्षातको मौषममा त बाढीले पुलहरुको खम्वामा क्षति पुर्याउने गरेको छ । बढी लोड बोक्ने सवारी साधन पुलमा ओहोर दोहोर गर्दा पुलहरु थर्कन्छन् । यसले नट बोल्ड खुकुलो भएको प्रष्ट बुझ्न सकिन्छ।
सिरहाकै लामो मानिने कमला, बलान र गागण पुल पनि जिर्ण बनेको छ । विशेष गरी नदीको पिलर नजिकैबाट बालुवा गिट्टी उत्खनन गर्ने कार्य नरोकिदा जोखिम बढ्दै गएको छ । सिरहा, सप्तरी र धनुषामा पर्ने पुलहरुको अनुगमन गर्ने जिम्मा लहानस्थित पूर्वाञ्चल सडक डिभिजन कार्यालय नम्बर ५ को छ । तर प्राविधिकहरुको ढिलासुस्तीका कारण पुलहरु अनुगमन नै हुँदैन्।
बलानदेखि कोशीसम्मको बीचमा पर्ने पुलको अनुगमन गर्ने जिम्मा इन्जिनियर महेन्द्र रायको काँधमा छ । राय भन्छन्, ‘पुलको अवस्थाबारे अनुगमन गरेको छु । करिब बलानदेखि कोशीसम्ममा कूल ५ वटा पुल जिर्ण छ । नदीमा पानी घटेपछि मर्मत कार्य हुन्छ ।’ मर्मत गर्न बजेटको अभाव रहेको पनि उनको गुनासो छ।
यस्तै बलानदेखि कमलासम्मका पुलहरु अनुगमन गर्ने जिम्मा बोकेका इन्जिनियर पाण्डव यादब भन्छन्, ‘जिवा पुल, घुर्मी पुल, मैनावती पुल र एउटा नाम थाहा नभएको पुल जिर्ण बनेको छ । बजेटको अभावमा मर्मत भएको छैन् । बजेटका लागि मन्त्रालयलाई जानकारी गराएको छु ।’
राजधानीबाट दैनिक पाँचसय भन्दा बढी बस पूर्व आउँछन् । राजमार्गका पुलहरु जिर्ण हुँदा जोखिमपूर्ण रुपमा यातायात सञ्चालन भइरहेका छन् । दुर्घटना हुने सम्भावना बढेको छ । सिरहा र सप्तरीका आधा दर्जन पुलहरु एक साइट भत्किएर केहि दिनदेखि जोखिमपूर्ण ढंगबाट एकतर्फी सवारी संचालन भैरहेको छ।
देशभर राजमार्ग र सहायक राजमार्ग मा करिब १६ सय पुलहरु छन् । ती मध्ये ४० प्रतिशत पुल जिर्ण बनेपनि मर्मत संम्भार भएका छैनन् । पुल मर्मतका लागि छुट्टाइने सीमित बजेटका कारण बेलैमा सबै पुलहरु मर्मत गर्न नसकिएको अधिकारीहरु बताउँछन् ।