कुनै बेला मेलम्चीको पानीले काठमाण्डौंका सडक घुने चर्चा चले पनि मेलम्चीको पानी काठमाण्डौं ल्याईपुर्याउदा त्यसले सडक धुन त के काठमाण्डौंबासीको तिर्खा पनि नमेट्ने भएको छ ।
खानेपानीको अभावमा काकाकुल बनिरहेका उपत्यकाबासीलाई मेलम्चीको सपना बाँडेको पनि झन्डै डेढ दशक बितिसकेको छ । सरोकारवाला निकायले भनेकै समयमा मेलम्चीको पानी काठमाण्डौं आइपुगे पनि अब झन्डै चार बर्षजति कुर्नुपर्ने हुन्छ ।
सन् २००० मा मेलम्ची आयोजना शुरु गरी सन् २००७ भित्रमा काठमाण्डौंमा पानी ल्याइपुर्याउने भनिएको थियो । भाखा सार्दासार्दै अब सन् २०१६ पुर्याइएको छ ।
मेलम्ची आयोजना पूरा हुँदा दैनिक १७ करोड लिटर पानी काठमाण्डौं आइपुग्छ । अहिले नै काठमाण्डौंमा दैनिक पानीको माग ३२ करोड लिटर छ भने सुख्खा मौसममा १० करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । सन् २०१६ सम्ममा खानेपानीको दैनिक माग ३५ करोड लिटरभन्दा बढी हुने अनुमान गरिएको छ ।
शुरुमा सन् २००७ सम्ममा मेलम्चीको पानी काठमाण्डौं ल्याइसकिने भनिए पनि भाखा सार्दै सन् २०१३ हुँदै २०१६ पुर्याइएको छ । नयाँ भाखामा पनि खानेपानी पाउने आशामा भने उपभोक्ता विश्वस्त छैनन् । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यका अनुसार सन् २०१६ भित्रमा पानी काठमाण्डौंमा ल्याएपनि काठमाण्डौंबासीलाई राहत मात्र हुने आजको गोरखापत्रमा खबर छ ।