प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।
आजको दिन पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडाैंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिर, हाँडीगाउँस्थित पीपलबोटभित्र रहेको कृष्णमन्दिरलगायत तथा देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ।
आजको दिनमा विशेष गरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउँछन्। हेर्नुहोस् तस्विरमा कृष्ण अष्टमी महामेला