साठी वर्षीया पार्वती (गणेश) कुमारी पौडेल साउन १६ गते शुक्रबार २ बजे जेठो छोरा सीतारामलाई भेट्न दोलखाको चरिकोट गएकी थिइन्। फर्कदा कान्छो छोरा १८ वर्षको राजाराम, माइली बुहारी सिर्जना, ८ वर्षको नाति रोशिष र २ वर्षकी नातिनी राशिकालाई गुमाइन्। उनको परिवारका यी सबैलाई साउन १७ गते शनिबार बिहान सिन्धुपाल्चोकको माङ्खा गाविसको ड्यामसाइट कागुनीमा आएको विध्वंशकारी पहिरोले बगायो। र, सुनकोशीमा लगेर मिसाइदियो।
पार्वती पहिरो जानु एक दिनअघि बुहारी, छोरा र नातीनातिनीसँग चाँडै फर्कने विश्वासका साथ चरिकोट गएकी थिइन्। बुहारी सिर्जनाले सासुलाई चाडै फर्कन पटक/पटक आग्रह गरेकी थिइन्। पार्वती फर्कन चाहिँ चाँडै फर्किन् तर फर्कँदा उनको सर्वस्व पहिरोले बगाइसकेको थियो। पार्वती आफ्नो पीडा पोख्छिन्, 'अब कागुनीमा जाउँला र बसौँला भन्ने आधार केही पनि बाँकी छैन।'
पार्वतीको पहिरो पीडा यतिमा मात्र सीमित छैन। २०५८ सालसम्म उनी आफ्नो पुख्यौली थलो घुमथाङ्गमा बस्थिन्। १३ वर्षअघि यहाँ आएको अत्यासलाग्दो पहिरोले उनको भएभरको जग्गाजमिन, गाईगोठ र घरबार सबै बगायो। भाग्यले पार्वतीका परिवारलाई बचायो। यहाँबाट पार्वतीको परिवार ड्यामसाइड कागुनीमा बसाइँ आयो। उनलाई एक जना आफन्तले आश्रय दिएका थिए।
कागुनीमा उनलाई त्यसरी आश्रय दिने उनका आफनै भिनाजुु थिए, मेघनाथ पराजुली।
आफ्ना श्रीमानसमेत गुमाइसकेकी पार्वतीका लागि दिदी–भिनाजू सम्पूर्ण अभिभावक थिए। मेघनाथले नै पार्वतीलाई घरघडेरी दिएर आश्रय प्रदान गरेका थिए। दिदीभिनाजुकै कारण उनलाई जीवन टिकाउन सहज भएको थियो। यो १३ वर्षको अन्तरालमा धेरै दुख कष्ट गरेर सर्लक्कै छोराछोरी हुर्काइन्। कतिसम्म भने कान्छो छोरा राजारामले समेत कक्षा १२ को परीक्षा दिइसकेका थिए। उत्कृष्ट पढाइ अनि अतिरिक्त क्रियाकलापमा प्रभावशाली राजाराम जिल्लाभरि कहलिएका थिए।
अफसोच, कागुनीमा आफूलाई आश्रय दिने भिनाजु मेघनाथ पराजुली, दिदी यविन्द्रकुमारी मात्र होइन, दिदी–भिनाजूको सिङ्गो परिवार त्यही कहालीलाग्दो पहिरोमा पुरिए। मेघनाथ र यविन्द्रकुमारीको छोरी स्वस्थानी पौडेल, स्वस्थानीका छोराहरु किरण र सुशील, मेघनाथका छोरापट्टिका नातिनी सन्ध्या पराजुलीसहित ६ जना पनि त्यही पहिरोमा विलीन भए।
पार्वतीलाई आफना परिवारका सदस्यहरुमात्र होइन, आफनो कठिन दुःखको यात्रामा साथ दिने आफन्तको परिवारसमेत गुमाउनु पर्दा घरीघरी आकासै खसेर थिचेझै लाग्छ। त्यतिमात्र होइन, उनले त्यही अर्को आफन्तको परिवारसमेत गुमाउनु पर्यो। अब आफ्नो भन्ने नै को बाँकी रहयो र उनका लागि?
कागुनी पहिरोमा मरेकाहरुको अहिले काठमाडौंका विभिन्न स्थानमा काजकिरिया भइरहेको छ। तीमध्ये पराजुली र पौडेल परिवार पशुपति क्षेत्रस्थित किरियापुत्री घरको कोठा नम्बर १८ र १९ मा अटिनअटी बसेका छन्।
काजकिरिया नसकुञ्जेल त उनीहरु यहाँ रहलान्, तर २९ गतेपछि यी पहिरोमा विलीन भएका आफन्तलाई काम सकेर कहाँ जाने होला भन्ने अत्यास छ। मेघनाथ पराजुलीको परिवारको काजकिरिया गरिरहेका गोविन्द पराजुली भन्छन्, 'अब जाने ठाउँ कतै पनि छैन। किनभने घरजग्गा जमिन र परिवारलाई पहिरोले सुनकोशीमा मिसाइसकेको छ।'
पराजुली/पौडेल परिवारमा परिवार वियोगको कथा यतिमात्रै सकिँदैन। कागुनीको सिंगो गाउँ नै पहिरोले लग्यो। कागुनीमा पराजुली र पौडेल परिवारका १५ जना, श्रेष्ठ परिवारको ९ वटा घर र १९ जना र खत्री परिवारका ११ जना पहिरोमा परे।
त्यसमा जयराम र विष्णु पराजुलीको पूरै परिवार पनि पर्यो।
जयराम र विष्णुका बुबाआमा देउऋषि, छायाँदेवीलाई पनि साउन १७ गतेको पहिरोले 'ऐया' पनि भन्न नपाउने गरी थिच्यो। जयरामको त पूरै परिवार समाप्त। उनको श्रीमती लक्ष्मी, दुई छोराहरु निर्जल र निकेशलाई पनि आफ्ना आमाबुबाकै साथमा पहिरोले थिच्यो। विष्णुको परिवार चाहिँ काठमाडौंमा भएकाले बच्यो।
जयराम काठमाडौं–खासा रुटमा कन्टेनर चलाउँछन्। यसबाटै उनको रोजीरोटी र परिवारको जीवन चलेको थियो। त्यही क्रममा उनी शुक्रबार काठमाडौंबाट एक ट्रक सामान लिएर चितवन जाँदै थिए। शनिवार बिहान नहुँदै चितवन छिरेका मात्र थिए, कागुनीमा पहिरोबाट बचेका आफन्तको फोन आयो।
पहिरोले आफना घरका सबैलाई बगाएको कुरा सुनाउँदा उनलाई चटयाङ्ले बज्रपात गरेझैँ भएको थियो। उनी ट्रकलाई त्यही अलपत्र छाडेर बेहोस भए।
ट्रकमा सँगै रहेको अर्को एक जना भाइले उनलाई सम्हाल्दै बिहान काठमाडौं ल्याइपुर्याएका थिए। उनलाई त्यो घटना सुनेदेखि ३ दिनसम्मको कुनै पनि कुराको होस छैन। किनभने उनी ३ दिन पूरै अचेत अवस्थामा थिए। शुक्रबार काठमाडौंबाट हिँड्नेबेलामा छोरा निर्जलसँग उनले फोनमा कुरा गरेका थिए। छोरा निर्जलले घरमा सबै खाना खाएर सुत्न लागेको सुनाएका थिए।
जयरामले ट्रक चलाएर आफ्नो र परिवारको जिविका चलाएका थिए। आफ्नो परिवार र बुबा आमालाई सुख दिन आफू हर रात ट्रकमै जीवन दिएका थिए। अब उनको आफनो भन्नु नै कोही रहेन। घर परिवार सबै पहिरोले सुनकोशीमा लगेर मिसाइदियो।
सिन्धुपाल्चोकको यो घटनापछि उनीहरु कसैका पनि आफन्तहरुको शव भेटिएन। शव नभेटिए पछि बाँचेकाहरुले आफना परिवारका सदस्यहरुको कुशको शव बनाई पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार दाहसंस्कार गरेका थिए।
पौडेल र पराजुली परिवारलाई मात्र होइन, पहिरोमा परी जीवन र सबै जग्गा जमीन गुमाउने श्रेष्ठ, तामाङ र खत्री परिवारले पनि पर्याप्त राहत सहयोग पाउन सकेका छैनन्। 'झनै पुनर्वासका लागि सरकारी सहयोगको त के अपेक्षा गर्नु?' पीडित गोविन्द पराजुली सरकारको संवेदनहीनताबारे दुख व्यक्त गर्छन्।
अकर्मण्य सरकार
सिन्धुपाल्चोकमा सुनकोशी थुनिएर बनेको तालको रमिता हेर्न जानेहरुको ताँती नै लागेको छ। सामाजिक सञ्जालहरुमा ताल हेर्न गएको र पहिरो हेर्न जानेहरुले खिचेका तस्बिरहरु अपलोड गर्ने सिलसिला जारी छ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व अध्यक्ष झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृह मन्त्री वामदेव गौतमदेखि प्रधानसेनापति गौरव शम्शेर जबरासम्म हेलिकोप्टरबाट उक्त क्षेत्रको भ्रमण गरे।
फर्केर आएर उनीहरुबाट त्यो कहालीलाग्दो विपत्तीमा परेकाहरुलाई राहत र सहयोग गर्न कुनै न कुनै रुपमा पहल गर्नु पर्ने हो, त्यस्तो कुनै पहल गरेको देखिँदैन। प्राकृतिक प्रकोपले राष्ट्रिय एजेण्डाको रुप लिन सकेन।
तीन बर्षअघि तराईमा कोशीले आफनो दिशा परिवर्तन गर्दा ठूलो जनधनको क्षति भएको थियो। त्यसले राष्ट्रियमात्रै नभएर क्षेत्रीय चासोको विषय बनेको थियो। सुनकोशीमा त्यो भन्दा ठूलो प्राकृतिक प्रकोप हुन पुग्यो। तर त्यो राष्ट्रिय चासो र राष्ट्रिय एजेण्डा बन्न सकेको देखिएन।
छिमेकी देश चीनबाट राजधानी काठमाडौंलाई मात्र होइन, सिंगो नेपालका अति कम आय हुने नेपालीका लागि सस्तोमा लत्ता कपडा र अन्य सामानहरु यही बाटो भएर आउने गर्छ। सुनकोशी थुनिने गरी आएको पहिरोले यो सडकको केही भाग सखाप बनाइदियो। चिनियाँ सामान आपूर्ति रोकिँदा नेपालीको दैनिक जनजीवन नराम्ररी प्रभावित हुन पुगेको छ भने चिनियाँ सामानकै मूल्यमा पनि भारी वृद्धि हुन जाने देखिएको छ।
पहिरोको पहिलो प्रभाव त देखि नै सक्यो, विद्युत आपूर्तिमा कटौतीका साथसाथै स्वास्थ्यमा यसको पहिलो र गम्भीर प्रभाव पर्ने देखिन्छ। किनभने सरकारले नै घोषणा गरिसकेको छ, सुनकोशी पहिरोले थुनिएको स्थानभन्दा तलका बासिन्दालाई यहाँको पानी नखानू भनेर।
प्रधानमन्त्री सुशील कोइराला या एमाले अध्यक्ष केपी शर्मा ओलीले विदेशमा उपचार गर्न राष्ट्रिय ढुकुटीबाट पाएको आर्थिक सहुलियत भन्दा सिन्धुपाल्चोक पहिरोमा पुरिएका झण्डै १ सय ५० जनाले पाएको राहत रकम धेरै कम छ। गरिब र शक्तिमा नभएकाहरुको जिन्दगीको मूल्य यहीँनेर आंकलन हुन्छ ।
यसरी आयो विनासकारी पहिरो