शिक्षक सेवा आयोगले आफूहरूलाई भेदभाव गरी स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाएको भन्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले एसएलसी परीक्षाको उत्तरपुस्तिका परीक्षणमा सहयोग नगर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
आयोगले २०६३ साल वैशाख १० गतेसम्म अस्थायी नियुक्ति पाएका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने गरी विज्ञापन खोलेको थियो। आयोगको परीक्षा आगामी जेठ ९, १० र ११ गते हुँदैछ।
हाल सामुदायिक विद्यालयमा करिब १७ हजार शिक्षक अस्थायीरुपमा कार्यरत छन्।
राजधानीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर सङ्घर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले आफूहरूलाई पनि समान प्रक्रियाको आन्तरिक परीक्षामा सहभागी हुने मौका नदिइएसम्म आन्दोलन जारी राख्ने बताए ।
घोषित आन्दोलनका कार्यक्रमअनुसार आगामी आगामी वैशाख ८ र ९ गते सिंहदरबार अगाडि धर्ना र जुलुस गर्ने, एसएलसी परीक्षाको उत्तरपुस्तिका परीक्षणमा असहयोग गर्ने, यी विरोधका कार्यक्रमपछि पनि माग पूरा गर्नेतर्फ सुनुवाइ नभए वैशाख १५ देखि शैक्षिक हड्ताल गरिने समितिले जनाएको छ।
समितिका महासचिव आशुतोष तिवारीले आफूहरूले माग पूरा गराउन सर्वोच्च अदालतमा पनि मुद्दा दायर गरेको बताए ।