धनगढी नगरपालिका पशुपति टोलका ४५ वर्षीय मनओर हुसैनको रहस्यमय मृत्यु भएको छ।
अचेत अवस्थामा फेला परेका उनको हिजो सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतकका छोरा सैयब हुसैनले आफ्नो बाबुको सौतेनी आमा र सौतेनी आमाकी आमाले मिलेर हत्या गरेको आरोप लगाएका छन्। उनले सौतेनी आमा आसिया खातुन र सौतेनी आमाकी आमा बिलकिस बानुका नाममा हत्या आरोपमा किटानी जाहेरी समेत दिएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले दुवै जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी उपरिक्षक मोहनराज जोशीले घटनाका बारेमा अनुसन्धान भैरहेको बताएका छन्।
उनीहरुलाई आइतबार जिल्ला अदालत कैलालीमा बुझाउने तयारी भैरहेको प्रहरीले जानकारी दिएको छ।
मृतक हुसैन कान्छी श्रीमती आसिया खातुनको मावली घरमा अचेत अवस्थामा फेला परेका थिए।
पहिलो श्रीमतीको निधन पछि एक्लो बनेका हुसैन र श्रीमानको निधन पछि एक्लो बनेकी खातुनले चार वर्ष अघि परम्परागत विवाह गरेका थिए।
हुसैनका पहिलो श्रीमतीबाट चार र खातुनका पहिलो श्रीमानबाट दुई सन्तान रहेका छन्। उनीहरुबाट भने कुनै सन्तान छैन।
मृतक भारतीय नागरिक हुन् भने उनकी कान्छी श्रीमती खातुनको माइती नेपाली हो।
कान्छी श्रीमतीसँग बिहे गरेपछि हुसैन भारतमा रहेको सबै सम्पत्ति बेचेर धनगढी आएका थिए। मृतक केही समयदेखि व्यवशाय गर्दै आएका थिए।
छरछिमेकीका अनुसार विवाह गरेको केही समयमा नै उनीहरुबीच विवाद हुँदै आएको थियो। यही क्रममा मृतककी दोस्री श्रीमती खातुन असार २२ गते घर छोडेर हिँडेकी थिईन।
आफ्नो सम्पत्ति लगेर श्रीमती भागेको भन्दै मृतकले प्रहरीमा उजुरी दिएका थिए। परिवारबाटै उनीहरुबीच सहमति गराउने प्रयास भईरहेको थियो।
सोही क्रममा खातुनले बोलाए पछि मृतक धनगढी नगरपालिका कैलाली पुल नजिकै रहेको खातुनको मावली घरमा पुगेका थिए।
मृतक हुसेनकी सासु दिलकिस वानुले यसअघि तीन चार पटक मार्ने धम्की दिएको परिवारजनले बताएका छन्।
सासुले मार्ने धम्की दिएपछि हुसेनले ज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको बताईएको छ। जिल्ला प्रशासन कार्यालयले आवश्यक कारवाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको उनीसँगै गएका एक जनाले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन्।
'म सँगै गएको हुँ। करिव १५ दिन अघिको कुरा हो' उनले भने–'प्रशासनले प्रहरीलाई पत्र समेत लेखेको थियो।'
कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले आफूलाई सो बारेमा कुनै जानकारी नभएको बताएका छन्। तर प्रहरीले ज्यान सुरक्षा नभई सम्पत्ति लगेर श्रीमती बेपत्ता भएको निवेदन आएको बताएको छ।
मृतक हुसैनको शव हिजो बिहानैदेखि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको छ। उनको अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन।