नेपालको चर्चित तिर्थ बराहक्षेत्रमा बनिरहेको बसपार्क योजना भित्र रहेका अतिक्रमित घरटहराहरु हटाउन नसक्दा योजना अलपत्र बनेको छ। बसपार्क क्षेत्रमा रहेको केही घरहरुलाई अन्यत्र व्यवस्थित गर्ने तर्फ जिम्मेवार निकायहरु मौन हुँदा योजना अलपत्र बनेको हो।
त्यसका लागि प्रशासन र सडक डिभिजन कार्यालयहरुले न्यायिक पहल नगर्दा झण्डै तीन कठ्ठामा निर्माणाधिन बसपार्कको योजना अलपत्र बन्ने खतरा बढ्दै गएको स्थानीयवासीहरु बताउँछन्। योजना पूरा नभए बराहक्षेत्रमा बनिन लागेको नयाँ स्वरुप पनि त्यतिकै थन्किने अवस्थामा पुगेको स्थानीय युवराज श्रेष्ठले बताए। 'हामीले सडक डिभिजन पूर्वाञ्चल विराटनगरमा डेलिगेसनसमेत गयौं,। तर, उसले कुनै पहल गर्ने संकेत नै देखाएन।, उनले भने।
सडक डिभिजनले हाल निर्माणधिन भइरहेको सडक तथा बसपार्कको नक्सा नभएको भन्दै तर्किएपछि अहिले स्थानीयवासीलाई बसपार्कको क्षेत्रमा रहेको घर हटाउन समस्या सिर्जना भएको छ। 'हामीले उनीहरुलाई हट भनेर पनि भन्न सक्ने अवस्था छैन।, बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष कुमार श्रेष्ठ भन्छन् 'कम्तीमा पनि सडक डिभिजन तथा प्रशासनले यसको सुनुवाई गर्नुपर्छ।,
स्थानीयवासीका अनुसार २०३८ सालमा त्यो सडक खनिएको हो भने बसपार्कको योजना पनि त्यसबेला नै बनेको थियो। पछि २०४६।०४७ साल तिर त्यो योजनाहरुलाई सडक डिभिजन पूर्वाञ्चल विराटनगरले हेरेको थियो। तर, २०५५, ५६ सालमा मन्दिरको लागि फूल तथा प्रसाद बेच्नका लागि खटियाबाट सुरु गर्दै बसोबास गर्न थालेपछि भने सडकले हटाउने प्रयास नर्गदा अहिले यो समस्या सिर्जना भएको तर्क युवराजको छ।
तर, विराटनगरका इन्जिनियर गजेन्द्रप्रसाद गुप्ताले भने धरानदेखि चतराका कुनै पनि क्षेत्रमा लागत कट्टा भएको अवस्था नभएकाले त्यो क्षेत्रमा पनि सडक डिभिजनको हुनै कुरै नभएको बताउँछन्। स्थानीयवासीहरुले नै त्यहाँको बसपार्कको लागि पलह गर्दै हटाउनुपर्ने उनी बताउँछन्। 'लगत कट्टा गरिएको भए हामीले जस्तोसुकै अवस्थामा पनि हटाउन सक्थ्यौं।, उनले भने 'तर, अहिलेको अवस्थामा हामी केही पनि गर्न सक्दैनौं।,
यही कारण पनि त्यहाका स्थानीयहरुले पनि हटाउने कुनै भरपर्दो माध्यम पाइरहेका छैनन्। प्रशासनले पनि त्यसबारेमा आफूहरुलाई केही जानकारी नभएको बताउँदै आइरहेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले भर्खरै सुनसरी आएकाले पनि धेरै कुराको बारेमा अनभिज्ञ रहेको तर, बुझ्ने बताएका छन्। स्थानीय नरबहादुर राईले बैकल्पिक व्यवस्था नगरी हटाउने अधिकार कसैलाई पनि नभएको बताए। 'बिकल्प नदिई हटाउने कुरै आउँदैन।, उनले भने।
अहिले बसपार्क क्षेत्रमा झण्डै सात घर परिवारहरु बसिरहेका छन्। उनीहरुलाई व्यवस्थित गर्नका लागि कुनै निकायबाट पनि पहल नहुँदा बसपार्कको योजना अलपत्र पर्ने हो कि भन्ने डर अहिले बराहक्षेत्र बृहत्तर विकास समितिका सचिव धर्मराज तिम्सिनालाई लाग्न थालेको छ। उनका अनुसार बैंसाखदेखि करिव ५ लाख रुपैयाको लागतमा सडक डिभिजनले डोजर सहयोग गरेपछि खार्ने कार्य गरिएको थियो। तर, फेरि पुरानाहरु बस्न थालेपछि स्टेण्ड मर्मत सुधार उपभोक्ता समितिलाई टाउको दुखाईको विषय बन्न थालेको छ।
समितिका अध्यक्ष गणेश श्रेष्ठले आ आफ्नो खुसीले घर बनाएर बसकेकाले हट्नका लागि बारम्बार भन्दा पनि नहटेको बताए। 'सडक डिभिजनले नक्सै छैन भनेपछि हामीलाई गाह्रो भयो।, उनले भने। इन्जिनियर गुप्ताले लगत कट्टा नभएको जग्गामा एक्कासी भत्काउन थाल्दा कही न कही राजनीतिक हस्तक्षेप हुने आशंका रहेको बताए। 'स्थानीयवासीहरुले नै मिलाउनु पर्छ भन्ने पक्षमा हामी छौं।, उनले भने 'सकभर हामी हस्तक्षेप नगरौं भन्ने हो।, उनले पनि बसपार्क चाहिने बताउँछन्। तर, स्थानीयले सहयोग नगरेको अवस्था हामीलाई अप्ठ्यारो हुने उनी बताउँछन्।