जिल्ला प्रहरी कार्यालय पर्साले लगभग ४० लाख मुल्य बराबरको लागूऔषध चरेश बरामद गरेको छ । हेटाैँडाबाट वीरगन्ज तर्फ आइरहेको ना ३ ख ९१५० नम्बरको ट्रकमा लुकाएर ल्याउँदै गरिएको अवस्थामा प्रहरीले २ सय ७० किलोग्राम चरेश बरामद गरेको हो । चरेशसगै प्रहरीले ट्रक चालक, सह चालक र लागूऔषध कारोबारीसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक बरुण सिहंको नेतृत्वमा खटेको टोलीले चरेशसहित तीनजनालाइ परवानीपुरबाट पक्राउ गरेको हो । चरेश सहित पक्राउ पर्नेमा चालक अनोद कुमार विक,सह चालक विजय लामा र कारोबारी रामबहादुर तामाङ रहेका छन् ।
प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले मकवानपुरबाट वीरगन्जतर्फ आउदै गरेको रित्तो ट्रकमा फल्स खन्ड बनाएर लागूऔषध चरेश ढुवानी भइरहेको विशेष सुराकीका आधारमा प्रहरीले छापामारी गर्दा चरेश बरामद भएको बताए । ट्रक चालक बस्ने सिट माथि नक्कली रुफ बनाएर त्यसभित्र दुई, तीन र पाँच केजीको चरेसको बोका लुकाएर ओसारिएको अवस्थामा बरामद गर्न सफलता मिलेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।
कारोवारीहरुको भनाइ अनुसार वीरगन्जमा आइपुगेको चरेशको मुल्य प्रतिकेजी १५ हजार पर्नेगरेको छ । जसअनुसार २७० केजी चरेशको मुल्य लगभग ४० लाख ५० हजार रहेको प्रहरी उपरिक्षक सिहले बताए । चरेश र ट्रक सहित तीनैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नो नियन्त्रणमा लिएर चरेश कारोवारी गिरोहको बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आर्थिक बर्ष ०७०-०७१मा जिल्ला प्रहरी कार्यालय पर्साले ३७१ किलो चरेश बरामद गरी आवश्यक कार्यवाही अगाडि बढाएको छ ।