मलद्धारभित्र सुन लुकाई ल्याउने भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुवई एयरको उडान नम्वर एफजे ५७३ द्धारा दुवईबाट काठमाडौँ आगमन भएका भारतीय नागरिक गोविन्द मिश्रलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा खटिएका प्रहरी र भंसार कर्मचारीले अवैध सुन सहित पक्राउ गरेको हो ।
बुधबारराती साढे ११ बजे उनलाई प्रिपेड ट्याक्सी काउन्टर अगाडी प्रहरी र भंसारका कर्मचारीले चेकजाँच गर्ने क्रममा शंका लागेपछि चेकजाँच गरेका थिए । शौचालयमा लगि शौच गर्न लगाउँदा कालो टेपले बेरी आफ्नो मलद्धारभित्र लुकाई राखेको अवस्थामा ४ टुक्रामा रहेको ९९९ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी सोही उडानद्धारा काठमाडौँ आगमन भएका भारतीय नागरिकहरु राजेश कुमार शिवदशनी र चेतन किशोर कुमार अस्वानलाई प्रहरी र भंसारका कर्मचारीले अवैध सुन सहित पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भंसार चेकजाँच एरियामा संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरु दुवै जनाले शरीरमा लगाई ल्याएको अवस्थामा सेतो जलप लगाएको हातमा लगाउने सुनको बाला र सेतो जलप लगाएको गलामा लगाउने सुनको सिक्री गरी ९७० ग्राम अवैध सुन बरामद भएको थियो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि भंसार कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुझाइएको छ । झन्डै २ महिना अघि पनि प्रहरीले मलद्धारमा सुन लुकाइ ल्याउनेलाई पक्राउ गरेको थियो ।