नेपाली जामे मस्जिद निर्माणमा संलग्नहरूको सामूहिक तस्विर। तस्विर सौजन्यः नेपाली जामे मस्जिद
सेतो टोपी, सेतो तथा अन्य हलुका रंगका सलवार-कमिज लगाएका सबै उमेरका प्राय लोग्नेमानिसहरु स-साना गोलाकार बनाई बसेका छन्,काठमाडौंको मध्य भागमा रहेको नेपाली जामे मस्जिदमा। सबै गोलाकारको बीचमा ठूलो थाली छ, फलफूल, रोटी र कुखुराको मासुले भरिएको। उनीहरु रमदानको दैनिक उपवास तोड्न पर्खिरहेका छन्, थालमा रहेको इफ्तार (रमदानको महिनामा दैनिक उपवास तोड्ने खाना)भोजन गरी।
जब घडीले साँझको ७ बजेको संकेत गर्छ, एक जना हलुका रंगको सलवार-कमिज लगाएका व्यक्ति उठ्छन्, आफ्नो दायाँ हात उचाली ठूलो स्वरमा दुवा पढ्छन्। त्यसपछि सबैजना खान सुरु गर्छन्।
बेगम हजरत महल
टाउकोमा रुमाल बाँधेका अग्लो दुब्लो व्यक्ति, अब्दुल समिम, ४६, एउटा समूहदेखि अर्को समूहमा जान्छन्, उनीहरुलाई खाना पुगेको छ किछैन भनेर बुझ्न। सबैले खाईसकेपछि समिम पनि खान्छन्, त्यसपछि नमाज पढ्छन्, अनि मात्र उनी तयार हुन्छन्, काठमाडौंका मुसलमान समुदायका इतिहासको कथा सुनाउन।
सन् १८५७ को सैनिक आन्दोलनलाई अंग्रेजले दमन गरे। आन्दोलनकी एक योद्धा बेगम हजरत महल, अवधका राजा वासेज अलि साहकी रानी, पनि पछि हट्न बाध्य भइन्। उनी काठमाडौं आइन्। तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले सुरुमा उनलाई शरण दिन अस्वीकार गरे। बल्लबल्ल रानीले शरण पाइन् र जंगबहादुरले व्यवस्था गरेअनुरुप थापाथली दरबारमा बसिन्।
'मेरा पुर्खा रानीसँग आएका हुन्,' घुडाँमाथि आफ्ना हात राखिरहेका समिम भन्छन्। काठमाडौंको बागबजारमा जन्मेर हुर्केका समिम बेगमसँगै नेपाल छिरेका उनका समर्थक, सुसारे र मनोरञ्जकका सन्तानमध्ये एक हुन्।
इतिहासकारहरुका अनुसार, काठमाडौंका मुसलमान विभिन्न समयमा, विभिन्न कारणले आए। नेपाली जामे मस्जिदमा इफ्तारको निमित्त बसिरहेका धेरैजसो मुसलमानका पुर्खा मध्यकालीन नेपालमा आएका हुन्।
समिमका नजिक बसिरहेका, ठमेलका मन्सुर हुसेन, ४३, पनि आफ्ना पुर्खाका कथा सुनाउँछन्। 'म नवौं पुस्ताको नेपाली मुसलमान हुँ,' मन्सुरबोल्दै गर्दा उनको मसिनो, कालो, दाह्रीमाथि रहेको चस्मा सिसाको कोठाको बत्तीमा चम्किरहेको छ।
लखनउबाट आएका थिए उनका पुर्खा। नेपाली जामे मस्जिदमा आउने धेरैजसो मुसलमान उत्तर भारत (काश्मिर बाहेक) बाट नेपाल छिरेका मुसलमानहरुका सन्तति हुन्। उनीहरुलाई हिन्दुस्तानी मुसलमान भनिन्थ्यो।
धेरैजसो इतिहासकार नेपाल आउने पहिलो मुसलमान काश्मिरका हुन् भन्ने विश्वास गर्छन्। उनीहरु व्यापारी थिए, सोही कारण सन १४९१ देखि १५०१ सम्मका कान्तिपुरका राजा रत्न मल्लको निमन्त्रणमा काठमाडौं आए। उनीहरु तिब्वतसँग व्यापार गर्थे। लद्दाख हुँदै काश्मिरबाट उनीहरु काठमाडौँ आए।
५ सय वर्षपछाडि, ४० वर्षीय महम्मद फजिल काठमाडौंमा काश्मिरी विरासत कायम राखिरहेका मध्ये एक मुसलमान हुन्। समिम, हुसेन रअन्यले उपवास तोडिरहेको बेला करिव ५ सय मिटर टाढा फजिलसहित काश्मिरी मूलका सयौं मुसलमान पनि त्यस्तै गरिरहेका छन्,काश्मिरी जामे मस्जिदमा।
समिम, हुसेन र फजिलजस्ता काठमाडौं उपत्यकाका मुसलमानबाहेक यहाँ चीनले तिब्बतलाई आफ्नो अधिनमा लिएपछि त्यहाँबाट भागी काठमाडौं आएका मुसलमान पनि छन्।
समिम (दायाँ) का पुर्खा बेगम महलसँग काठमाडौं आएका थिए। हुसैनका पुर्खा मध्यकालिन समयमा नेपाल आएका थिए। तस्विरः दर्शन
नेपाली मुसलमानले विविध क्षेत्रमा योगदान दिएका छन्। मल्लकालीन दरबारमा उनीहरु तान्त्रिक वैद्य थिए। तिब्बतसँगको व्यापार उनीहरुले सुरु गरे। उनीहरुको आगमनसँगै नेपालको सैनिक र हतियारका क्षेत्रले नयाँ आयाम पायो, उनीहरुले बारुद बनाए र बनाउन सिकाए,अनि सैनिकहरुलाई घोडचढी सिकाए।
'मेरा हजुरबा राणा प्रधानमन्त्री पद्मशमशेरलाई घोडचडी सिकाउँथे,' ७५ वर्षीय राहत खान भन्छन्। समिमलाई भेटेको भोलिपल्ट नेपाली जामे मस्जिदकै प्रार्थना कोठा बाहिर बिच्छाइएको गुन्द्रीमा बसेर उनी र महम्मद सफिर, ८१, आफ्ना अनुभवहरु सुनाइरहेका छन्। समिमका बाबुपट्टीका हजुरबुबाले पनि घोडचढी र घोडाको हेरचाह गर्थे। उनका मामाघरका हजुरबाले नेपाल पुलिसका पुराना प्रहरी महानिरीक्षक नरशमशेरलगायत अरूलाई कवाज सिकाउँथे।
'मेरा हजुरबा राजा त्रिभुवनलाई फारसी सिकाउँथे,' सफिरले सुनाउँदा उनको सेतो दाह्रीमाथि मुस्कान छाउँछ।
मुसलमानहरू शान्तिपूर्वक बसे र आफ्नो धर्म माने। सायद उनीहरूको विशेष गुणका कारणले होला, नेपालका राजाहरूले उनीहरूलाई धार्मिक स्वतन्त्रता मात्र दिएनन्, बरू धर्मको निमित्त सम्पत्ति र स्रोतसाधन पनि दिए।
फजिलका कास्मिरी पुर्खा नेपाल आउने पहिला मुसलमान थिए। तस्विरः दर्शन
'शाह मिस्किन र शाह गयासुद्यिन नामका दुईसुफी तन्त्र र औषधोपचारका लागि नेपालमा निम्त्याइएका थिए,' इतिहासकार डा. रमेशकुमारढुंगेल भन्छन्, 'प्रताप मल्लले उनीहरूलाई मस्जिद बनाउन र कब्रिस्तानका लागि घन्टाघर वरिपरि जग्गा दिएका थिए।'
यो ५०० वर्षअगाडिको कुरा हो। अहिले कास्मिरी जामे मस्जिद रहेकै ठाउँमा उनीहरूले मस्जिद बनाएका थिए। उनीहरूको चिहान आज कास्मिरी जामे मस्जिदभित्रै छन्।
'पछि जब शहर बढ्दै गयो, यो जग्गा शहरभित्रै आयो। त्यसैले राणा प्रधानमन्त्री वीरशमशेरले यसलाई कब्रिस्थानको रूपमा प्रयोग गर्न निषेध गरी त्यसको लागि स्वयम्भूमा जग्गा दिए,' डा. ढुंगेल भन्छन्।
पृथ्वी नारायण शाहले काठमाडौंमाथि विजय हासिल गरी राजधानी बनाएपछि क्रिष्चियनहरूलाई लखेटे तर मुसलमानहरूलाई बस्न दिए।
डा. ढुंगेलका अनुसार पृथ्वीनारायण शाहले पनि उत्तर भारतका मुसलमानलाई व्यापारका लागि बोलाए। शाह उनीहरुलाई असली हिन्दुस्तानी मुसलमान मान्थे।
एउटा रूढीवादी हिन्दु समाज जहाँ राजालाई हिन्दू भगवानको अवतार मानिन्थ्यो, जहाँ हिन्दु धर्मका महत्वका आधारमा समाज परिचालित थियो, जहाँ मरेका श्रीमानको चितामा सती जानु धार्मिक आस्था मानिन्थ्यो, त्यस बखतको समाजमा एउटा छुट्टै धर्म, विचारमा विश्वास गर्ने समुदाय राजाहरूकै निकट रहनुलाई सहिष्णुताको ठूलो प्रतीक मान्न सकिन्छ। काठमाडौंका मुसलमानका शान्त स्वभाव यसकारण पनि छन् कि उनीहरु सिया र सुन्नी मतको कुनै भेदभाव बिना आपसी सद्भावका साथ यहाँ बसे। कास्मिरी जामे मस्जिद र नेपाली जामे मस्जिद क्रमशः सुन्नी र सिया मूलका मुसलमानका थिए। तर, आज काठमाडौंका सबै मुसलमान सुन्नी मूलका छन्।
सफिर (दायाँ)का बुबा राजा त्रिभुवनलाई फारसी सिकाउँथे। खानका बुबा राणा प्रधानमन्त्री पद्मशम्सेरलाई घोडचढी सिकाउँथे। तस्विरः प्रवास गौतम/सेतोपाटी
राणाकाल मात्र एउटा त्यस्तो समय थियो जतिबेला मुसलमानको धार्मिक स्वतन्त्रतामा कुनै न कुनै किसिमले बाधा पुगेको थियो।
'हामीलाई छुट्टै देखिउन् भनेर राणा शासनमा रातो टुर्की टोपी लगाउनुपर्ने बाध्यता थियो,' सफिर र खान भन्छन्, 'हामीलाई दलित जस्तो व्यवहार गरिन्थ्यो र काम पाउन मुस्किल थियो। हामीलाई होटल सञ्चालन गर्ने पनि बन्देज थियो।'
हुसैन पनि आफ्ना बाबुबाजेका त्यस्तै अनुभव सुनाउँछन्। 'उहाँहरूलाई राणाकालमा स्वतन्त्ररुपमा धर्म मान्न दिइएको थिएन। नमाजको बेलामा माइक प्रयोग गर्न बन्देज थियो। त्यो समयमा सार्वजनिक स्थलमा समूह बनाई बस्न पनि मुसलमानलाई मनाही थियो।'
तर, हुसेन, समिम,फजिल जो सबै ४० को हाराहारीमा छन्, उनीहरुले आफ्नो जीवनकालमा धार्मिक स्वतन्त्रताको विषयमा कुनै बन्देज अनुभव गरेका छैनन्।
फजिल भन्छन्, 'हामी सानो छँदा र अहिलेको बीचमा रहेको भिन्नता यतिमात्र हो कि अहिले हाम्रो समुदाय पहिलेभन्दा ठूलो भएको छ र हामी आर्थिक रुपमा पनि पहिलेभन्दा बलियो छौं। जसरी हामी पहिले हर्षोल्लासका साथ रमदान मनाउँथ्यौं, त्यसैगरी अहिले पनि मनाउँछौं।'
खान र सफिरको अनुभवमा उनीहरु आफू सानो छँदाको राणाकाल, पंचायतकाल हुँदै अहिलेको धर्मनिरपेक्ष राज्यसम्म आउँदा धेरै परिवर्तन भएको छ।
नेपाल मुस्लिम एसोसिएसनका महासचिव रहमतुल्ला मियाँको विचारमा लामो समयसम्म मुसलमान समुदायमा हिनताबोधको भावको थियो।
'मेरो विचारमा नेपाल धर्मनिरपेक्ष घोषणा हुनुअगाडि मुसलमानहरुमा अलिकति भए पनि हिनताबोध थियो। उनीहरुलाई दलितभन्दा अलिकति मात्र राम्रो व्यवहार गरिन्थ्यो। धर्मका आधारमा त्यस्तो कुनै किसिमको भेदभाव त थिएन, तर धर्मनिरपेक्ष भएपछि बढी सुरक्षाको भावनाआएको छ,' उनले भने।
कास्मिरी जामे मस्जिद(हरियो रंगमा) पुरानो तस्विर। तस्विर सौजन्यः केशरमहल पुस्तकालय
तैपनि नेपाली मुस्लिमजस्तो अल्पमत समुदायमा कुनै न कुन किसिमको डर र असुरक्षा त सायद हुन्छ नै। सन् २००४ मा इराकमा इस्लामिक आतंकवादी समूहले १२ जना नेपालीको हत्या गरेपछि जनसाधारणमा उब्जिएको रिस काठमाडौं र देशभरिको सडकमामुसलमान समुदायप्रति पोखियो। मुसलमानविरुद्द उत्रिएको एक हुलले काठमाडौंका दुई मस्जिदमा पसेर तोडफोड गर्नुका साथै आगो लगाइदिए।
आर्थिक-सामाजिक विकास सूचांकले जनसंख्याको ४ दशमलव ४ प्रतिशत रहेको मुसलमान समुदायलाई सीमान्तकृत समुदायका रुपमाप्रस्तुत गरेको छ। वयस्क साक्षरता ३० प्रतिशत छ, जुन राष्ट्रिय औसत ५७ प्रतिशतभन्दा ज्यादै कम हो। सामाजिक, आर्थिक र राजनीतिकवृत्तमा उनीहरु धेरै पछाडि छन्।
काश्मिरी जामे मस्जिदको आँगनमा गर्मीको परवाह नगरी खेलिरहेका मुसलमान समुदायका ३ साना बालकहरु (गोर्खाका मोहम्मद अमिर,उमार फारुद र ठमेलका टासी सोमो) कम्तीमा औसत नेपालीले पाउने अवसरहरुको आशा राख्छन् र स्वाभिमानका साथ बाच्न चाहन्छन्।'अनि मात्र नेपालको इतिहासमा रहेको हाम्रो विशेष स्थानको महत्व अर्थपूर्ण हुन्छ,' मस्जिदमा आएका एक नेपाली मुसलमान भन्छन्।