खोलाबाट ढुंगा गिटी निकासी गर्न सरकारले प्रतिबन्ध लगाएपछि विरोध गरिरहेका ट्रयाक्टर सञ्चालकहरुले बुधबार इटहरीमा यातायात अवरुद्ध गर्दै एउटा ट्रिपरमा तोडफोड गरेका छन्।
ट्रयाक्टरलाई प्रतिबन्ध लगाएर क्रसर र ट्रिपरलाई छाडा छोडेको आरोप लगाउँदै आएका व्यवशायीहरुले सेउति खोलाबाट मिसगिटी बोकेर इटहरीतर्फ आउँदै गरेको को १ ख २८८५ नम्बरको ट्रिपरमा तोडफोड गरि सडकमै मिसगिटी झारेका थिए।
प्रहरीले बल प्रयोग गरी रोक्न खोजेपनि व्यवशायीहरुले प्रतिवाद गरेका थिए। मोरङको उर्लाबारीबाट इटहरी आएका दर्जनौं ट्रयाक्टरहरुलाई व्यवशायीले इटहरी चौकमा तेर्स्याएर आवागमन अवरुद्ध पार्ने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गर्दा केही समय इटहरी चौक तनावग्रस्त बनेको थियो। स्थिती तनावपूर्ण हुने देखेपछि प्रहरीले जनपद र शशस्त्रको थप टोलीलाई इटहरी चौकमा उतारेर स्थितीलाई नियन्त्रणमा लिएको थियो।
ट्रयाक्टरसहित इटहरी चौक आइपुगेका सयौं मजदुर तथा व्यवशायीहरु एक साथ सडकमा उत्रिएका कारण ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनेको थियो। यातायात केही समय अवरुद्ध हुँदा सर्वसाधारण यात्रुले सास्ती भोगेका थिए।
मोरङको गछियाबाट सुरु भएको टयाक्टरको लाइन इटहरीसम्म आइपुगेका कारण पनि ट्राफिक व्यवस्थापन गर्न हम्मे–हम्मे परेको थियो। प्रर्दशनपछि इटहरी चोकमा आयोजित कोणसभामा बोल्ने वक्ताहरुले आन्दोलन शान्तिपूर्ण हुँदा हुदै दमन गर्न खोजिए शशक्त प्रतिकार गर्ने चेतावनि दिएका थिए।
व्यवशायीको आन्दोलनमा ढुंगागिटीलगायत पेशासँग आबद्ध मजदुर तथा व्यवशायीले समेत साथ दिँदा आन्दोलन चर्किंदै गएको छ। मजदुरमारा नीति ल्याएर देशभरका ५ लाख मजदुरहरुलाई मारमा पारेको भन्दै ट्रयाक्टर व्यवशायीहरुले आन्दोलन छेडेका हुन्।
खोलामा मजदुरी गर्ने र ढुंगा गिटी बेचेर खाने व्यवशायीहरुलाई सास्ती दिएर ट्रिपर तथा क्रसर व्यवशायलाई भने खुलेआम सञ्चालन हुन दिएको भन्दै ट्रयाक्टर व्यशायीहरु ट्रिपर र क्रसर व्यवशायीमाथि समेत खनिएका हुन्। ट्रयाक्टर व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएको साता बित्न लागेपनि सम्बन्धित पक्षले भने चासो देखाएको छैन।